प्रधानमन्त्रीका कर्मचारी आत्महत्या गर्न हिँडेपछि !

प्रधानमन्त्रीका कर्मचारी आत्महत्या गर्न हिँडेपछि !


Manahari Timalsina 3

प्रधानमन्त्री कार्यालयका एक कर्मचारी त्यहाँको वातावरण र प्रचण्डवरिपरिका मानिसको व्यवहारबाट निराश भएर आत्महत्या गर्ने निर्णयमा पुगेको समाचार प्राप्त भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रेस ल्लाहकार समूहमा विशेष जिम्मेवारी दिएर राखेका माओवादी कार्यकर्ता मनोहरि तिमिल्सिना त्यसरी आत्महत्या गर्ने निर्णयमा पुगेका हुन् । आफूलाई प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न नदिने, आफूमार्फत कसैलाई प्रधानमन्त्रीसँग भेटघाट गर्न÷गराउन पनि रोक लगाउनेजस्ता कार्य भएपछि तिमिल्सिनाले निराश भएर आत्महत्या गर्ने निर्णय गरेको बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका कर्मचारी तथा स्वयम् प्रचण्डको व्यवहारबाट दिक्क भएका उनी गत साता आफ्नो पदबाट राजीनामा दिएर एकाएक सम्पर्कविहीन भएका हुन् । राजीनामा दिएर हिँडेका तिमिल्सिना दुई दिनसम्म आफ्नो परिवारको सम्पर्कमा नपुगेपछि उनकी पत्नीले प्रधानमन्त्रीको कार्यालयमा सो कुराको जानकारी गराएकी थिइन् । तिमिल्सिनापत्नीले आफ्नो पति दुई दिनदेखि घरमा नआएको जनाउँदै खोजी गरिदिन आग्रह गरेपछि प्रधानमन्त्रीको सचिवालयसम्बद्ध व्यक्तिहरू निकै छटपटिएका थिए ।

खोजी गर्ने क्रममा पहिले उनी पोखरा पुगेको र त्यहाँ मर्ने उपयुक्त स्थिति नदेखेपछि दाङतिर लागेको भन्ने जानकारी प्रधानमन्त्री कार्यालयलाई प्राप्त भएको बुझिएको छ । तिमिल्सिना त्यसरी आत्महत्या गर्ने स्थितिसम्म पुग्नुको कारण आफूमाथि सचिवालयसम्बद्ध कर्मचारीको ‘व्यवहार’ भए पनि प्रधानमन्त्री सचिवालयले भने पारिवारिक तनावका कारण निराश भएर यस्तो अवस्था उत्पन्न भएको भनी दाबी गरेको सचिवालयसम्बद्ध सूत्रले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले दाङस्थित पार्टी कार्यालय र प्रहरीलाईं समेत तिमिल्सिनाको खोजी गर्न आदेश दिएको बताइन्छ । तर, यो समाचार तयार पारिन्जेलसम्म तिमिल्सिना फेला पर्न नसकेको बुझिएको छ ।