गोदावरीमा हुँदै छ यस्तो महोत्सव

गोदावरीमा हुँदै छ यस्तो महोत्सव


Samartha 2

ललितपुरको गोदावरीस्थित प्रसिद्ध गोदावरी कुण्ड परिसरमा ‘अन्तर्राष्ट्रिय श्री स्वामी समर्थ महोत्सव’ आयोजना हुने भएको छ । वर्तमान समयमा व्यक्ति, परिवार र समाजले भोगिरहेका मानसिक एवम् भौतिक समस्यासहित आध्यात्मिक जिज्ञासाको समाधानका लागि भन्दै मानव कल्याण तथा समाज विकास कार्यक्रम नामक अभियानका अभियन्ताद्वारा महोत्सव आयोजना हुन लागेको हो । यही चैत ३० देखि आगामी वैशाख २ सम्म (चैत ३०, ३१ तथा वैशाख १ र २) आयोजना हुने अन्तर्राष्ट्रियस्तरको उक्त महोत्सव संयोजनको जिम्मेवारी भेट्रान समाज नेपालका अध्यक्षसमेत रहेका नेपाली सेनाका पूर्वमहासेनानी अभिराज आचार्यलाई दिइएको छ ।

संयोजक आचार्यका अनुसार महोत्सवअन्तर्गत स्वास्थ्य परीक्षण र आयुर्वेदिक उपचार, वास्तु तथा ज्योतिष परामर्श, संस्कार र स्वरोजगारसम्बन्धी परामर्श, जैविक कृषि, गाईपालनसम्बन्धी परामर्श, युवा, विद्यार्थी एवम् शिक्षक वर्गका लागि परामर्श, दुव्र्यसन, मानसिक एवम् पारिवारिक समस्याको समाधान, श्री गणेश यज्ञ, श्री चण्डी यज्ञ, श्री रुद्री यज्ञ, श्री स्वामी समर्थ यज्ञ एवम् श्री नितिन भाउ मोरेको आध्यात्मिक प्रवचन कार्यक्रम रहेका छन् । जाति, धर्म, लिङ्ग, वर्ण, क्षेत्रको विभेद नराखी सर्वधर्म समभावका साथ सञ्चालन हुने उक्त महोत्सवबाट व्यक्तिको भौतिक, मानसिक तथा शारीरिक स्वास्थ्य एवम् आध्यात्मिक उन्नति र कल्याण हुनुका साथै नेपाल र भारतबीच जनस्तरको सम्बन्ध विकासमा सहयोगी हुने दाबी गरिएको छ ।
Samartha
राजधानीमा धार्मिक महोत्सव हुने
मुलुकका विभिन्न भागमा अनेक उत्सव–महोत्सव आयोजना भइरहेका छन् । यसै सिलसिलामा काठमाडौं उपत्यकामा रहेका विभिन्न शक्तिपीठलगायत धार्मिक आस्थाका धरोहरहरूलाई एकै स्थानमा स्थापना गरी धार्मिक महोत्सव आयोजना गरिने भएको छ । श्रीनाथ शक्तिधामको आयोजनामा आगामी वैशाख दोस्रो साता सञ्चालन गर्न लागिएको उक्त धार्मिक महोत्सवअन्तर्गत विभिन्न धार्मिक योजनासमेत सञ्चालन गरिने जानकारी दिइएको छ ।