पात्र महावीरशमशेर

पात्र महावीरशमशेर


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

धेरै यस्ता पात्र छन् जसको बीपीको निर्माणमा, नेपाली काङ्ग्रेसको गठन विकासमा, क्रान्तिमा अनि बीपीको जीवनमा नै महत्वपूर्ण मोडमा भूमिका छ । तर, यस्ता कैयौँ पात्रको यस किताबमा प्रसङ्ग आउन सकेको छैन वा आए पनि धेरै कम आएको छ । यो यस किताबको सन्दर्भमा भने आपत्तिजनक मान्न मिल्दैन । यसका धेरै कारण छन्, सङ्कलकले दिएको भूमिका तथा कमल दीक्षितको अग्रलेखबाट यी कारणको अनुमान हुन्छ । सङ्कलक गणेशराज शर्माले आफू बीपीभक्त भएको कुरा भूमिकामै छर्लङ्ग पारेका छन् भने कमलमणिले पनि आफ्नो अग्रलेखमा त्यसको छनक दिएका छन् । सम्पूर्ण टेप नै यस किताबमा लिपिबद्ध भएको सम्भव किन पनि हुन सक्दैन भने सङ्कलकले टेपको जुन अवधि भनेका छन् त्यो अवधिको सम्पूर्ण कुरा यो किताबको कलेवरमा आउन सम्भव देखिँदैन । प्रकाशनयोग्य बनाउन सम्पादन गरिएको कुरा स्वीकार गरिएको छ, त्यसैले यहाँ सङ्कलक तथा प्रकाशकको अवचेतनले केही कुरा छुटाउन प्रेरित गरेको नहोला भन्न सकिन्न ।

जे होस्, महावीरशमशेर एक यस्तै पात्र हुन् जो नभएको भए बीपीको नेपाली राजनीतिमा र नेपाली काङ्ग्रेसको विश्व–राजनीतिमा यो उचाइ हुने थियो वा थिएन भनेर शङ्का गर्ने ठाउँ भने रहन्छ । परिच्छेद १० मा महावीरशमशेरले आफ्नो सालामार्पmत बीपीलाई बोलाएर भेटेको प्रसङ्ग छ । त्यसरी बोलाइएर गएपछि पनि धेरैबेर पर्खनुपरेकाले स्वाभाविक रूपमा नै बीपीको महावीरशमशेरसँगको पहिलो अनुभव केही तीतो नै रह्यो, त्यो अन्तसम्म कायम रहेको देखिन्छ । त्यसैले जीवनकालको अन्ततिर रेकर्ड गराएको टेपमा उनी भन्छन्, ‘महावीरशमशेर बडो उट्पट्याङ किसिमका मान्छे थिए ।’ त्यतिले पनि नपुगेर अगाडि भन्छन्, ‘तिनमा सम्पत्तिको ठूलो अहंकार थियो ।’ तर, त्यही सम्पत्ति नै नेपाली काङ्ग्रेस गठनको सुरुवाती आर्थिक आधार बन्यो । त्यति मात्र नभएर महावीरशमशेरका भाइ सुवर्णशमशेर पनि बीपीको सम्पर्कमा आए । बीपी, सुवर्ण अनि गणेशमानको तिकडी नै नेपाली काङ्ग्रेसको मेरुदण्ड थियो भनियो भने त्यो सर्वथा उचित नै हुन्छ ।

माहवीरशमशेर बीपीको जीवनमा, नेपाली काङ्ग्रेसमा धेरै महत्व राख्ने, तर करिबकरिब उपेक्षित पात्रजस्तो अनुभव हुन्छ । वीरगञ्जको हमलामा प्राप्त भएको ५० लाख रुपैयाँले जब सङ्गठनमा नै चिरा पर्ने खतरा भयो तब त्यो रुपैयाँ राजा त्रिभुवनसँग थान्को लगाउने प्रयत्नमा बीपी, मातृका, सुवर्णशमशेर अनि सूर्यप्रसादसँगै महावीरशमशेर पनि गएको उल्लेख पछि उनको स्मरण किताबमा कतै गरिएको छैन । यस्तो किन भयो त्यसपछि महावीरशमशेर कता हराए र किन हराए भन्ने कुरामा यो किताब मौन छ । सम्भवतः बीपीले बोलेको टेप जो भूमिकामा उल्लेख भएअनुसार मदन पुरस्कार पुस्तकालयमा जिम्मा लगाइएको भनिएको छ, त्यसमा केही हुन पनि सक्छ । नेपाली काङ्ग्रेसभित्रको एक प्रमुख विशेषता बीपी र त्यसपछि गिरिजाप्रसाद रहुन्जेल सङ्गठनभित्रका सबैले हरेक कुरा उनीहरूको आँखाबाट मात्र हेर्ने रहेको छ । त्यसैले बीपीले जुन पात्रको जस्तो मूल्याङ्कन गरे काङ्ग्रेसजनले पनि त्यही मूल्याङ्कन गरे । गिरिजाप्रसादको मूल्याङ्कनमा असहमति जनाउँदा नेपाली काङ्ग्रेसका दुई स्तम्भ गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आफ्नो जीवनको उत्तरार्ध भूमिकाविहीन भएर नै बिताउनुप¥यो ।

यति हुँदाहुँदै पनि महावीरशमशेरको जति प्रसङ्ग यो किताबमा आएको छ त्यो उनको अपरिहार्यता साबित गर्न पर्याप्त छ । सालामार्पmत बीपीलाई बोलाएर सङ्गठनको निमित्त पैसा मात्र दिएनन्, भाइ सुवर्ण पनि दिए । परिच्छेद १० मै बीपीले भनेका छन्, ‘मलाई के भने–भने– तपाईंहरूलाई पैसाको जरुरत पर्छ भने म पैसाको इन्तजाम गर्छु, दिन्छु । मेरो एउटा भाइ छन् सुवर्णशमशेर । हामीहरू दुईजनाको सल्लाह के छ भने मैले जति खर्च गर्दछु, जति दिन्छु,, उनले पनि त्यत्तिकै दिने । त्यसो हुनाले तपाई आफ्नो काम गर्नुस् ।’ सङ्गठन बन्यो, बीपीले सोचेभन्दा धेरै झन्झटिलो किसिमले बन्यो । सङ्गठनको नाममा बहस भयो, पदाधिकारी को–को हुनेमा बहस भयो । अध्यक्षतामा पनि कडा बहस भयो । यहाँ गणेशमानको युक्ति काम लाग्यो, न बीपी न डिल्लीरमण बरु टंकप्रसाद अध्यक्ष अनि कार्यबाहक बीपी ।

सङ्गठनको निर्माणपछि पैसाको आवश्यकता भयो । महावीरशमशेरले पच्चीस हजार रुपैयाँ लोहियामार्पmत दिए । सुवर्णशमशेरले पनि दाजु बराबर पच्चीस हजार रुपैयाँ दिए । सुवर्णशमशेरले पनि रकम सीधै दिएनन्, जयप्रकाशनारायणमार्पmत दिए । महावीरशमशेरको संलग्नता त्यो रकम दिनमा मात्र रहेन । एकीकरणको सम्मेलन पनि उनैको कलकत्ताको ‘टाइगर सिनेमा हल’मा भयो । बर्माबाट हतियार बोक्न महावीरशमशेरले आफ्नो प्लेन दिए । क्रान्ति अवधिमा पनि महावीरशमशेरको प्लेनले सक्रिय भाग लियो । राजा त्रिभुवनलाई पाल्पा भगाउन बनाइएको योजनामा त्यहाँको कमान्डर इन चिफलाई मिलाउन पनि महावीरशमशेर, सुवर्णशमशेरको सम्बन्धले नै सम्भव भयो । यो योजनामा प्लेन प्रयोग हुन सक्ने अवस्था भएको भए बीपीलाई कुनै कठिनाइ हुने थिएन । महावीरशमशेर आफू र आफ्नो सम्पूर्ण सम्पत्ति नै नेपाली काङ्ग्रेसको सम्पत्तिसरह उपयोग भइरहेका थिए । सुवर्णशमशेर–बीपी मिलनका सूत्रधार महावीरशमशेर नै थिए । महावीरशमशेरले आफ्नो सालामार्पmत वीपीलाई बोलाएर यो संलग्नता नदेखाएको भए परिस्थिति के हुने थियो त्यो आँकलन गर्ने जिम्मा इतिहासकार अनि विश्लेषकहरूको हो । यो आलेख त केवल आत्मवृत्तान्तलाई उभयपक्षबाट बुभ्mने प्रयास मात्र हो ।