कमल थापा नयाँ रेकर्ड बनाउँदै : जहाँ टेक्छन् त्यहीँ पहिरो

कमल थापा नयाँ रेकर्ड बनाउँदै : जहाँ टेक्छन् त्यहीँ पहिरो


Kamal-Pashupati

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अर्को नयाँ रेकर्ड कायम गरेका छन् । आफू उपप्रधानमन्त्रीको हैसियतमा रहेका बेला आफ्नै पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी लगाएर कुटेपछि उनी नयाँ रेकर्ड बनाउन सफल भएका हुन् । गत पुस ७ गते निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लिखित ‘राजसंस्था’ र ‘हिन्दू राष्ट्र’ शब्दहरूप्रति आपत्ति जनाउँदै पार्टीलाई पत्र लेखेको तीन महिनापछि निर्वाचन आयोगमा धर्ना कार्यक्रम राखेर उनले पार्टीका नेता र कार्यकर्तामाथि हमला गराएका हुन् । यस घटनापछि थापामाथि सरकार छोड्न पार्टीभित्रबाट दबाब त सुरु भएको छ, तर उनी सरकार नछोड्ने बरु सरकारमै बसेर सरकारविरुद्ध सङ्घर्ष गर्ने अर्को नयाँ रेकर्ड बनाउन कटिबद्ध भएका छन् । जसको र जस्तोसुकै सरकारमा पनि सामेल भएर ‘आलु नेता’को छवि बनाएका कमल थापाको पृष्ठभूमिमा अन्य रेकर्ड पनि पहिले नै कायम भइसकेका छन् । उनी जहाँ सामेल हुन्छन् त्यहीँ ध्वस्त हुने उनको पुरानो रेकर्ड छ ।

राजनीतिक जीवनको प्रारम्भमा थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष बनेका थिए, पछि उक्त विद्यार्थी सङ्गठनकै अस्तित्व समाप्त भयो । त्यसपछि युवक सङ्गठनको सभापति बनेका थापा अहिलेसम्म राजनीतिमा क्रियाशील भए पनि युवक सङ्गठनको अस्तित्व भने धेरै पहिले नै समाप्त भइसकेको छ । थापा एक समय गाउँ फर्क राष्ट्रिय अभियानको नारायणी अञ्चल सचिव बनेका थिए, अहिले उक्त संस्था पनि अस्तित्वमा छैन । वि.सं. ०४५÷४६ सालतिर उनी पहिलोपटक सञ्चार राज्यमन्त्री बनेका थिए, त्यसपछि पञ्चायती व्यवस्था नै विघटन हुन पुग्यो भने ०६१ को माघ १९ गते तात्कालिक राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला उनलाई गृहमन्त्री बनाइएको थियो । दानबहादुर शाहीलाई हटाएर ०६२ मङ्सिरमा कमल थापा गृहमन्त्री बनेपछि राजतन्त्र नै अन्त्य हुन पुग्यो ।

त्यसअघि ०५२ देखि ०५४ सालका बीचमा उनी कहिले शेरबहादुर देउवाको त कहिले सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको सरकारमा मन्त्री भएर ओहोर–दोहोर गरिरहन्थे । उनी जुन सरकारमा सामेल हुन जाने गर्दथे त्यही सरकार ढल्ने गर्दथ्यो । ०७२ असोजमा संविधान जारी भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएर थापा उक्त सरकारको मुख्य प्रवक्ताझैँ बनेका थिए । ओलीको सरकार पनि वर्ष दिन टिक्न सकेन । अब उनी प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सामेल भएका छन्, यो सरकारको पनि दिनगन्ती सुरु भइसकेको छ । यसरी कमल थापा जहाँ टेक्छन् त्यहीँ पहिरो जाने गरेको ऐतिहासिक तथ्यहरूले देखाएको छ । थापा संलग्न भएको संस्था, सङ्गठन, व्यवस्था र सरकार ध्वस्त हुने गरेको भए पनि व्यक्तिगत रूपमा उनलाई चाहिँ लाभ हुँदै आएको छ । अब यिनले बनाएको र विश्वमै उत्कृष्ट भनी प्रचार गर्ने गरेको संविधानचाहिँ कहिले समाप्त हुने हो प्रतीक्षा त्यसैको भइरहेको छ ।