कामको बोझ कि सशक्तीकरण ?

कामको बोझ कि सशक्तीकरण ?


babita basnet 15

■ बबिता बस्नेत

काम कहिल्यै ठूलो–सानो हँुदैन । ठूलो–सानो त हाम्रो सोच हो, त्यसैले जो जहाँ छौँ श्रम बेचौँ र आफ्नो हात माथि पारौँ । हात माथि भएपछि शिर आफैँ ठाडो हुन्छ ।

‘हामी सुखी कि हाम्रा आमा, हजुरआमाहरू सुखी ?’ धेरैजसो कामकाजी महिलाको मनमा आउने प्रश्न हो यो । आफ्नै कमाइमा बाँच्ने महिला आर्थिक रूपले जति सशक्त छन्, दोहोरो–तेहेरो कामको बोझको भुक्तमान पनि त्यत्तिकै भोगिरहेका छन् । हजुरआमा, आमाहरूले घरपरिवार रिझाए पुग्थ्यो, अहिलेको पुस्ताले पाइलैपिच्छे आफूलाई प्रमाणित गर्दै अघि बढ्नुपरेको छ । पुरुष सदस्यहरूले घरको काममा हात नबढाइदिँदा कामकाजी महिलाले घरको सबै काम सकेर आफ्नो व्यावसायिक काम धान्नुपर्ने अवस्था छ । सडकमा गिटी कुटेर गुजारा गर्ने महिला हुन् या डाक्टर, वकिल, पत्रकार या उद्योगमा काम गर्ने मजदुर, घरभित्र र बाहिरको कामको बोझले यसरी थिचिएका छन् कि आफूलाई फर्किएर हेर्ने फुर्सद पनि छैन । कामकाजी महिलाले काम मात्र होइन, व्यवहार पनि त्यत्तिकै धानिरहेका छन् । बच्चाहरूको रेखदेख, पढाइखर्च, आफन्त र नातेदारहरू विवाह, ब्रतबन्धलगायतका सानातिनाजस्ता लाग्ने, तर महत्वपूर्ण व्यवहारहरू । समयको अभावले यस प्रकारका व्यवहार धान्न नसक्दाका छेड्खानी र ग्लानि । घर र बाहिर दुवैतिर बाँडिँदा कहिले घर घरजस्तो नहुने, कार्यालयमा व्यावसायिक हुन गाह्रो हुने अनेक परिस्थितिबाट कामकाजी महिला गुज्रिरहेका छन् । झट्ट हेर्दा चटक्क परेर घरबाहिर निस्कने, दिनभरि बाहिरै हुने र साँझ घर फर्कने महिला सुखीझैँ देखिए पनि सधैँको कामको बोझले प्रायः चिडचिडापनमै भइरहेका हुन्छन् । महिला सशक्तीकरणको विश्वव्यापी दृश्यभित्र कामकाजी महिलाका अनेक दुःख लुकेका छन् । यस अर्थमा महिला सशक्तीकरणको अर्को नाम महिलाका लागि कामको थप बोझझैँ भएको छ । घरको काममा बाँडफाँड हुँदो हो त यो बोझबाट महिलाले आधा मुक्ति पाउने थिए जसका कारण व्यावसायिक हुनका लागि महिलालाई थप ऊर्जा मिल्ने थियो भन्न सकिन्छ ।

बदलिँदो विश्व परिवेशमा महिलाको काम र आर्थिक सशक्तीकरणमा केन्द्रित भएर महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग –कमिसन अन दी स्टेटस अफ विमेन, सीएसडब्लू) को ६१औँ सत्र सकिएको छ । महिलाको आर्थिक सशक्तीकरण उनीहरूले गर्ने काम र कमाउने पैसासँग जोडिएको छ । जसले जे भने पनि हातमा पैसा नभई सशक्तीकरण हुँदैन । पैसा या आर्थिक अवस्था भनेको आत्मविश्वास पनि हो । महिला हुन् या पुरुष आफूसँग पैसा हुँदा र नहुँदाको हाउभाउ, बोलीचाली र फुर्तीफार्ती नै फरक हुन्छ । आफूसँग केही हुँदा र नहुँदाबीचको फरक आफूमा मात्र सीमित हुँदैन, अन्य मानिसले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । हाम्रो समाजमा सम्पत्ति हुने मानिसलाई हेर्ने दृष्टिकोण र नहुने मानिसलाई हेर्ने दृष्टिकोण कस्तो छ हामी सबैले देखेको, भोगेकै कुरा हो । अचम्म त के भने हामी कहाँ मात्र होइन विश्वमै यस्तो दृष्टिकोण हावी रहेछ । महिलाको आर्थिक सशक्तीकरणसँग सम्बन्धित रहेर न्युयोर्कमा गत दुई हप्ताभरि आयोजना गरिएका कार्यक्रमहरूमा सहभागीहरूले जे–जस्ता अनुभवहरू बाँडे ती हामीसँग मिल्दाजुल्दा थिए । सशक्तीकरण र व्यावसायिकतासँग आर्थिक कुराको गहिरो सम्बन्ध छ । पुरुषलाई पनि व्यावसायिक हुन त्यति सहज छैन, पैसा कमाउन त्यत्तिकै गाह्रो छ, तर उनीहरूलाई महिलालाई झैँ कामको अतिरिक्त बोझ छैन ।

विश्वमा धेरै महिला अनौपचारिक काममा संलग्न छन् । उनीहरूको कामको राष्ट्रिय आयमा गणना नहुनु अर्को दुःखदायी कुरा हो । किसान महिलाको सङ्ख्या ठूलो छ, तर किसानको प्रसङ्गमा ट्याक्टर चलाउँदै या हलो जोत्दै गरेको पुरुषको मात्रै छवि अगाडि सारिँदा महिलाले कृषिमा गरेको काम र योगदान पूरै छायामा परेझैँ लाग्छ । सधैँ व्यस्त हुने, तर पैसा नआउने काममा महिलाको संलग्नता बढी छ । व्यावसायिक महिलाको दोहोरो कामको बोझ र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको कामको सम्मान नहुनु महिलाको आर्थिक सशक्तीकरणका चुनौती हुन् । यसपटकको सीएसडब्लूमा विभिन्न मुलुकले आफ्ना देशमा भएका महिलाको आर्थिक सशक्तीकरणका प्रयास, उपलब्धि र चुनौतीहरूका बारेमा प्रस्तुति गरे । नेपालले गरेको प्रयासका बारेमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिलाको नेतृत्वका सवालमा नेपाल अगाडि रहेको तथा आर्थिक सशक्तीकरणका लागि विभिन्न प्रयास जारी रहेको बताउनुभएको थियो । सीएसडब्लूमा महिलाका विभिन्न मुद्दामा केन्द्रित रहेर प्रत्येक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबीच पुनरावलोकन हुने गरेको छ । चौथो विश्व महिला सम्मेलनको २५ वर्ष पुगेको अवसरमा सन् २०२० मा बृहत् पुनरावलोकन हुनेछ । सोही पुनरावलोकनमा पाँचौँ विश्व महिला सम्मेलन कहिले र कहाँ गर्ने भन्नेबारेमा निक्र्योल गर्ने सम्भावना छ ।

सीएसडब्लूले लैङ्गिक उत्तरदायी नीति कानुनहरू निर्माण गर्न तथा महिलाले काम गर्ने अधिकार र काम गर्ने स्थानमा महिलाको अधिकार सुरक्षित गर्नका लागि सरकारलाई निर्देशन दिइएको छ । आर्थिक सशक्तीकरणको सवालमा पुरुष तथा किशोरहरूको सहभागितालाई पनि विशेष जोड दिइएको छ । महिलाले गरेको कामको सम्मानका लागि पुरुषको साथका विषयमा भएका विभिन्न ‘साइड इभेन्ट’हरूमा अब पुरुषत्वको परिभाषामा परिवर्तन हुनुपर्ने कुरामा जोड दिइएको थियो । महिला न्यायाधीशहरूको संस्थाले आयोजना गरेको कार्यक्रममा लैङ्गिक न्यायका विषयमा रोचक छलफल हुँदा नेपाल केन्द्रबिन्दुमै थियो भने पनि हुन्छ । उक्त फोरममा बोल्नका लागि न्यायाधीश सपना प्रधान मल्ललाई निम्त्याएर विश्वले नेपालबाट कसरी सिक्ने ? भन्ने प्रश्न गरिएको थियो । नेतृत्वको सवालमा अहिले विभिन्न मुलुकले नेपाललाई उदाहरणका रूपमा लिने गरेका छन् । यो सम्मानलाई जोगाउने काम नेतृत्वमा रहेका महिलाको हातमा छ । उहाँहरूले गर्ने निर्णयमा तटस्थता र मुलुकको हितले आगामी पुस्ताको भविष्य निर्धारण गर्नेछ ।

महिलाको आर्थिक सशक्तीकरणको सवालमा वैदशिक रोजगारी महत्वपूर्ण पाटो हो । वैदेशिक रोजगारमा गएका र जान चाहने महिलाको सुरक्षा चुनौतीका रूपमा रहेको मन्त्री कुमार खड्काको मन्तव्यमा परेको छ । वैदेशिक रोजगारीमा रहेका महिलाका समस्या र चुनौतीबारे भएका कार्यक्रममा उनीहरूले अर्काको मुलुकमा भोग्नुपरेका अनेक चुनौतीबारे छलफल भए । न्युयोर्क सहरका आप्रवासी महिलाले आयोजना गरेको कार्यक्रममा महिलाका कुरा सुन्दा खाडीमा भन्दा अमेरिकामा पो झन् गाह्रो हो कि जस्तो लाग्यो । अमेरिकामा विभिन्न मुलुकबाट पढे–लेखेका, नाम चलेका मानिस पुग्ने र त्यहाँ तल्लोस्तरको काम गर्दाको ह्युमिलिएसन कल्पनाभन्दा बाहिरको हुने अनुभवीहरूले बताए । अशिक्षित हुँदाका समस्या खाडी मुलुकमा महिलाले भोगिरहेका छन्, शिक्षित र सचेत हुनुको दुःखमा अमेरिकाका आप्रवासी छन् । जे होस्, सशक्तीकरणको प्रक्रिया त्यति सहज छैन । आर्थिक सशक्तीकरणको अर्को नाम कामको बोझझैँ भए पनि यसले छुट्टै प्रकारको सन्तुष्टि र आत्मसम्मानको भावना भने जगाउँछ । आफ्नो कमाइ हुनुको अर्थ स्वतन्त्रता र आत्मसम्मानसँग जोडिएको छ । काम कहिल्यै ठूलो–सानो हँुदैन । ठूलो–सानो त हाम्रो सोच हो, त्यसैले जो जहाँ छौँ श्रम बेचौँ र आफ्नो हात माथि पारौँ । हात माथि भएपछि शिर आफैँ ठाडो हुन्छ ।