
– सागर
बजेट सुन्दा सिंगापुरभन्दा कम छैन
तर त्यसभित्र रत्तिभर दम छैन
जनता बन्छन् सुनी मात्र रहने सुकदेव
नेताजति सुनाइ मात्र रहने वेदव्यास
जनता जन्मनासाथ अरबतिर लागे
नेताहरू सिंहदरबारको टीभीबाट जागे
अब देश यसरी चल्दैन बन्नैपर्छ
नत्रभने पराईले अपहरण गर्छ
सार्वभौमसत्ता विदेशीको भाषणामा
ताली ठोक्नेहरू प्रतिनिधिको आसनमा
विपक्षले भन्छ बजेट वितरणमुखी भयो
घुन–पुत्ला लाग्छ आफन्तकै घरतिर गयो
रेलगाडी र पानीजहाज सुन्दामा कति राम्रो
बनाइदिए मात्र कति सुन्दर देश हाम्रो
कल्पनाशील मन्त्री भए यो देशमा
काम भएनन् कल्पना मात्र गरिरहे
कसैले भने मेलम्चीले नगद पखालिलिन्छु
अहिले उनैलाई तर्पण दिने जल खोलाबाट किन्छु
कसैले नर्वेली हावाको बिजुली निकाले
उनैले धेरै तेल खाने प्राडो–पजेरो ल्याइहाले
कोही–कोहीले स्वतन्त्र बजार अर्थतन्त्रको नारा बेचे
जनमुखी संस्थाहरू त्यसैको आँधीले घचेटिए
सेवा गर्ने संस्थानहरू लगभग सिद्धिएर गए
नेताका नामधारी संस्थाहरू जुर्मुराएर आए
नेतृत्वलाई देवत्वकरणतिर लगियो
सच्चा देवहरू दानवका सूचीमा ओर्लियो
यहाँ बनाउनेले कहिल्यै जस पाएन
बरु कर्मी र कालीगढको हात रहेन
सपना र कल्पनाहरू सुन्दामा कति राम्रा
अब तिनको साकार पार्ने काम काँधमा रहे हाम्रा ।
प्रतिक्रिया