हामीसँग के छ ?

हामीसँग के छ ?


babita basnet 15

– बबिता बस्नेत

हामी अन्य मुलुकजस्ता धनी छैनौँ, हामीलाई गाह्रो छ, हाम्रो देशमा ‘सिस्टम’ छैन, सिस्टम नहुँदा हरेक क्षेत्रमा व्यक्ति हाबी हुँदै गएको छ । सिस्टम फेल भएपछि व्यक्तिको शक्ति बढ्छ, आफू शक्तिहीन भइएला कि भनेर पनि नेतृत्व र कर्मचारीतन्त्र सिस्टम बसाउन चाहँदैन । फलतः दुःख धेरै छ, कुनै काम फाटाफट गर्न चाहने मान्छेले काम गर्न सक्दैन, चाहे त्यो नेता होस् या अरू कोही । गगन थापाले स्वास्थ्यमन्त्रीका रूपमा सम्बन्धित क्षेत्रमा सुधार गर्ने कोसिस गर्दा कर्मचारीहरूबाट भएको असहयोगदेखि लिएर धेरै कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ । अहिले महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिला, बालबालिका र वृद्धवृद्धाका लागि विशेष पहल गर्न खोजेको देखिन्छ, उहाँलाई सफल हुन नदिन सहयोग पाउनुपर्नेहरूबाटै असहयोग भयो भने आश्चार्य मान्नुपर्दैन । सिस्टम बसाउन खोज्नेहरूलाई हामीकहाँ सहयोग गरिँदैन, कारण उही हुन सक्छ, सिस्टमका अगाडि व्यक्ति हाबी हुन पाउँदैन ।

पश्चिमा मुलुकमा सिस्टम छ, प्रकृतिको सहज साथ छैन, हामीकहाँ मौसम सधैँ राम्रो, तर सिस्टम छैन । त्यसो त मौसम बदलिइरहने कुरा हो, तर यो कतिसम्म कठोर हुन सक्छ भनेर हामीले थाहै पाएका छैनौँ जस्तो लाग्छ । भविष्यवाणी गर्न सकिने भए पनि मौसमका कारण मानिस डिप्रेसनको सिकार हुनु स्वाभाविकझैँ मानिन्छ । नर्वेको उत्तरी खण्डमा आधाजसो मानिसले चिसो महिनामा औषधि नै सेवन गर्छन् भनिन्छ । यसपटक संयुक्त राज्य अमेरिकाको केही राज्यमा परेको हिमपातको साक्षी बन्दा हामीसँग के छ र हामी कति सम्पन्न छौँ ? भन्ने कुरा गहिरो रूपमा महसुस भयो । यो भएन, त्यो भएन… हामीसँग प्रायः गुनासाहरू हुने गर्छन्, छन् । हामीसँग के छ भन्नेबारेमा चर्चा नै गरिएको छैन । गत हप्ता मुटु छेड्लाजस्तै गरी बहेको चिसो हावासहितको भारी हिमपातले न्युयोर्कको जनजीवनलाई निकै कठिन बनायो । हामीजस्तो कहिलेकाहीँ यस्ता दृश्य हेर्नेहरूका लागि भोगाइ बढी कठिन थियो । बाहिर निस्कने कुरा कल्पना मात्रै गर्न सकिने गरी कोठामा बसेर बाहिर हेर्दै गर्दा म सोचिरहेकी थिएँ, काठमाडौंको धुलो ठीक कि यो हिमपात ? काठमाडौंको धुलो मानवसिर्जित कष्ट हो, यताको हिमपात प्राकृतिक विपत्ति । प्राकृतिक दुःखमा चित्त बुझाउने ठाउँहरू हुँदारहेछन्, आफ्नो हातमा केही थिएन भनेर सोचिने रहेछ, तर मानवसिर्जित दूरावस्थामा चित्त बुझाउने ठाउँ छैन । अलिकति मात्र सोचविचार पु¥याएर गरिएको भए यस्तो हुने थिएन भन्ने लाग्ने ।

सम्पन्नता भन्ने कुरा पनि मानिसको प्रवृत्तिसँग जोडिएको हुँदोरहेछ । जब ‘एटिच्युड’ नै नकारात्मक छ भने कोही सम्पन्न भएर पनि के हुन्छ ? हामीलाई सम्पन्न बनाउन प्रकृतिले धेरै कुरा दिएको छ, त्यत्तिका खोलानाला हामीकहाँ नै छन्, विश्वको अग्लो हिमाल सगरमाथा हामीसँगै छ, जुन कसैले बनाएको होइन प्रकृतिले नै दिएको हो । विकसित मुलुकमा प्रकृतिले दिने दुःख र प्राकृतिक गरिबीका अगाडि हामी धेरै सुखी र धनी छौँ । हाम्रो सोच, संस्कार, काम गर्ने तौरतरिका र भिजनमा भएको गरिबीले हाम्रो सम्पन्नतालाई छायामा पारिरहेको छ ।

खराब मौसमका कारण शिक्षण संस्था, कार्यालय र पसलहरू सबै बन्द रहे । यहाँ प्रकृतिले बेला–बेलामा यसरी बन्द गरिदिँदोरहेछ, हामीकहाँ राजनीतिक दलहरूले तोडफोड गर्दै बन्द गर्छन् । विद्युतीय सञ्चारमाध्यमहरूले आपत्कालीन अवस्थामा के गर्ने, कतै जानुपरे कुन बाटो प्रयोग गर्ने, अलि कम हिउँ भएका स्थानहरू कुन–कुन हुन् र सबैभन्दा बढी प्रभावित क्षेत्र कुन हो जस्ता कुराहरू दिइनै रहे । सबै क्रियाकलाप ठप्प भएकाले सबै मिडियाका लागि मौसम नै प्रमुखदेखि मध्य हुँदै अन्तिम समाचार बन्यो । बन्द यति कडा थियो कि कफी सपहरूसमेत खुलेनन् । बाहिर हेर्दा जताततै बाक्लो हिउँबाहेक केही पनि देखिँदैनथ्यो । दिनभरि सुनसान भए पनि साँझपख मानिसले हातमा साबेल बोकेर आफ्नो घरअगाडिको हिउँ पन्छाइरहेका देखियो । त्यस्तो चिसोमा कस्तो जाँगर ? जाँगरभन्दा बढी बाध्यता रहेछ । आफ्नो घरअगाडिको हिउँमा चिप्लिएर कोही लडे भने आफूले क्षतिपूर्ति भर्नुपर्ने रहेछ जसका कारण सबै सजग हुँदा रहेछन् । यसो सोचेँ, हामीकहाँ भए आफ्नै घरअगाडिको फोहोर फाल्न नगरपालिका नै चाहिन्छ । नागरिक चेतना र कडा नियम–कानुनले प्राकृतिक विपत्तिहरूलाई समेत सहज बनाइदिँदारहेछन् । हिउँ पर्नुअघि नै आफ्नो घरअगाडि र बाटोहरूमा हिउँ पग्लिन सजिलो होस् भनेर नुन छर्किंदारहेछन् ।

भगवानले सबैलाई सबै कुरा दिँदैनन् भनेर सानैदेखि सुनिएको हो, साँच्चै नै हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ । अमेरिकामा स्थापित प्रजातान्त्रिक प्रणाली छ, जिउँदो–जाग्दो कानुनी शासन छ, तर प्रकृतिले साथ नदिँदा पटक–पटक अनेक दुर्घटनाहरू भइरहन्छन् । हामीकहाँ न धेरै जाडो हुन्छ न त सहनै नसक्ने गर्मी, यसरी मौसमले साथ दिएको छ, तर अरू धेरै कुरा छैनन् जसले गर्दा प्रायः कुनै न कुनै रूपले मानिसलाई दुःखी बनाइरहेको हुन्छ ।
प्राकृतिक रूपमा हामी धनी छौँ । प्रकृतिले दिएको हावा, पानी, घाम, जुन, तारा सबै नै यथाअवस्थामा प्राप्त गर्न सकिन्छ । जुनको उज्यालोमा पहाडमा बटुवाहरू राति हिँडिरहेका हुन्छन् । राति आकाशमा झलमल्ल तारा देखिन्छन् र उज्यालो भएदेखि अस्ताउन्जेलसम्मको घाम । न्यानो र शीतलता प्राप्त गर्न धेरै मुलुकले बिजुलीको सहायतामा वातानुकूलित मेसिन प्रयोग गर्नुपर्छ । व्यक्तिले होइन राज्यले नै त्यो व्यवस्था गरेको हुन्छ, नत्र नागरिकको सुरक्षा खतरामा मात्रै पर्दैन कुनै पनि बेला ज्यानै जाने अवस्था रहन्छ । किनभने कतिपय मुलुकमा धेरै जाडो मात्रै हुँदैन असैह्य गर्मी पनि त्यत्तिकै हुन्छ ।

हामीकहाँ मौसमबाट त्यस प्रकारको कुनै खतरा छैन, प्रकृतिले त्यो सब दिएको छ, तर मानिसको ज्यानको असुरक्षाका लागि मानिस आफैँ अग्रसर भएर लागिपरेका छन् । विभिन्न प्रकारका द्वन्द्व, हिंसा, हात–हतियारको प्रयोग, जीवनलाई असुरक्षित बनाउन अनेक प्रयास जारी छन् । हामी प्रायः भन्ने गर्छौं– हामीसँग यो छैन, त्यो छैन, यो भएन, त्यो भएन, असन्तुष्टिको लामै सूची छ । कामकाजी मानिस कुनै न कुनै रूपले आफ्नो व्यावसायिक जीवनमा दुःखी छन् । काम नभएकाहरू नभएर दुःखी छन्, आफू संलग्न क्षेत्रलाई गजब राम्रो छ भनेर भन्न सक्ने अवस्था कसैको पनि छैन । कहिलेकाहीँ लाग्छ– सम्पन्नता भन्ने कुरा पनि मानिसको प्रवृत्तिसँग जोडिएको हुँदोरहेछ । जब ‘एटिच्युड’ नै नकारात्मक छ भने कोही सम्पन्न भएर पनि के हुन्छ ? हामीलाई सम्पन्न बनाउन प्रकृतिले धेरै कुरा दिएको छ, त्यत्तिका खोलानाला हामीकहाँ नै छन्, विश्वको अग्लो हिमाल सगरमाथा हामीसँगै छ, जुन कसैले बनाएको होइन प्रकृतिले नै दिएको हो । विकसित मुलुकमा प्रकृतिले दिने दुःख र प्राकृतिक गरिबीका अगाडि हामी धेरै सुखी र धनी छौँ । हाम्रो सोच, संस्कार, काम गर्ने तौरतरिका र भिजनमा भएको गरिबीले हाम्रो सम्पन्नतालाई छायामा पारिरहेको छ ।