भीमनिधिको १०६औँ जन्मजयन्ती

भीमनिधिको १०६औँ जन्मजयन्ती


bhimnidhi

नेपाली साहित्यका मूर्धन्य साहित्यकार भीमनिधि तिवारीको १०६औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्त रूपमा प्रज्ञाभवन कमलादीमा एक विशेष समारोहको आयोजना गरियो । सो समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले तिवारी नेपाली साहित्यका बहुमुखी प्रतिभा सम्पन्न स्रष्टा भएको धारणा राख्नुभयो । उप्रेतीले भन्नुभयो, ‘तिवारीको योगदान नेपाली साहित्यमा अतुलनीय छ ।’

कार्यक्रमका प्रमुख अतिथि एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले कथा, कविता, गजल, नाटक लगायत साहित्यका प्रायः सबै विधामा कलम चलाउनुहुने तिवारीलाई नेपाली साहित्यजगत्ले कहिल्यै पनि बिर्सिन नसक्ने विचार व्यक्त गर्नुभयो ।
तिवारी साहित्य समितिका अध्यक्ष प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई ‘भीमनिधि साहित्य पुरस्कार’ र वरिष्ठ नाट्यकर्मी रुद्रराज पाण्डेलाई ‘भीमनिधि नाट्य पुरस्कार’ समर्पण गरियो । पुरस्कारको राशि पच्चीस–पच्चीस हजार रुपैयाँ रहेको छ ।

यसैगरी नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत् वाङ्लुङका स्रष्टा काजी रोशन, तन्नेरी द्वमासिकका सम्पादक डा. नेत्र एटम र स्याङ्जा साहित्य प्रतिष्ठानलाई सम्मानित गरिएको थियो । कार्यक्रममा तिवारी साहित्य समितिकी सदस्य सचिव डा. वेन्जु शर्माले संस्था तथा तिवारीको साहित्यिक योगदानमाथि प्रकाश पार्नुभएको थियो भने डा. तुलसी भट्टराईले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूका विषयमा बोल्नु भएको थियो । यसै गरी कार्यक्रममा प्रा.डा. दुर्गाप्रसाद अर्यालले नेपाली साहित्यमा साहित्यकार भीमनिधि तिवारीको योगदानका विषयमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा कुलपतिद्वारा तिवारीका कथा सङ्ग्रह ‘गुलियो’ र ‘भजनको सीडी’ पनि विमोचन गरिएको थियो ।