कति दयालु नेपाल आमा

कति दयालु नेपाल आमा


Gyan Bahadur Lama

– ज्ञानबहादुर लामा

तराईको पहेँलपुर धानबारीमा
पहँेलो सारीमा
विराजमान छिन् हाम्री नेपाल आमा
पहाडको हरियाली चोलीले
मृदुभाषी नेपाली बोलीले
सजिएकी छिन् हाम्री नेपाल आमा
आहा ! कति निश्चल छिन् हाम्री नेपाल आमा ।

दुवै हातमा लालीगुराँस समाई
डाँफे र मुनालको गीत–सङ्गीतमा रमाई
सजाएर ती लामो कपाल सुनखरी फूलले
सगरमाथा हिमाललाई चुल्ठो बनाई
आमा ! कति स्वच्छ छिन् हाम्रा नेपाल आमा ।

अवस्थित छिन् हाम्री नेपाल आमा
छोई पूर्वमा मेची नदी
पश्चिममा महाकाली
सिकाउँछिन् नेपाली संस्कार सन्तानलाई
आफ्नो न्याना काखमा बसाली
आहा ! कति उदार छिन् हाम्री नेपाल आमा ।

झम्टिन्छन् छिमेकीहरू नेपाल आमालाई
प्रेमजालमा फसाउँछु भनी कोर्छिन्
लक्ष्मणरेखा सिन्दूरले सिउँदोमा
ता कि नजर नलागोस् भनी
आहा ! कति पवित्र छिन् हाम्री नेपाल आमा ।

प्यारो छ गाई नेपाल आमाको
त कि दूधले सन्तान बलवान् होस् भनी
दिन्छिन् आशीर्वाद सन्तानलाई
त्यागी स्वार्थ धर्म अँगाली
गर्न सकून् रक्षा नेपाल आमाको भनी
आहा ! कति दयालु छिन् हाम्री नेपाल आमा ।