
– पुरुषोत्तम ढकाल (लसएन्जलस)
राष्ट्रपति ट्रम्पको नीतिगत निर्णयले अध्यागमन कानुनमा भइरहेको परिवर्तनका कारण अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको सङ्ख्यामा करिब ४० प्रतिशतले कमी आएको छ । एसोसिएसन अफ अमेरिकी कलिजिएट रजिस्ट्रारका अनुसार यस वर्ष अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको सङ्ख्यामा करिब चालीस प्रतिशतले कमी आएको हो । यस वर्ष पश्चिम एसियाबाट आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य रूपले घटेको छ ।
अमेरिकी शिक्षाविज्ञहरूका अनुसार राष्ट्रपति ट्रम्पले अध्यागमन कानुनमा लिएको कठोर नीतिका कारण तेस्रो विश्वका विद्यार्थीमा उब्जिएको त्रासले यस वर्ष अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीको सङ्ख्यामा कमी आएको हो । गत बुधबार राष्ट्रपति ट्रम्पद्वारा दोस्रो संशोधनसहित मुस्लिम देशहरूका लागि जारी गरिएको ट्राभल ब्यान्ड कार्यान्वयन नगर्न आदेश जारी गर्ने हवाईका न्यायाधीशका अनुसार यो वर्ष अमेरिकी युनिभर्सिटीहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने भएका छन् । स्मरण रहोस्, राष्ट्रपति ट्रम्पले दोस्रो संशोधनसहित नयाँ कार्यकारी आदेशमार्फत सुडान, सिरिया, इरान, लिबिया, यमन र सोमालियाका नागरिकलाई ९० दिनको ट्राभल ब्यान्ड आदेश जारी गरेका थिए ।
एक अध्ययनअनुसार स्नातक तहमा अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीमा पचास प्रतिशत कमी आएको छ । एक अर्को तथ्यअनुसार अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीले यहाँको अर्थतन्त्रमा ३२ अर्ब डलरको योगदान पु¥याउने गरेका छन् । बितेको दशकमा विदेशी विद्यार्थी भित्र्याउने देशहरूमा अमेरिका अग्रस्थानमा थियो । गत वर्ष यो तथ्याङ्क १० लाखको सङ्ख्याले नाघेको थियो । न्युयोर्क युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया र नर्थ इस्टर्न युनिभर्सिटीका अनुसार उनीहरूको विद्यार्थीमा विदेशीको सङ्ख्या उल्लेख्य थियो, तर यस वर्ष आवेदकको सङ्ख्या प्रचुर घटेको छ ।
पोर्टल्यान्ड स्टेट युनिभर्सिटीका अध्यक्ष विम विवेलको भनाइअनुसार अमेरिकामा अध्ययन गर्न चाहने दक्षिण एसियाली मूलका विद्यार्थीसँग आवेदन प्रक्रियामा भएको काउन्सिलिङमा विद्यार्थी अमेरिका बसाइलाई लिएर त्रसित भेटियो । मुस्लिम विद्यार्थीको हकमा त उनीहरू झनै त्रसित भेटिएका छन् । उनको भनाइमा ट्राभल ब्यान्डको समय र विद्यार्थीको आवेदन दिने समय एकैपटक परेको कारण पनि यस्तो त्रास उत्पन्न भएको हो । विदेशी विद्यार्थी आवेदक उल्लेख्य रहने ओहियो युनिभर्सिटीको आवेदकमा यस वर्ष ८ प्रतिशतले कमी आएको छ, यो सङ्ख्या इन्डियाना युनिभर्सिटी र पोर्टल्यान्ड स्टेटमा समेत मेल खाएको छ । यी तीन विश्वविद्यालयमा अध्ययन गर्नेहरूमध्ये २७ हजारमा १९ सय विदेशी विद्यार्थी रहँदै आएका छन् । ओहियो युनिभर्सिटीमा ८.४ प्रतिशतले कमी आएको छ भने क्यालिफोर्निया युनिभर्सिटीसम्बद्ध अधिकारी फ्रान्सिस लेसलीका अनुसार युनिभर्सिटीको आवेदन लिने अन्तिम समय र ट्राभल ब्यान्ड सँगै परेको कारण अध्ययनन गर्न चाहने विदेशी विद्यार्थीमा कति प्रतिशत कमी आउने हो अनुमान गर्न नसकिए पनि भारी सङ्ख्यामा कमी आउने उनको अनुमान छ ।
ज्ञातव्य छ, अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीकै कारण यहाँका बहुसङ्ख्यक विश्वविद्यालयको अर्थतन्त्र मजबुत रहने गरेको छ । यसका अतिरिक्त अमेरिकी साना तथा मझौला उद्योग र सूचना प्रविधिको क्षेत्रमा समेत अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीको सेवाले उल्लेख्य प्रभाव पार्दै आएको छ ।
प्रतिक्रिया