प्रचण्डसामु अनगिन्ती धराप

प्रचण्डसामु अनगिन्ती धराप


prachanda

देवप्रकाश त्रिपाठी नेपाली पत्रकार जगत्मा अर्थात् लेखकीय समुदायमा सुपरिचित नाम हो । उहाँले साप्ताहिक घटना र विचारको २ चैत ०७३ को अङ्कमा प्रकाशित गर्नुभएको ‘दुई महान् राजनीतिक ठग’ शीर्षक लेखमा व्यक्त गर्नुभएको राप्रपा र काङ्ग्रेससम्बन्धी विचारमा मैले विमति जनाउनुपर्ने कुनै आधार देखिनँ । तर, प्रधानमन्त्री प्रचण्डबारे अभिव्यक्त धारणा अतिरञ्जित भएजस्तो लग्यो । कसैले मानोस् वा नमानोस् रक्तरञ्जित राजनीतिलाई संसद्भित्र प्रवेश गराई उग्र कम्युनिस्ट धारलाई बिस्तारै मूलधारको राजनीतिमा ल्याउने श्रेय प्रचण्डलाई नै जान्छ, गिरिजालाई होइन । प्रचण्ड आफ्नो सिद्धान्तअनुसार लडेका थिए भने गिरिजा पदको लोभमा । यदि प्रचण्ड मूलधारको राजनीतिमा समाहित नभएका भए अझै कति होनहार नेपालीले ज्यान गुमाउने थिए होलान् । कति सार्वजनिक सम्पत्ति ध्वस्त हुन्थ्यो होला । उनको पहिलो प्रधानमन्त्रीको कार्यकाल विवादको घेरामा आएको पनि हो, तर अहिलेको दोस्रो ‘इनिङ’मा उनले आफूलाई परिवर्तित गर्दै देशकै प्रधानमन्त्री भएको आभास जनतालाई दिन सफल भएका छन् । रूपान्तरणको प्रक्रियामा उनले जोखिम निकै मोलेको देखिन्छ । यस्तै गतिमा रूपान्तरण हुँदै जाने हो र सबैलाई समेटेर अघि बढ्ने हो भने नेपालको राजनीतिले सकारात्मक परिवर्तन र नयाँ मोड लिनेमा म विश्वस्त छु । तर, देशको हित एवम् जनताको सेवा र विकासले गति लिन सकेन भने अरू राजनीतिक दल बढारिएझैँ माओवादीको पनि भविष्य अन्धकार हुनेछ । छापामार युद्धको कमान्डरबाट देशको प्रधानमन्त्री भई दोस्रोपटक काम गर्ने मौका पाएका प्रचण्डका सामु अनगिन्ती धराप छन् । तिनलाई क्रमशः पाखा लगाउँदै देशभक्तिउन्मुख विकासवादी राजनीतिमा आफ्ना कार्यकर्तालाई रूपान्तरण गर्न सकेमा प्रचण्डको नाम इतिहासले राम्रै स्थानमा राख्नेछ भन्ने लाग्छ । देशमा मौलाएको भ्रष्टाचार, गुन्डागर्दी, लुटतन्त्र र नातावाद–कृपावादको अन्त्य गर्न पनि प्रचण्ड र उनको दलले जनतालाई विश्वासमा लिन सक्नुपर्छ । समय धेरै अघि बढिसक्यो, त्यसको हेक्का सबैले राख्नुपर्छ । जनताले काम खोजेका छन् भाषण होइन ।
– रमण ढकाल

को आउँछ देश बनाउन ?
फलानो व्यक्ति, दल वा सरकारले यो गरेन, त्यो गरेन भन्ने गुनासो नेपाली समाजमा प्रशस्त सुनिन्छ, तर आफूले के गर्ने, आफ्नो कर्तव्य के हो भन्नेबारे कमै चर्चा हुन्छ । यस्तै घटनाको ज्वलन्त उदाहरण गत शुक्रबार केयूकेएलको मीनभवन कार्यालयमा देखियो । ग्राहकहरू बिल तिर्न लामबद्ध थिए, तर १२ः३० बजे बन्द हुने काउन्टर ११ बजे नै बन्द गरियो । कारण सोधखोज गर्दा थाहा भयो, ‘पेसागत सुरक्षा र सुदृढ व्यवस्थापन’को नारासहित केयूकेएल कर्मचारी सङ्घको महाधिवेशन आयोजना भएकाले धेरै कर्मचारी त्यतै लागेका रै’छन् । अरू फाँटमा अन्य केही कर्मचारी त थिए, तर काउन्टरमा आउन शायद अनिच्छुक । असैह्य भएर ग्राहकहरू गुनासो गर्न गएपछि कार्यालय प्रमुखले सबै कर्मचारीलाई काउन्टरमा पठाए अनि शुल्क लिने काम सम्पन्न भयो । कार्यालय समयमा ग्राहकको काम अवरुद्ध बनाएर कसको कस्तो पेसागत सरक्षा हुन्छ ? अनि व्यवस्थापनलाई यति निरीह बनाएपछि कसरी कुनै संस्थान चल्छ ? यो रोग केयूकेएलको मात्र नभई अन्यत्र पनि छ, । यसरी जनताको करबाट तलब खाने कर्मचारी अझ भनौँ नागरिकका सेवक आफैँ महाधिवेशनको बहानामा नागरिक सेवाको कर्तव्यवाट च्यूत भई जिम्मेवारीबाट भागेपछि यो देश कसले कसरी कहिले बनाउने हो ? सबैले अधिकारको मात्र कुरा गरेर कर्तव्य बिर्सने हो भने को आउँछ हाम्रो देश बनाउन ?
– मुकुन्द अर्याल
पुतलीबजार–१३, स्याङ्जा, हाल : काठमाडौं