नवनियुक्त भारतीय राजदूतको सक्रियता

नवनियुक्त भारतीय राजदूतको सक्रियता


Manjiv

नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीले राजदूतको कार्यभार सम्हाल्नुभएको छ । गत आइतबार राष्ट्रपतिनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएका पुरीले २४औँ भारतीय राजदूतका रूपमा नेपालमा जिम्मेवारी आरम्भ गर्नुभएको हो ।

गत शनिबार नेपाल आगमनलगत्तै उहाँले भेटघाटलगायत कार्यक्रममा आफूलाई सक्रिय तुल्याउनुभएको छ । आइतबार ओहोदाको प्रमाणपत्र बुझाएपछि सोही साँझ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न बुढानीलकण्ठस्थित देउवानिवास पुग्नुभएका राजदूत पुरीले डिनरसहित करिब दुई घन्टा सभापति देउवासँगै बिताउनुभएको बुझिएको छ । यस्तै, सोमबार सिंहदरबारस्थित एमाले पार्टीको संसदीय दलको कार्यालयमा उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।

सन् १९५९ मा जन्मनुभएका पुरी सन् १९८२ मा भारतको कूटनीतिक सेवामा प्रवेश गर्नुअघि हिन्दुस्तान युनिलिभर कम्पनीमा सम्बद्ध हुनुहुन्थ्यो भने नेपालमा राजदूतको जिम्मेवारी सम्हाल्नुअघि उहाँले युरोपीय सङ्घ, बेल्जियम र लक्जम्बर्गमा समेत भारतका लागि राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको छ । सन् २००९ देखि २०१३ सम्म पुरीले संयुक्त राष्ट्रसङ्घका लागि उप–स्थायी भारतीय प्रतिनिधिका रूपमा पनि सेवा गरिसक्नुभएको छ । यस्तै, भारतको सुरक्षा परिषद्मा समेत एक वरिष्ठ सदस्यका रूपमा उहाँले सेवा पु¥याउनुभएको बताइन्छ ।

स्थायी विकास तथा पर्यावरणका मुद्दामा सक्रिय पात्रका रूपमा परिचित मञ्जीवसिंहले सन् २०१२ मा ब्राजिलको रियो दी जनेरियोमा आयोजित निरन्तर विकासमा संयुक्त राष्ट्र सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलको अगुवाइ गर्नुभएको थियो भने जलवायु परिवर्तनसम्बन्धी विषयमा गठित प्रतिनिधिमण्डलको पनि उहाँ एक प्रमुख सदस्य हुनुहुन्थ्यो ।

जर्मन भाषामा पोख्त मञ्जीवसिंह पुरीले विदेश सेवाको करिअरमा दुईपटक जर्मनीमा रही सेवा पु¥याउनुभएको र बर्लिनमा भारतीय सांस्कृतिक केन्द्र स्थापनामा मूल भूमिका निर्वाह गर्नुभएको बताइएको छ । भारतीय विदेश सेवाका कर्मचारीको हैसियतले बैंकक, कराकस, केपटाउन, मस्कटलगायत स्थानमा रही सेवा पु¥याउनुभएका पुरी एक कुशल एवम् अनुभवी कूटनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ । म्यानेजमेन्टमा मास्टर्स डिग्री हासिल गर्नुभएका पुरीले सेन्ट स्टेफन्स कलेज (दिल्ली युनिभर्सिटी)बाट अर्थशास्त्रमा उच्च अङ्कमा स्नातक गर्नुभएको छ । नम्रिता पुरीसँग विवाह गर्नुभएका उहाँका दुई सन्तान छन् ।

मञ्जीवसिंह पुरी