नीतालाई दश लाख काफी !

नीतालाई दश लाख काफी !


Nita Dhungana 3

नेपाली चलचित्र फाँटमा हालसम्म कति नायिका आए, कति आउने क्रममा छन्, कति हराए र कैयनचाहिँ करिअर निर्माणका लागि सङ्घर्ष गरिरहेका छन्, खास लेखाजोखा भइसकेको छैन । यीमध्येकी एक सुन्दर अनुहार, आकर्षक जिउडाल र फरासिलो तथा बोल्ड शैली भएकी नायिका हुन्– नीता ढुङ्गाना । नीताले फिल्म क्षेत्रमा सङ्घर्ष गर्न थालेको केही वर्ष भइसक्यो, तर उनले सफलताको स्वाद चाख्न पाएकी छैनन् । नीताबाट फिल्म निर्माता–निर्देशकहरूले मात्र नभई दर्शकले पनि आस राखेका हुन्, तर तिनलाई पनि निराशा नै हात लागेको छ भन्दा नीताले चित्त दुखाउनुहुँदैन । किनकि, उनले दर्शकको वाहवाही लुट्ने चलचित्र अहिलेसम्म दिन नसकेको उनी स्वयम्लाई राम्रो हेक्का छ ।

कुनै बेला आमेष भण्डारी नामक कला क्षेत्रमै सङ्घर्षरत युवासँग खुलेआम प्रेम सम्बन्धमा रहेकी र अहिले आमेषसँगको सम्बन्ध टुटेपछि आमेषको नामसम्म सुन्न नरुचाउने अवस्थामा पुगेकी नीताद्वारा अभिनीत नयाँ चलचित्र ‘निर्भय’ यही चैत ११ गतेदेखि देशभर रिलिज हुँदै छ । लामो ग्यापपछि सिनेपर्दामा देखापरेका निखिल उप्रेतीको अपोजिट भूमिकामा रहेकी नीता यसमा चुलबुले सुन्दरीको रूपमा नभई एक प्रहरी अफिसरकी पत्नी बनेर पर्दामा उत्रिएकी छिन् । अर्थात्, नायक निखिल उप्रेतीकी पत्नीको भूमिकामा नीता देखिएकी छिन् । प्रायः नायिकाहरूलाई शो पिस मात्र तुल्याएर नायकलाई फिल्मको हर्ताकर्ता पात्रको रूपमा पस्किने गरिएको तथ्य औँल्याउँदै नीता ‘निर्भय’मा आफू शो पिस मात्र नरहेको, बरु पतिलाई ‘तिमी देशको लागि काम गर, म घर सम्हाल्ने काम गर्छु’ भन्ने पत्नीको भूमिकामा रहेर पनि दर्शकमा खास छाप छोड्न सक्षम हुने दाबी गर्छिन् ।

सबभन्दा चाखलाग्दो कुराचाहिँ के छ भने फिल्मको अफरमा खडेरी परेर यतिबेला गीतमा मोडलिङ गर्न बाध्य भएकी नीता एउटा फिल्ममा काम गरेबापत दश लाख पारिश्रमिकको आसमा छिन् । तर, नझस्किनुहोला ! उनको यो डिमान्ड होइन, अभिलाषा मात्र हो । वर्षमा एउटा मात्र फिल्म खेल्नुस् भनियो भने तपाईं कति पारिश्रमिक माग्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले दश लाख पाए वर्षमा एउटाबाहेक चलचित्र नखेल्ने मात्र नभई गीति भिडियोमा समेत मोडलिङ नगर्ने जवाफ दिएकी हुन् । बिचरी नीता ! सेलेब्रिटी भए पनि थोरै खर्चले नै काम चलाउने उनको सोचको तारिफ गर्नैपर्छ । कि कसो ?

बेलायतमा ‘नेपाली फिल्म अवार्ड’ हुने
नेपाल फिल्म क्षेत्रको विस्तार र विकासका लागि बेलायतमा पहिलोपटक ‘नेपाली फिल्म अवार्ड २०१७’ आयोजना गरिएको थर्ड आई बेलायतका संयोजक विकास देवकोटाले जानकारी दिएका छन् । थर्ड आईको आयोजनामा आगामी जुलाई ८ गते शनिबार हुने फिल्म अवार्ड समारोहमा नेपाली फिल्म क्षेत्रका विविध विधामा अवार्ड दिने कार्यक्रम रहेको बताइएको छ ।

देशबाहिर पनि नेपाली फिल्मको प्रचारप्रसार, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले युरोपमा धेरै नेपाली बसोबास गर्ने यूकेलाई आधार बनाई फिल्म अवार्ड आयोजना गर्न लागिएको देवकोटा बताउँछन् । उक्त फिल्म अवार्ड कार्यक्रममा नेपाली कला, सङ्गीत र फिल्म क्षेत्रमा विगतमा उच्च योगदान गरेका र यतिबेलाका उत्कृष्ट कलाकार, सङ्गीतकार, गायकसमेत गरी करिब पचासभन्दा बढी कलाकारलाई आउँदो जुलाईमा बेलायत निम्त्याइँदै छ ।

बताइएअनुसार नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान गर्ने व्यक्तित्वलगायत उत्कृष्ट चलचित्र, नायक, नायिका, निर्देशक, सङ्गीतकार, गायकलगायत फिल्मी क्षेत्रका महत्वपूर्ण विधामा अवार्ड वितरण गर्ने गरी एक ऐतिहासिक कार्यक्रम आयोजना गरिएको छ । यस कार्यक्रममा उत्कृष्ट गीत, सङ्गीत, नृत्य, गीतकार, सङ्गीतकारको मनोनयन र छनोट प्रक्रियाको काम लन्डनमा रहेको टिमबाटै हुनेछ भने अन्य विधामा मनोनयन र छनोट कार्य नेपालबाट गरिनेछ । फिल्म एवार्ड कार्यक्रमलाई भव्य रूपमा सफल पार्न बेलायतस्थित सम्पूर्ण व्यवसायी, सामाजिक संस्था, बुद्धिजीवी, सञ्चारकर्मीलगायत नेपाली कला, सङ्गीत र फिल्म क्षेत्रलाई माया गर्ने सबै महानुभावलाई ‘थर्ड आई’ टिमले अनुरोध गरेको छ ।