सडकको दूरावस्थाले ढोरपाटन आरक्षमा असर

सडकको दूरावस्थाले ढोरपाटन आरक्षमा असर


अलपत्र विकास योजना पार लगाउने कसले ?

ढोरपाटन आरक्ष

■ मुक्तिनाथ भुसाल
राष्ट्रिय चासोका रूपमा रहेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकमा विगत सात वर्षदेखि कामको सुरुवात भए पनि हालसम्म ट्रयाक खोल्ने कार्यले समेत पूर्णता लिन सकेको छैन । प्रायः वर्षायाम सुरु हुनुपूर्व जोडतोडका साथ काम गरिए पनि वर्षात्को समाप्तिसँगै सोही कार्यका लागि नयाँ टेन्डर निकाल्ने परिपाटीका कारण यो सडकखण्ड सीमित भ्रष्ट कर्मचारी र ठेकेदारका लागि मात्र फलिफापको साधन बन्ने गरेको छ ।

महेन्द्र राजमार्गको सालझन्डी चोकदेखि ६ वटा जिल्ला हँुदै बाग्लुङको ढोरपाटनसम्मको करिब १८० किमि लम्बाइ सडकको ट्रयाक, ग्राभेल र पिचलगायत कार्यका लागि सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना कार्यालयले ०६६ देखि हालसम्म करिब ढेड अर्ब रुपैयाँ प्राप्त गरिसकेको छ । विडम्बना, गत आर्थिक वर्षमा सम्पन्न गरिसक्नुपर्ने सालझन्डीदेखि गुल्मीको पुर्कोटसम्मको अनुमानित सय किमि लम्बाइ सडकको ग्राभेल कार्य १५ किमिमा सीमित बनेको छ र चालू आर्थिक वर्षमा यसभन्दा बढी प्रगति नहुने सम्भावना निश्चित देखिएको छ ।

पाल्पाको कञ्चनखोलादेखि खुर्साने हुँदै अर्घाखाँचीको चिवेक, मैदान, गच्छे चुत्राबेंसीलगायत स्थानमा पटक–पटक जाली र वाल निर्माण सम्पन्न भएको भए पनि हवाहुरी र वर्षात्मा सम्पन्न जाली तथा सडकका वाल बगेका कारण हालसम्म पनि एकपटक सम्पन्न कार्य पूरा गर्न भ्याइनभ्याई बनेको देखिन्छ । चुत्राबेंसी बजारमा सडकको ट्रयाक हालसम्म खोलिएको छैन र मैदानको ठूलै गाउँ पनि विगतमा सम्पन्न गरिएका जाली र पर्खाल बगेका कारण खतरामा परेका छन् ।

यो सडकखण्डको सफलताका लागि राज्य, नागरिक, ठेकेदार र जनप्रतिनिधिबीच एकता हुनु आवश्यक देखिए पनि यस्तो माहोल देखिएको छैन । जसका कारण सडक समयभित्र सम्पन्न हुने र प्रभावित सडकका स्थानीय लाभान्वित हुने कुरामा जटिलता देखिन्छ । सडकको मापदण्डबारे स्पष्ट जानकारी नागरिकलाई गराउँदै उठीबास हुन सक्ने स्थानीयका लागि व्यवस्थापन गर्ने कार्यमा राज्य मौन रहेको छ । जसको बाबजुद कतिपय स्थानमा सात मिटर त कतिपय स्थानमा २५ मिटर चौडाइमा सडक विस्तार गरेको देख्दा स्थानीय चकित परेका छन् । विकासका लागि विनास अपरिहार्य मानिए पनि सडकको मापदण्ड कुन स्थानमा कति राख्ने भन्ने विषयमा विवादित स्थानका जनप्रतिनिधिले स्थानीयको नेतृत्व गरी आपसी सहमतिका साथ मन्त्री क्याबिनेटबाट पास गराउने हो भने समस्या समाधान हुन सक्छ । जसका लागि स्याङ्जा जिल्लाको पुतलीबजारलाई स्मरण गरी हुनुपर्ने सडकको मापदण्ड ५० मिटरलाई त्यहाँका स्थानीय र जनप्रतिनिधिले १२ मिटरमा सदाका लागि सडक सीमित गरेको यथार्थता हाम्रोसामु रहेको छ । यसैगरी कामको जिम्मा लिएका ठेकेदारलाई आवश्यकीय निर्माण सामग्री जस्तै ढुङ्गा, बालुवा, गिटी आदि सहज तरिकाले उपलब्ध गराउने वातावरणको सिर्जना गरी उनीहरूलाई हौसला प्रदान गर्नु नागरिकको समेत कर्तव्य हो ।

यो सडकको पूर्णताका लागि विगतमा जे–जस्ता ढिलाइ भएका भए पनि राज्यको ढुकुटीलाई समयभित्र उपयोग गराउने र नियमलाई पालना नगर्नेहरूमाथि योजना सुरु भएयता पाँच योजना प्रमुख फेरबदल भइसकेको सन्दर्भमा करिब एक साताअघि योजना प्रमुखको जिम्मेवारी पाएका होमबहादुर एसीले आवश्यक कारबाही अघि बढाउन कन्जुस्याइँ गर्नुहुँदैन । यसैगरी अर्घाखाँचीको चिवेकमा केही वर्षअघि निर्माण गरिएको सामान्य कजवे यो सडकका लागि अशोभनीय भएको कारण हालको कजवेभन्दा तल वा माथिबाट पक्की पुलको निर्माण गर्नेतर्फ योजना प्रमुख एसीले तत्कालै कामको सुरुवात गर्न ढिलाइ गर्नुहँुदैन ।
बाग्लुङको ढोरपाटन प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । अग्ला–अग्ला पहाड, समथर मिलेका खेत अनि नजिकै देखिने हिमालका अलावा सिकार आरक्ष ढोरपाटनका आकर्षक विषय हुन् । ०३९ सालमा स्थापना भई ०४४ साल वैशाख १४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको सामुद्रिक सतहदेखि ८५०० फिट उचाइमा रहेको ढोरपाटन सिकार आरक्षमा नाउर, झारल, ब्वाँसो, थार, घोरल, रतुवा, बँदेल, स्याल, कस्तुरी, फ्याउरो, चुरीबाग, रातोपान्डा, डाँफे, चिरकालिज, फोक्रासलगायतका थुप्रै जनावर पाउन सकिन्छ । आरक्षको वन क्षेत्र चिरकालिजको वासस्थानका लागि विश्वप्रसिद्ध रहेको छ भने डाँफे र हाब्राको सङ्ख्या अन्यत्रभन्दा बढी रहेको अनुमान गरिएको छ । मैकोटको खर्क नेपालमै उत्कृष्ट यार्सागुम्बा उत्पादन हुने क्षेत्र र गुर्जाखानी क्षेत्र भिरमौरी मह उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।

ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगङ्गा, रुद्रताल, मैकुट अनि सुनदह त्यहाँका प्रसिद्ध धार्मिक स्थल हुन् । नेपाल सरकारले ढोरपाटन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा सूचीकृत गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि एयरपोर्ट, दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । रूपन्देहीको सालझण्डी चोकदेखि ढोरपाटनसम्म एकै सवारीमा स्वदेशी तथा विदेशी पाहुनालाई उक्त क्षेत्रमा भित्र्याउने उद्देश्यका साथ ट्रयाक खोली पिच सडकसमेत निर्माण हुने भनी योजना आयोगको रेडबुकमा समेटिएको यस योजनाले अपेक्षित गति लिन नसक्नु विडम्बनाको विषय हो ।