लण्डन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले अबको दश बर्षमा नेपाली युवाले मजदुरीको नाममा विदेश जानु नपर्ने वातावरण मुलुकभित्रै सिर्जना गर्ने बताएका छन् । उद्योग मन्त्रालय सम्हालेको तीन महिनाभित्रै सकारात्मक कार्य गर्न सफल भएको जिकिर गर्दै मन्त्री जोशीले
चालीस करोड घाटामा रहेको कारखानाबाट दुई महिनामा ११ करोड मुनाफा लिएको दाबी गरे ।
नेपाली जनसम्पर्क समिति (एनपिसीसी) युकेले गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा लण्डनस्थित हिमालयन क्लबमा आयोजना गरेको एक विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री जोशीले लामो समयको अन्तरालपछि सरकारले घोषणा गरेको स्थानीय निर्वाचनलाई सफल पार्न सबै कांग्रेस कार्यकर्ताहरुलाई आग्रह पनि गरे । नेपाली कांग्रेसका पूर्वसभापति एवं पुर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला राष्ट्र निर्माणको सवालमा दुरदर्शी नेता भएको उनको तर्क थियो ।
विगत लामो समयदेखि विवादमा रहेको जनसम्पर्क समितिले पहिलो पटक संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री जोशीले कोइरालाबाट आफुले आफैंलाई विश्वास गर्न सिकेको बताए । शान्तिप्रकृयाका नायक कोइराला जीवनको अन्तिम समयसम्म पनि देशको बारेमा चिन्ता गर्ने महान नेता भएको टिप्पणी उनले गरे । मन्त्री जोशीले ‘म’बाट माथि उठेर ‘हामी’ भन्ने भावना जागृत गराउन र सबै एकजुट भएर आगामी अधिवेशन सफल पार्न जनसम्पर्क समिति बेलायतका पदाधिकारीरुलाई सुझाव दिए ।
नेपाली जनसम्पर्क समिति युके पाँचौँ अधिवेशन आयोजक समितिका संयोजक लोक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्यले गैरआवासीय नेपालीलाई दिइने नागरिकताको मोडालिटि कस्तो हुने भन्नेमा चिन्ता व्यक्त गरेका थिए । नेपालमा अझै लगानी गर्न प्राविधिक अड्चन रहेकोले त्यसलाई सहज बनाउन मन्त्री जोशीको ध्यानाकर्षण उनले गराए ।
संस्थाका सल्लाहकार शेर सुनारद्धारा सञ्चालित कार्यक्रममा प्रवासी नेपाली एकता समाज बेलायतका अध्यक्ष रोशन सापकोटाले आर्थिक समृद्धिका लागि भारत र चीनबीचको सुचना प्रविधिको क्षेत्रमा नेपालले विकास गरे आर्थिक लाभ लिन सक्ने बताए । सल्लाहकारहरु विश्व आदर्श पण्डित, शिवजी श्रेष्ठ, चिरञ्जीवि ढकाल, महेश दाहाल, योगेन बहादुर क्षेत्री, अधिवेशन तयारी समितिका सदस्य विज्ञान प्रसाईं, सहमहामन्त्री डा. मीन रानाभाट, संस्थापक सभाति पुरुषोत्तम पौडेल, पुर्वसभापति विनोद मोक्तान, चेतनाथ खनाल, कांग्रेस शुभचिन्तक सुनिल गुरुङ् लगायतले गिरिजाप्रसाद कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरेका थिए । कार्यक्रममा जनसम्पर्क समितिका महामन्त्री राजकुमार त्रिपाठीले स्व. गिरिजाप्रसाद कोइरालाका जीवनीमाथि टिप्पणी गरे भने सहमहामन्त्री कोपिला सुब्बाले स्वागत मन्त्रब्य दिएकी थिइन् । उपस्थित सम्पूर्णलार्इ उपाध्यक्ष युवराज गुरुङले धन्यवाद ज्ञापन गरे ।
प्रतिक्रिया