
उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले उपत्यकामा सक्रिय ‘गुण्डा’हरूलाई तीन श्रेणीमा वर्गीकरण गरेर हिटलिस्ट तयार पारेको बुझिएको छ । अपराध महशाखा र काठमाडौं प्रहरीको कार्यालय टेकुस्थित एकै परिसरमा भए पनि यी दुई निकायको नेतृत्व समान हैसियतका प्रहरी अधिकारी अर्थात् अलग–अलग एसएसपीहरूले गर्ने भएकाले कैयन अपराधका मामला या अपराधी समातेर सार्वजनिक गर्ने सवालमा यी दुई निकायबीच होडबाजी चल्ने गरेको पाइन्थ्यो । कतिपय समयमा एउटा अपराधी समात्न प्रहरीको दुई टोली पुग्दा कामको जश कसले लिने भन्नेमा मतभेद देखिन्थ्यो । तर, केही सातायता यी दुवै निकायको नेतृत्व फेरिएको छ । नेतृत्व फेरिएको करिब एक महिनापछि काठमाडौं प्रहरी प्रमुख (एसएसपी) छविलाल जोशी र महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले एउटै स्वरमा काठमाडौंका १ सय ६१ गुण्डाको सूची बनाएर निगरानी सुरु गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘हाम्रो उद्देश्य एउटै हो, त्यसैले गुण्डागर्दी नियन्त्रणलगायतका अपराध निवारण कार्यमा हामीले सँगै जाने योजना बनाएका छौँ ।’ यसका लागि महाशाखा र काठमाडौं प्रहरीले स्थानीय ‘गुण्डा’लाई तीन श्रेणीमा वर्गीकरण गरेर हिटलिस्ट तयार पारेको बताइएको छ । ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभक्त गरिएको उक्त सूचीमा पटक–पटक अपराधमा संलग्न भएका गुण्डा नाइकेहरूलाई ‘ए’मा राखिएको छ भने दुई–चारपटक जेल पुगेर छुटेपछि पनि गुण्डागर्दी नछाडेकाहरूलाई ‘बी’ र टोलेगुण्डाहरूलाई ‘सी’ श्रेणीमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रद्युम्न कार्कीले जानकारी दिएअनुसार प्रहरीले वर्गीकरण गरेको ‘ए’ श्रेणीका गुण्डामा मिलन गुरुङ ‘चक्रे’, राजु गोर्खाली, गणेश लामा, दावा लामा, साजन महर्जन, तेजेन्द्र गुरुङ, बाघे भनिने बाघबहादुर लामा, समीरमानसिंह बस्नेत, रमेश बाहुन भनिने सुजन पौडेल, दीपक मनाङे छन् भने रिनझिन शेर्पा ‘रिङ्कीपङ्किी’, नीराजन पौडेल, मानबहादुर तामाङ, भीमराज घले, राजेश महर्जन, शोभित तामाङ, चन्द्र लामा, राज तामाङ, सुरेश महर्जन, तेजेन्द्र रायमाझी, राजु भण्डारी, नीरज लामा र छिरिङ शेर्पा ‘बी’ श्रेणीमा परेका छन् । ‘सी’ ग्रेडमा पर्ने गुण्डाका नाम प्रशस्तै हुने भएर होला, प्रहरीले सूची सार्वजनिक गरेको छैन ।
यसअघि निकै बदनामी कमाएका गुण्डाहरूमाथि प्रहरीले उच्च निगरानी सुरु गरिएको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको भनाइ छ । गुण्डाहरूको फिङ्गर प्रिन्ट र फोटो अपडेट गरिने कार्य सुरु गरिएको जानकारी दिँदै एसएसपी जोशीले भने, ‘हाम्रो पुरानो रेकर्डमा भएको फोटो र फिङ्गर प्रिन्ट निकै पुरानो भइसकेको रहेछ, करिब तीन दर्जनजतिको अपडेट गरिसकेका छौँ ।’
२६ वर्षपछि अभियुक्त पक्राउ
जीउ मास्ने बेच्ने तथा थुनुवा भागे–भगाएको मुद्दामा नुवाकोट जिल्ला अदालतको ०६३ भाद्र १३ गतेको फैसलाले ७ बर्ष ६ महिना कैद सजाय पाएलगत्तै फरार रहेका नुवाकोट घ्याङफेदी–६ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४९ बर्षीय फुर्पा तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रहरी टोलीले हिजो मंगलबार बौद्धबाट पक्राउ गरेको छ ।
नुवाकोट घ्याङफेदीकै १३ र १४ बर्षकी दुई बालिकालाई तामाङसमेत तीन पुस्ताभित्रको दाजु नाता पर्ने चारजना ब्यक्ति मिलेर ललाईफकाई ०४७ जेठ १४ गते राती नुवाकोट घ्याङफेदीबाट काठमाडौं पु¥याई मुम्बई (भारत) लगी बिक्री गर्न लागेका थिए । बिक्री गर्न काठमाडौं कालिमाटीबाट वीरगञ्जतर्फ लैजाने क्रममा प्रहरी टोलीले पीडितलाई उद्धार गर्नुका साथै चार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट सर्जमिनको लागि घ्याङफेदी–६ पुगी फर्कने क्रममा ०४७ असार ८ गते नुवाकोट खरानीटारबाट प्रहरीको आँखा छली चारैजना प्रतिवादी हत्कडीसहित भागेका थिए ।
कैद सजायँ बेरुजु रही विगत २६ बर्षदेखि लुकिछिपी बौद्ध एरियामा बस्दै हाल ठेक्कापट्टाको कार्य गर्दै आइरहेका लामालाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।
प्रतिक्रिया