
स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र बनाउन नेपाली कांग्रेसले केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । लामो समयको अन्तरालमा आइतबार बसेको कांग्रेस केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको हो । आइतबारकै बैठकले सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति समेत बनाएको छ । तीनजना पदाधिकारी र केन्द्रीय कार्यसमितिको मर्यादाक्रम अनुसार मनोनयन गरी उनन्तीस सदस्यीय कार्यसम्पादन समिति निर्माण गरिएको कांग्रेसले जनाएको छ ।
बताइएअनुसार उनन्तीस सदस्यीय कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू र एनपी साउद रहेका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनको तयारी, संविधान संशोधन र पार्टी सञ्चालनबारे विशेष छलफल भएको र सभापति देउवाले ९ बुँदे एजेण्डा पेस गरेका छन् भने नेता खुमबहादुर खड्काले संविधान संशोधन गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । ‘धार्मिक स्वतन्त्रतासहितको सनानत हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक समेत रहेका खड्काको प्रस्तावमा अन्य केन्द्रीय सदस्यहले पनि मौखिक समर्थन गरेको बताइएको छ । आफ्नो प्रस्तावमा नेता खड्काले ‘हिन्दुराष्ट्रको रूपमा रहेको नेपाललाई बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्मनिरपेक्ष तुल्याइँदा नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यसमितिमा सामान्य छलफल समेत नभएकोले पार्टीले यस विषयमा स्वामित्व लिन नमिल्ने अवस्था रहेको वास्तविकता समेतलाई विचार गरी पार्टी केन्द्रिय कार्यसमितिको चालु बैठकमा छलफलका लागि प्रस्तुत गर्न माग गर्दछु । नेपाली काङ्ग्रेस आफैमा एक प्रजातान्त्रिक र प्रजातन्त्रवादी पार्टी भएकोले यसले लिने निर्णयहरू जनमतसम्मत, प्रक्रियासम्मत र दूरदर्शी हुन्छ र हुनुपर्छ भन्ने आम विश्वास छ । जनविश्वासको कदर गर्नुपर्ने पक्षलाई समेत विचार गरी मैले यो प्रस्ताव राखेको छु’ उल्लेख गरेका बुझिएको छ । नेपाल हिन्दुराष्ट्र हुनुपर्ने भनी खड्काद्वारा सुरु गरिएको महाअभियानलाई नेपाली कांग्रेसका थुप्रै नेता–कार्यकर्ताले साथ र समर्थन दिँदै आएका छन् ।
प्रतिक्रिया