देउवालाई ‘हिस्स पार्दै’ प्रचण्ड

देउवालाई ‘हिस्स पार्दै’ प्रचण्ड


सत्ता हस्तान्तरण नगर्न अनेकौँ जाल

Prachanda & Deuwa

संविधानको कार्यान्वयन मुख्य चुनौतीको विषय बनिरहेका बेला सत्ता गठबन्धनभित्र सरकारको नेतृत्व परिवर्तनसम्बन्धी विषयलाई लिएर सङ्कट उत्पन्न हुन सक्ने सङ्केतहरू देखिएका छन् । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कमल थापा नेतृत्वको राप्रपा र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्ड सैद्धान्तिक रूपमा सफल त भएका छन्, तर उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम मिलाउन नसक्दा विमलेन्द्र निधि, कमल थापा र विजय गच्छदारलाई एकसाथ समेट्न भने मुस्किल परेको छ । निधि, थापा र गच्छदारले आफूलाई प्रधानमन्त्रीपछिको मर्यादाक्रममा राख्न न्वारानदेखिको बल लगाएका छन् । उल्लिखित तीन व्यक्तिहरू एक–अर्काको तल रहन मञ्जुर छैनन् र यही निहुँमा निधि या थापा सरकारबाट बाहिरिन सक्ने र विजय गच्छदार सरकारमा सामेल नै नहुने अनुमान पनि गर्न थालिएको छ । मर्यादाक्रमकै कारण सत्ता गठबन्धन सङ्कटमा पर्न सक्ने देखिएको छ ।

प्रचण्डले कमल थापा र विजय गच्छदारलाई सरकारमा सहभागी हुन सहमत गराएपछि प्रमुख सत्ता साझेदार दल नेपाली काङ्गे्रसलाई भने नराम्रोसँग झस्काएको छ । यसरी राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल हुन सहमत गराउने प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि भित्रभित्रै विशेष समझदारी बनाउनुलाई काङ्ग्रेसले ‘प्रचण्डको सत्ता हस्तान्तरण नगर्ने चाल’का रूपमा शङ्का गरेको छ । गत असारमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको चारबुँदे गुप्त सम्झौताअनुसार प्रचण्डले आगामी वैशाख १ गते देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने थियो । वैशाख ३१ गते स्थानीय निर्वाचन गराउने घोषणा भएपछि प्रचण्डको कार्यकाल थप एक महिना लम्बिएको छ र देउवाले पनि यसलाई स्वीकार गरेका छन् । देउवा आगामी जेठ १ गते प्रचण्डबाट आफूलाई सत्ता हस्तान्तरण हुने आशामा त छन्, तर विश्वस्त हुन सकिरहेका छैनन् । आफ्नो कार्यकाल डेढ महिना मात्र बाँकी रहँदा प्रचण्डले मन्त्रिमण्डल विस्तार तथा पुनर्गठन गरेकोले पनि देउवा थप सशङ्कित भएका हुन् ।

आफूले देउवालाई सत्ता हस्तान्तरण नगरे पनि सम्भावित चुनावको मुखमा काङ्ग्रेसले सरकार नछोड्ने विश्वास र विश्लेषण प्रचण्डको छ । गत वर्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिन निसर्त प्रस्ताव राख्दा देउवाले ‘आफूलाई विश्वासघाती भन्न सक्छन्’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेका थिए । यसपालि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न त्यस्तै किसिमको प्रस्ताव ओलीबाट प्रचण्डसमक्ष राखिँदा उनले भने त्यसमा सैद्धान्तिक सहमति जनाइसकेका छन् ।

सरकारबाट काङ्ग्रेस बाहिरिए पनि फोरम र राप्रपासमेत सरकारमा भएपछि एमालेको बाहिरी समर्थन लिएर सरकारलाई निरन्तरता दिन सजिलो हुने विश्वासमा प्रधानमन्त्री प्रचण्ड रहेको बुझिँदै छ । मुख्य चुनावी प्रतिस्पर्धामा रहेको काङ्गे्रसलाई सत्ताच्युत गर्ने र एक्ल्याउने रणनीतिक चालमा एमाले रहेको बुझेर पनि काङ्गे्रस ज्यादा सशङ्कित बनेको हो । प्रचण्डको मानसिकता र चाल अध्ययन गर्दा उनले जेठ १ गते पनि देउवालाई सत्ता हस्तान्तरण गर्ने सम्भावना देखिएको छैन । जेठ १ गतेपछि या अगाडि नै प्रचण्डले जेठ १५ गते बजेट प्रस्तुत गरेपछि मात्रै सत्ता हस्तान्तरण गर्ने भन्दै देउवालाई अलमल्याउन सक्ने सम्भावना बढेको छ । तर, बजेटपछि पनि प्रचण्डले सत्ता छोड्ने सङ्केत भने देखिँदैन । आफूले देउवालाई सत्ता हस्तान्तरण नगरे पनि सम्भावित चुनावको मुखमा काङ्ग्रेसले सरकार नछोड्ने विश्वास र विश्लेषण प्रचण्डको छ । भइरहेको सरकार नछोड्न सभापति देउवासहित काङ्गे्रस नेतृत्वमाथि काङ्ग्रेसभित्रैबाट दबाब बढ्ने स्थितिलाई समेत पूर्वानुमान गरी प्रचण्ड सत्ता नछोड्न कटिबद्ध हुँदै छन् ।

आफूले सरकार छोडे पनि प्रचण्ड नेतृत्वकै नयाँ गठबन्धन सरकारले निरन्तरता पाउन सक्ने भएकोले काङ्ग्रेस लतारिएरै सरकारमा रहिरहन सक्ने सम्भावना देखिएको छ । कुनै आकस्मिक घटनाक्रमको विकास भएन भने काङ्गे्रस र एमालेबीच सत्ता–साझेदारी हुने स्थिति देखिँदैन । सत्तारुढ काङ्गे्रसभन्दा सत्ताच्युत काङ्ग्रेससँग चुनावी प्रतिस्पर्धा गर्न सहज हुने भएकोले पनि एमाले नेतृत्व काङ्ग्रेससँग साझेदारी गर्ने मानसिकतामा नदेखिएको हो । त्यसैले प्रचण्डले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । यस्तो अवस्थामा काङ्ग्रेसका अघिल्तिर विकल्प सीमित हुँदै गएको छ । जे–जस्तो अवस्थामा पनि सरकारमा झुन्डिरहने या जोखिम उठाउँदै प्रतिपक्षी भूमिका निर्वाह गर्नेबाहेकको विकल्प काङ्ग्रेससँग देखिँदैन । गत वर्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिन निसर्त प्रस्ताव राख्दा देउवाले ‘आफूलाई विश्वासघाती भन्न सक्छन्’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरेका थिए । यसपालि देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न त्यस्तै किसिमको प्रस्ताव ओलीबाट प्रचण्डसमक्ष राखिँदा उनले भने त्यसमा सैद्धान्तिक सहमति जनाइसकेका छन् । यसरी काङ्ग्रेस प्रचण्डबाट नराम्रोसँग ठगिने स्थितिमा पुगेको छ । ‘आफ्नै रागले चाउरिनुपर्ने’ स्थितिमा काङ्ग्रेस आइपुगेको छ ।