
पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउन्डेसनले राजधानीमा ‘नेपाल–भारत अन्तरसम्बन्ध र समग्र विकास सम्भावना’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले नेपाल–भारतबीच विश्वासको वातावरण राम्रो भए मात्र विकास सम्भव भएको र दुई देशबीच विश्वासको खाँचो रहेको औँल्याए ।
अन्तरक्रियामा आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारतबीच धेरै पुरानो सम्बन्ध रहेको, तर यसलाई निरन्तरता दिन दुई मुलुक नै लाग्नुपर्ने बताए । गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेलामा नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बलियो रहे पनि पछिल्लो समय विश्वासको वातावरण त्यति बलियो हुन नसकेको र विश्वासको वातावरण बनाउनु जरुरी रहेको उनको धारणा थियो । नेपाल, भारत र चीन तीनै मुलुकको परिवर्तन सँगै भए पनि नेपालमा चाहिँ व्यवस्थाको टुङ्गो लाग्न नसक्दा देश पछाडि परेको उनको भनाइ थियो ।
अर्का वक्ता नेकपा (एमाले) का सांसद लालबाबु यादवले भारत र नेपालबीचको सम्बन्धमा धेरै समस्या रहेकाले समाधान नगरे दुवै देशलाई थप समस्या आइपर्ने तर्क गरे भने जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थपलियाले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुन सके विकासका कार्यक्रमले थप गति लिने उल्लेख गर्दै दुवै देशका नीति निर्माणकर्ताले विकासका प्राथमिकता निक्र्योल गरी अगाडि बढ्नुपर्ने बताइन् ।
अन्तरक्रियामा नेपालस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत विनय कुमार पनि सहभागी थिए । उनले नेपाल र भारतको धर्म, वेशभूषा, रहनसहनलगायतका कुरा मिल्ने भन्दै नेपाल–भारतको बहुक्षेत्रमा विकासका कार्यक्रम अगाडि बढेको बताए । दुई देशबीचको सुमधुर सम्बन्धका कारण पछिल्ला वर्षमा धेरै विकास आयोजना अगाडि बढेको प्रस्ट्याएका विनय कुमारले गिरिजाप्रसाद कोइरालाको समयमा नेपालको अर्थतन्त्रले ठूलो फड्को मारेको दाबीसमेत गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल, फाउन्डेसनकी उपाध्यक्ष मेलानिया रोशा चौधरी, नेपाल विश्व सम्बन्ध परिषद्का पूर्वअध्यक्ष डा. राजेन्द्र श्रेष्ठ, पूर्वराजदूत डा. सुरेश चालिसेलगायतले नेपाल–भारतबीचकोे सम्बन्ध प्रगाढ बनाएर विकासका सम्भावनालाई सार्थक बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया