चरम यातनामा वीरगञ्ज कारागारका कैदी

चरम यातनामा वीरगञ्ज कारागारका कैदी


वीरगञ्ज कारागार

वीरगञ्ज कारागारका चौकीदार दुर्गा पटेल र उनका सहकर्मी विदेशी साहले सो कारागारका कैदीलाई चरम यातना दिइरहेका खुलासा भएको छ । चौकीदार पटेल र साहको ज्यादतिविरुद्ध आवाज उठाउने कैदीलाई गोलघरमा राखी चरम यातना दिने गरेको हालै कैदीजीवन पूरा गरी जेलबाट रिहा भएका एक पूर्वकैदीले बताए ।

नेपाल सरकारले प्रत्येक वर्ष जाडो याममा डसना र सिरक उपलब्ध गराउन ३२ देखि ३५ सयसम्म प्रत्येक कैदीलाई दिने गरेको भए पनि चौकीदार र जेलरको मिलोमतोमा कैदीलाई जम्मा १५ सय दिई अन्य रकम आफँै लिने गरेका छन् । गत वर्षको चौकीदारले सिरक र डसनाको रकम प्रत्येक कैदीलाई रु. २५ सय दिएको ती कैदीले दाबी गरे । यस्तै, नेपाल सरकारले कैदीजीवन बिताइरहेका हरेक कैदीलाई हरेक महिनामा ३० किलो चामल दिने गरे पनि वीरगञ्ज कारागारका चौकीदार पटेल र साहले प्रत्येक कैदीलाई २० किलो मात्र चामल उपलब्ध गराउने गरेका छन् । यसरी ठगेको चामल उनीहरूले कारागारबाहिरका पसलमा बेच्ने गरेका छन् । वीरगञ्ज कारागारमा हरियो तरकारी प्रतिकिलो १ सय ८०, आलु र प्याज १ सय २० रुपैयाँ किलो, चिनी प्रतिकेजी दुई सय, मुसुरी दाल प्रतिकेजी ४ सय ५०, मटर प्रतिकेजी तीन सय, चना प्रतिकेजी तीन सयलगायतका खाद्यसामग्री बिक्री गर्ने गरिएको छ । सरकारले दैनिक ज्यालादारीस्वरूप प्रत्येक कैदीलाई ४५ रुपैयाँ दिने गरे पनि कारागारका चौकीदार र प्रशासन प्रमुखले कैदीहरूले पाउने गरेको ४५ रुपैया जम्मा गरी बाहिरबाट हरियो तरकारी खरिद गरी कारागारभित्र महँगोमा बेच्ने गरेको ती कैदीले बताए । वीरगञ्ज कारागारमा लगभग ११ सय कैदी छन् भने तीमध्ये दैनिक पाँच सयभन्दा बढीले आफन्तजनसँग टेलिफोन सम्पर्क गर्छन् । यसरी फोन गर्दा प्रतिकल रु. ५ प्रतिमिनेटका दरले असुल्ने गरिएको छ । यस हिसाबले दिनहुँ टेलिफोनबाट मात्रै ५० देखि ८० हजार रुपैयाँ असुलेर कैदी विदेशी साहले लिने गरेका छन् । फोनबाट दैनिक भएको आम्दानीलाई कैदीहरूको सुविधाका लागि व्यवस्था गर्ने नियम भए पनि चौकीदार साहले आफ्नो परिवारजनहरूलाई प्रत्येक हप्ता रु. २ लाख पठाउने गरेको बताइन्छ ।

लागूऔषध मुद्दामा प्रकाउ परेका मोहित हलानलाई अदालतले वीरगञ्ज कारागारमा जेल चलान गरेपछि चौकीदार पटेलले गोलघरका नाइके विजय साहलाई निर्देशन दिई २० दिनसम्म मोहितलाई गोलघरमा राख्न लगाएका थिए । मोहितबाट चार लाख ५० हजार रुपैयाँ असुलेपछि मात्र उनलाई गोलघरबाट बाहिर निकालिएको सन्दर्भ यतिबेला चर्चामा छ । यसरी वीरगञ्ज कारागारमा ज्यादतिपूर्ण व्यवहार चल्ने गरेको छ भने चौकीदारको विपक्षमा बोल्ने कैदीहरूलाई चौकीदार पटेल र साहले गोलघरमा राख्ने गरेको वा अर्काे कैदीबाट कुटपिट गराएर यातना दिने गरेका छन् । कारागारमा भइरहेको चरम यातनाको विरोध गर्दा कैदी राजन बानियाँमाथि पन्नलाल पण्डितलाई उचालेर चक्कु प्रहारसमेत गराइएको पीडितका आफन्तजनले पत्रकार सम्मेलन गरी बताएका थिए । बानियाँको उपचारको क्रममा निधन भइसकेको छ । प्रशासनका तलदेखि माथिसम्मका हाकिमहरूलाई मोटो रकम दिएको हुनाले आफ्नो सरुवा कसैले गर्ने नसक्ने चौकीदार पटेल र साहले कैदीहरूसँग हाकाहाकी बताउने गरेका छन् । चौकीदार दुर्गा पटेल लागूऔषध र विदेशी साह अपहरण मुद्दामा अदालतले दोषी ठहर गरेका पात्र हुन् ।