नेपालको सञ्चार क्षेत्रमा सुपरिचित व्यक्तित्व दुर्गानाथ शर्मालाई सतही रूपमा चिन्ने या नबुझ्नेहरू ‘दरबारिया पत्रकार’को आक्षेप लगाउँछन्, तर उनको कर्म, सोच–शैली र स्वाभिमानलाई नजिकबाट नियालेकाहरू उनलाई कुनै दलविशेषको बिल्ला नभिरेका, स्वच्छ–स्वतन्त्र, निष्पक्ष, निर्भीक पत्रकारको रूपमा खुलेर प्रशंसा गर्छन् । यिनै निष्पक्ष र निर्भीक ‘मिडिया पर्सन’को जीवन–सन्दर्भमा आधारित पुस्तक हालै प्रकाशनमा आएको छ– ‘छाल’ ।
‘पत्रकारिता अप्ठ्यारो ठाउँको फर्सीजस्तो न टिप्न सकिने न छोड्न सकिने हुँदोरहेछ, मुखमा परेको गाँसमा ढुङ्गा परेपछि निल्न र ओकल्न कठिन परेजस्तै !’ ‘छाल’मार्फत यस्तो अभिव्यक्ति दिने ‘मिडिया सेलेब्रिटी’ दुर्गानाथ शर्माका लगभग चार दशक अवधि औपचारिक रूपमै नेपालको सञ्चार क्षेत्रमा पसिना काडेर बितेको छ भने जागिरबाट निवृत्त अवधि पनि उनले कुनै न कुनै रूपको ‘पत्रकारिता’मै लगाएका छन् । परिबन्दले पत्रकार (सञ्चारकर्मी) बन्न पुगेका शर्मा गोरखापत्र हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सञ्चार संस्थामा आबद्ध रहे, उनी जहाँ–जहाँ रहे त्यहाँ तनमन लगाएर पसिना बगाए । नेपाल टेलिभिजनसँग त दुर्गानाथको नाता अमिट रहेको बुझ्नेले बुझेकै छन् । यसरी सरकारनियन्त्रित सञ्चार संस्थाहरूमा जीवनको अहम् अवधि गुजारेकै कारण उनलाई ‘सरकारी पत्रकार’को बिल्ला भिराइएको हुन सक्छ, एक हदसम्म यो पाच्य हुन सक्ला, तर पञ्चायती व्यवस्थाको दबदबा चलेको बेला गोरखापत्र, रेडियो नेपाल र टेलिभिजनमा काम गर्दा स्वतन्त्र रूपले पत्रकारिताको धर्म कति निर्वाह गर्न सकिन्थ्यो भन्ने आँकलन नगरी ‘दरबारिया’को आरोप लगाइनु कति न्यायोचित ठहरिएला ? जवाफ खोज्न कठिन छैन ।
‘छाल’ दुर्गानाथ शर्माले भोगेको जीवनका विविध कालखण्ड या आयामहरूको सङ्कलित रूप हो, खासगरी मिडियाकर्ममा गुज्रेका उनका अहम् पलहरूको । सामान्य एउटा जागिर खोजेर उच्च अध्ययन गर्ने अभिलाषा बोकी झापाबाट राजधानी छिरेको सर्वसाधारण निहत्था किशोर के–कस्ता मान–भुक्तमान खेप्दै कसरी गोरखापत्र छि¥यो र कुन कामको दायित्व बोकी त्यहाँ प्रवेश गरेको थियो, तर कसरी पत्रकारको रूपमा चोला बदल्यो, अनि त्यही पात्र आज कसरी नेपाली सञ्चार जगत्मा एउटा इतिहास–पात्र नै बन्न पुगेको छ– मूलतः यसैको ऐना हो, ‘छाल’ । ब्रदर्स बुक्स पब्लिकेसनद्वारा प्रकाशित करिब पौने तीन सय पृष्ठमा फैलिएको ‘छाल’ मूलतः गोरखापत्र र नेपाल टेलिभिजनमा दुर्गानाथ शर्माद्वारा बगाइएको पसिनाको एउटा साक्षी हो ।
दुर्गानाथ शर्माले काठमाडौंमा पाइला हालेको निकै समयपछिसम्म पनि राजधानीका बजार इलाकामै पनि स्याल लुक्ने र भुक्ने झाडी प्रशस्तै थिए । राजधानीवासी बुइँगलमा राखिएको कोपरामा पिसाब फेरेर ‘चोःखः’ भन्दै माथि झ्यालबाट घरअगाडि बाटोमै पिसाब फाल्दथे । त्यस्तो जमानाका राजधानीका एक रमिते युवक कतै भनसुन गराएर कुनै विज्ञापन एजेन्सीमा कामदार बन्न पुगेका थिए, विज्ञापन एजेन्सीकै कामको अनुभवबाट उनमा पत्रकार बन्ने धुन चढेको थियो । सुपरभाइजरको रूपमा ०२६ सालमा गोरखापत्र छिरेर त्यहीँ उपसम्पादकमा पास भई जिम्मेवारी लिने बेलासम्म पनि पत्रकारिता कसरी गर्ने भन्ने मेलो नबुझेका शर्माले गोरखापत्रजस्तो सरकारी संस्थाको उतिबेलाको अस्तव्यस्त हालत पुस्तकमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । मानिस महत्वाकाङ्क्षी बन्नुपर्छ, तर आफूले थेग्न सक्ने महत्वाकाङ्क्षा मात्र बोकेर कर्मशील हुनुपर्दोरहेछ भन्ने बोध उनलाई आफ्नै व्यवहारले सिकाएको रहेछ ।
एक खास कालखण्डको नेपालको पत्रकारिताको इतिहास बुझ्न या पत्रकारिताको तत्कालीन अवस्था जान्न निकै मद्दत पु¥याउने ‘छाल’ मूलतः नेपालमा नेपाल टेलिभिजनको स्थापना र यसको विकासको आयाम बुझ्न चाहनेका निम्ति गहकिलो खुराक हो भन्दा अत्युक्ति ठहरिँदैन । यसबाहेक कर्तव्य निर्वाहका दौरानमा लेखकले घुमेका विश्वका अनेक मुलुक, स्थानबारे पनि थोरबहुत जानकारी मिल्दछ । दुर्गानाथको विचारमा सञ्चारमाध्यमको यतिबेला निकै विकास भएको छ, यो राम्रो कुरा हो । यसले जनतालाई सुसूचित गर्ने, शिक्षा र चेतना वृद्धि गर्ने र मनोरञ्जन दिने काम गर्छ । तर, हामीकहाँ पत्रकारिताको गुणात्मक विकास हुन बाँकी नै छ । पत्रकारलाई तालिम र अध्ययनको सुविधा नभएकाले गुणस्तरका दृष्टिले नेपाली मिडियाले गर्नुपर्ने काम धेरै बाँकी रहेको लेखकको ठहर छ ।
सन्दर्भ मिलाएर ठाउँ–ठाउँमा दुर्गानाथले नेपालको राजनीति र रजनीतिकर्मीहरूमाथि औँलासमेत उठाएका छन् । सञ्चारजगत्लाई हेर्ने या बुझ्ने राजनीतिकर्मीहतको दरिद्र मानसिकताले ऐठन गराएरै हुनुपर्छ उनले भन्छन्, ‘थोरै पनि आलोचना सुन्न नसक्ने र हेर्न नसक्ने राजनेताहरू हुन्जेल नेपालमा प्रेस स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । घटनाक्रमले प्रमाणित गरेको कुरा हो यो । यस्ता विषयमा सञ्चार जगत् थप कठोर बन्नुपर्छ र आफूलाई त्यसैगरी प्रस्तुत गर्नुपर्छ । होइन भने यी राजनेताहरूले पेल्दै जाने नीति त्याग्ने छैनन् ।’
समष्टिमा भन्नुपर्दा आफ्नो कर्म वा विधामा सिद्धहस्त कहलिएका एक लोकप्रिय सञ्चारकर्मीले भोगेको अनेक हण्डर–ठक्कर, सङ्घर्ष र कर्मको पसिनाबाट जन्मेको ‘छाल’ अनेक कोणबाट पठनीय र सङ्ग्रहणीय पुस्तक–कृतिका रूपमा पाठकसामु आएको छ भन्न पटक्कै हिच्किचाउनुपर्दैन । पुस्तकको साजसज्जा र यसले पस्किने सामग्रीको ओजको हिसाबले तीन सय पचास रुपैयाँ मूल्य महँगो होइन । यसका लागि लेखकका साथै पुस्तक प्रकाशनको दायित्व उठाउने ब्रदर्स बुक्स पनि साधुवाद र बधाईका पात्र बनेका छन् ।
प्रतिक्रिया