अमेरिका भासिएका दुई सुन्दरी

अमेरिका भासिएका दुई सुन्दरी


Nandita & Richa

स्लिम शरीरयुक्त आकर्षक तथा सुन्दरी नेपाली नायिकामध्ये एक पर्छिन् नन्दिता केसी । ‘इन्द्रेणी’ चलचित्रबाट फिल्मी यात्रा सुरु गरेकी नन्दिताको करिअरले एक्कासि रफ्तार पक्रिएको थियो । ‘सान्नानी तिमीलाई हिर्काउँला लौराले…’ बोलको गीतमा मोडलिङ गर्दा उनको चर्चा त्यत्तिकै चुलियो । तर, सम्भावना बोकेकी यी हिरोइन सोचेअनुरूप कलिउडमा जम्न सकिनन्, फलस्वरूप यतिबेला उनी चलचित्रको पर्दाबाट गुमनामसरह हुन पुगेकी छिन् ।
त्यसो त नन्दिता यतिबेला अमेरिकामा छिन् । एक वर्षअघि एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै अमेरिका हानिएकी उनले बीचमा नेपाल फर्किएर चलचित्रमा जम्ने प्रयत्न नगरेकी पनि होइनन् । तर, भाग्यले साथ दिएन, उनलाई कुनै निर्माता–निर्देशकले अभिनयको अफर दिएनन् । यसबाट रन्थनिएकी उनी पुनः अमेरिका हानिइन् र उतै रमाइरहेकी छिन् । अमेरिका जानुअघि दिएको टीभी अन्तर्वार्तामा नन्दिताले आफू अरूझैँ पलायन हुन अमेरिका जान नलागेको दाबी गरेकी थिइन्, तर यसबीच रिलिज भएका उनी अभिनीत चलचित्रहरू लगातार फ्लप भएबाट उनमा निराशा बढेको अनुमान गरिएको छ, जसले नन्दितालाई पनि अमेरिकामै पलायन हुन प्रेरित गर्न सक्छ ।

सुन्दरी नन्दिता अमेरिकामै पलायन हुन सक्ने अनुमान गर्दैगर्दा चलचित्रबाट हात लागेको असफलताकै कारण अमेरिका भासिएकी ऋचा घिमिरेको स्मरण गर्नु सान्दर्भिक होला । काली भए पनि हिस्सी परेकी सुन्दरी ऋचाको एकताका सिने क्षेत्रमा निकै दबदबा बढेको थियो । ठूलो पर्दाका साथै टेलिसिरियलमा समेत उनको निकै माग थियो । अभिनय प्रतिभाकी धनी ऋचा निर्देशक शंकर घिमिरेसँग प्रेमविवाह गरेपछि अमेरिका भासिएकी थिइन् । यतिबेला दुई छोरा र एक छोरी गरी तीन सन्तानकी आमा बनेकी ऋचा अमेरिकाकै गृहस्थी जीवनमा यसरी भुलेकी छिन् कि नपाली चलचित्रमा अब दोहो¥याएर उनलाई सायदै देख्न पाइएला । किनकि, ६–७ वर्ष अघिसम्म स्लिम तथा आकर्षक शरीरकी धनी ऋचा अहिले मोटाएर बेलुनसरह फुलेकी छिन् । एक प्रकारले अमेरिकाको गृहस्थ जीवन उनलाई बेस्सरी फापेको छ, जसबाट उम्किएर पुनः चलचित्रमा फर्किन उनलाई त्यति सजिलो छैन ।