भन्सार छल्न खोज्नेहरू आतङ्कित

भन्सार छल्न खोज्नेहरू आतङ्कित


रसुवा भन्सार

उत्तरी छिमेकी मित्रराष्ट्र चीनले तातोपानी नाका बन्द गरेपछि नेपाल–चीनबीचको आयात र निर्यात व्यापार स्वात्तै घट्न गएको छ । दलाई लामाका अनुयायीहरू खासा क्षेत्रमा बढेको र चीनविरोधी जासुसहरूको पनि चलखेल भएको ठहर गर्दै चीनले ०७२ को महाभूकम्पको बाहनामा तातोपानी नाका बन्द गरेपछि दुई देशबीचको आयात र निर्यात व्यापार स्वात्तै घटेको मात्र नभई व्यापारीहरूका लागि निकै कष्टकर हुन पुगेको गुनासो पनि सुनिन्छ ।

तातोपानीको चिनियाँ नाका बन्द भएपछि विकल्पको रूपमा रहेको चीनको केरुङ मार्ग पनि सहज र नियमित रूपमा सञ्चालन हुन सकेको छैन । बाटोमा हिउँ पर्ने समस्या, नेपालतिरको बाटोमा वर्षात्मा बन्द हुने, चीनको नववर्षमा लामो बिदाले गर्दा केरुङ नाका बन्द हुने समस्या, सुक्खा बन्दरगाहको समस्या आदिले गर्दा चीन–नेपाल व्यापारले निरन्तरता पाउन नसकेको व्यापारीहरूको गुनासो रहेको छ ।

विभिन्न बाधा–अड्चन खेप्दै रसुवा भन्सारले चालू आर्थिक वर्ष २०७३÷०७४ को आठ महिनाको अवधिमा सो भन्सार कार्यालयलाई तोकिएको लक्ष्य हासिल गरेको भन्सार स्रोतबाट थाहा भएको छ । चीनमा लामो ल्होसार विदाको कारण यार्डमा रहेका करिब १७० वटा कन्टेनर अहिलेसम्म जाँचपासको क्रममा रहेको भन्सार स्रोत बताउँछ । रसुवा भन्सार कार्यालयलाई तोकिएको एक अर्ब त्रिपन्न करोड राजस्व लक्ष्यमध्येमा लगभग एक अर्ब ६८ करोड असुली गर्न सफल भएको स्रोतले बताएको छ ।

माओवादी केन्द्रको सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले समय अवधि नै नपुगी भन्सार प्रमुख केदार पनेरूलाई काजसरुवा गरेकोमा सर्वोच्च अदालतले पनेरूको काजसरुवा बदर गर्न अन्तरिम आदेश जारी गरेपछि हाल केदार पनेरूले नै सो भन्सारको कमाण्ड सम्हालेका छन् ।

रसुवा भन्सार स्रोतबाट प्राप्त पछिल्लो समाचारअनुसार व्यवसायीले मालवस्तुको स्वयम् घोषणा गरेर सामान छुटाउन थालेका छन् । खासगरी व्यवसायीले न्यूनतम मूल्य घोषणा गर्ने परिपाटीलाई भन्सारले कडाइ गरेपछि केही व्यापारीहरू आतङ्कित हुन पुगेको व्यापारिक स्रोतबाट थाहा भएको छ । रसुवा भन्सारको कडाइले गर्दा थोरै व्यवसायीले मात्र घोषणा गर्ने गरेको बुझिएको छ । रसुवा भन्सार स्रोतका अनुसार यसै हप्ताबाट जाँचपासको काम सहज हुँदै छ ।