प्रधानमन्त्रीको चीन भ्रमण र परराष्ट्रको भूमिका

प्रधानमन्त्रीको चीन भ्रमण र परराष्ट्रको भूमिका


Rajendra Pathak

■ राजेन्द्रप्रसाद पाठक

ल्हासामा सुन छ केरुङमा नुन छ
केरुङका भोटेनीले राडीकाम्लो बुन्छ
त्यसको एउटा गुन छ अब जाडो आयो
ओढ्न ओछ्याउनलाई हुन्छ ।

कुनै प्रख्यात आसुकविद्वारा रचित कवितांश हो यो । जसरी नेपाल–भारतको सम्बन्ध खुला सिमाना, वर्ण, वंश, जात, जाति, धर्म, संस्कृति राजनीतिक, आर्थिक, सामाजिक, भाषाभेष, जीवनशैली आदि अधिकांश मेल खाने हुनाले अझ गहिरो र अनौपचारिकै भए तापनि चीनसँगको नेपाल सम्बन्धले कम इतिहास ओगटेको छैन भन्दा फरक परोइन । एक मानवसँगको सम्बन्ध अर्को मानवसँग निकट हुनु जन्मसिद्ध व्यवहार हो । त्यसैले त कुनै पनि सिमानाले त्यसलाई रोक्न–छेक्न सक्दैन । यस्तै सम्बन्ध अनन्तकालदेखि चीनसँग पनि रहँदै आएको छ ।

माथि उल्लेखित कवितांशको वर्णनको विवेचना गर्दा परापूर्वकालदेखि सुन बजार रहेको ल्हासा सहर चीनमा नै पर्दछ । कविले केरुङ भनेको केरुङ रसुवा नाकाको चिनियाँ बजार हो । यसले हामीलाई नुनको आपूर्ति गरेको थियो । जाडो झेल्न प्रयोग हुने भेडाको ऊनबाट निर्मित राडी–काम्लो पनि तिनै भोटेनीहरूले बुनेर बिक्री गर्ने गर्दथे । हाम्रो देशको चाँदीको मोहर उनीहरूले चलनचल्ती गरेको इतिहास सबैले पढेकै छन् । यो विगतदेखि वर्तमानसम्म विभिन्न रूपमा चल्दै गरेको व्यवहार नै हो । यसलाई सहज तुल्याउने काम सिमानाका व्यापारीले गर्दै आएका थिए ।

यसरी नै छिमेकी देशको अनौपचारिक लेनादेनाबारे इतिहासले उल्लेख गरेको छ । तर, प्रसङ्गले खोतल्न खोजेको विषयवस्तुचाहिँ अलिक फरक छ । स्मरण रहोस्, गत साता सुरु भएको हाम्रा प्रधानमन्त्रीको चीन भ्रमण पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने उखान चरितार्थ तुल्याउने अवस्था पैदा हुनै लाग्दा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अथक् प्रयासले केही मात्र भए पनि सुदृढ तुल्याइदिएको छ । छिमेकी देशको प्रधानमन्त्री औपचारिक भ्रमणमा आएका बेला आफू भने अन्तैतिर लाग्नु कत्तिकोे सत्कारपूर्ण व्यवहार होला, सहजै अनुमान गर्न सकिन्छ ।

हाम्रो कूटनीतिले यस्ता विषयलाई कसरी लिएको छ, त्यो त यिनै नेतृत्वले चयन गरेका होनहार कूटनीतिज्ञलाई नै थाहा होला । नेपालमा विगतदेखि वर्तमान र भविष्यसम्म नै भइरहने राजनीतिक प्रचार शैली भनेको भारतलाई काँडो र चीनलाई भाँडो सम्झने र गरिने प्रचार शैलीलाई लोप्पा खुवाइदिएको छ । हुन त यो व्यवहार त्यसै देखापरेको त पक्कै पनि होइन होला । नेपालका नेताहरूको अत्मकेन्द्रित सोच–शैली र व्यवहारबाट उत्पन्न भएको कूटनीतिक प्रतिबिम्ब होला । देश र जनतालाई केन्द्रमा राखेर नगरेको व्यवहारबाट यसको विजारोपण भएको हो । यदि यस्तै भइरहने हो भने भारतलगायत अन्य देशबाट समेत उल्लेखित व्यवहार निकट भविष्यमै देखापर्न सक्छ । पद–प्रतिष्ठा र व्यक्तिगत व्यवहार सुधार गर्नकै लागि जस्तोसुकै हर्कत देखाउन पछि नपर्ने सोच र शैलीको मूर्तरूप हो यो । आफू सत्ता र शक्तिमा रहिरहनका लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने, मनोकाङ्क्षा पूरा भइकेपछि विगतका समझदारी सबै भुलेर पुरानै प्रपञ्चमा फर्कन सक्ने अद्भूत र अकल्पनीय गैरकूटनीतिक व्यवहारको परिणमस्वरूप देखिएको छिमेकी देशको व्यवहारले हाम्रा नेतालाई त फरक नपर्ला, तर त्यस्ता शैलीको दूरगामी प्रभाव देशमा र जनतालाई भने पक्कै पर्ने नै छ ।

प्रधानमन्त्रीको खुस्किएको लँगौटीलाई थोरै मात्र भए पनि परराष्ट्रमन्त्रीले सम्हालिदिएर लाज बचाइदिने भूमिका गरेकोमा डा. महतलाई मन–मनले भए पनि धन्यवाद दिनैपर्छ । किनकि भ्रमण सकिने अन्तिम दिन भए पनि दश–पन्ध्र मिनेटको दर्शनभेट गराएर वैकुण्ठको बाटो देखाइदिएका छन् । यसो हुनुमा विदेश मन्त्रालयको कूटनस्तिक अक्षमताभन्दा पनि दाहालकै ढुलमुले चरित्रको परिणाम हो भन्दा फरक नपर्ला । मान या नमान तँ मेरो यजमानरूपी मिडियाको चाइना अलाप र चीनको वास्तविक क्रियाकलापले एकपटक फेरि १९६५ ताकाको नेपाली भ्रमण मण्डललाई माओले सुझाएको सुदृढ नेपाल–भारत सम्बन्धको विषयलाई पुनर्ताजगी गराइदिएको छ । ‘टाढाको देउता करेसाको भूत’ भन्ने उखानले पनि यसैलाई चरितार्थ गरेको छ ।

असहज परिस्थितिको अव्यावहारिक मायाजालबाट मुक्त भएर सहज स्थितिको व्यावहारिक अनिकाल टार्नतर्फ हामी उन्मुख हुनुपर्छ । माथिल्लो असहज परिस्थितिलाई पनि सर्वथा सहज तुल्याउँदै जाने भविष्यमा वैकल्पिक व्यवहारलाई पनि तुलनात्मक पार्नका लागि थप सहज बन्न सकोस् । त्यसैले अबको कूटनीति र विदेशनीतिले छिमेकी मित्रशक्तिप्रति समतामूूलक सम्बन्ध कायम गर्नका लागि आफू, आफन्त र दलगत व्यवहारबाट माथि उठेर देश जनता र विश्वसनीयतालाई केन्द्रमा राखेर गरिने कूटनीतिक व्यवहारले मात्र विगतको अविश्वसनीयतालाई चिर्न सक्छ । अविश्वासको परिणाम हमेसा अक्षमतातर्फ उन्मुख हुन्छ भने विश्वासको परिणाम ढिलै भए पनि सक्षमताको गोरेटोतर्फ अघि बढ्छ ।

त्यसैले सक्षम, सहज र दीर्घकालीन कूटनीतिक अभ्यासको जरुरत देखिन्छ । मुलुकको विकास कसैले आएर गरिदिने विषय होइन, यो स्वयम्को प्रतिबद्धतामा मात्र सम्भव छ । मित्रदेशले त सहज वातावरण मात्र बनाइदिने हो । छिमेकीको आस मात्रले न रेल गुड्छ न कलकारखाना चल्छ । अहिलेको चर्चित प्रसङ्ग वान बेल्ट वान रोडको कन्सेप्टले नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र बन्छ भन्ने भ्रम पनि यही नै हो । यो त विकसित देशले व्यापारिक सञ्जाल विकास गर्न तयार पारेको खाका मात्र हो । देश र जनतालाई सक्षम र समृद्ध तुल्याउँदै लैजानका लागि असल छिमेकीप्रति सम्मानपूर्ण व्यवहार गर्ने र विकासको अवधारणाको विकास गर्नका लागि समेत विश्वसनीयताको आवश्यकता पर्दछ । विश्वास गुमेपछि अन्य केही बाँकी रहन्न । राजनीतिकर्मीलाई अन्तिम सुझाव– भ्रमण त चाहे राडी–काम्लोको ब्यापार होस् चाहे नुन–तिहुनको, सबै गर्दै आएकै हो । आगामी कूटनीतिक, राजनीतिक वा औपचारीक जेसुकै भ्रमण होस् राडी–काम्लो नुन–तिहुनको व्यापार र मानसरोवर तीर्थयात्राजस्तो मात्र नबनोस् । अस्तु ।
(लेखक आर्यावर्त (भारतवर्ष) युवा समाज नेपालका अध्यक्ष हुन् ।)