पूरा नहुने भयो प्रचण्डको सपना

पूरा नहुने भयो प्रचण्डको सपना


प्रचण्डको सपना

चीनबाट तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा धेरै ‘कोसेली’ लिएर आउने सपना देखेका प्रधानमन्त्री प्रचण्ड चीनको भ्रमण सुरु नहुँदै जिल्लिएका छन् । प्रचण्डको विश्वसनीयतामाथि शङ्का भएको नबताए पनि विश्वासको सङ्कटकै कारण चीनले प्रचण्डसँग कुनै प्रकारको सहमति र सम्झौता गर्न नचाहेपछि प्रचण्ड जिल्लिने स्थिति बनेको हो । प्रचण्डको भ्रमणलाई सामान्य औपचारिकतामा सीमित राख्न खोजिएको भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङले उनलाई पन्ध्र मिनेट लामो ‘दर्शनभेट’ भने दिने भएका छन् । प्रचण्ड र सीबीच चैत १३ गते भेटघाट हुने भएको छ ।

काठमाडौंबाट सोझै बेइजिङ जान चाहेका प्रचण्डलाई त्यस्तो अवसर पनि मिल्न सकेन । चैत १० गते उनी काठमाडौंबाट कुनमिङतर्फ प्रस्थान गर्ने र ११ गते हेनानको बोआओ सम्मेलनमा भाग लिन जानेछन् । १२ गते सम्मेलनलाई सम्बोधन गरेपछि प्रचण्ड सोही साँझ बेइजिङ पुग्ने र १३ गते राष्ट्रपति सीसँगको भेटपछि उनले चिनियाँ उद्यमी–व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । १३ गते बेइजिङबाट छेङ्दु पुगेपछि उनी दुई दिन त्यहीँ बस्ने र १५ गते ल्हासा जाने कार्यक्रम तय भएको छ । १६ चैतमा प्रचण्ड ‘रित्तो हात’ काठमाडौं फर्कने निश्चित भएको छ ।

एक समय चीनले निकै विश्वास गरेका प्रचण्डले आफ्नै बोली र व्यवहारका कारण चीनको विश्वास गुमाएका हुन् । उनीसँगको संवाद, छलफल र सहमतिको कुनै अर्थ नरहने ठानेर नै चीनले भ्रमणप्रति न्यून रुचि राखेको बुझिन्छ । तथापि ‘वन बेल्ट वन रोड’को चिनियाँ अवधारणाबारे भने केही सहमति हुन सक्ने बुझिएको छ ।