निर्मल पुरीको ‘जीवन एक भोगाइ अनेक’

निर्मल पुरीको ‘जीवन एक भोगाइ अनेक’


Nirmal Puri

युवा गजलकार निर्मल पुरी ‘भोगी’ले बजारमा ल्याएको ‘जीवन एक भोगाइ अनेक’ गजलसङ्ग्रहलाई गजलका पारखीहरूले प्रशंसनीय मानेका छन् । मायाप्रीति, देशभक्ति र भावनाका अनेक तरङ्ग समेटिएका त्रिहत्तर गजलको उक्त सङ्ग्रहमा गजलकारले आफूलाई राम्ररी प्रस्तुत गर्ने प्रयास गरेका छन् । गजल विधामै किन लागेको भन्ने प्रश्नमा भोगीको भनाइ छ, ‘मलाई गद्यभन्दा पद्य शैली मनपर्छ, त्यसमा पनि गजलबाट म प्रभावित छु । गीत पनि गाइरहन्छु, पहिले हस्पिटालिटी सर्भिसमा थिए, अहिले जुनकीरी रोधी क्लबमा गीत गाउने गर्छु । भावना पोख्नचाहिँ गजल विधा नै मनपर्ने भएकोले मैले गजल लेख्ने गरेको हुँ ।’ नेपालमा गजलप्रतिको आकर्षणबारे स्पष्ट गर्दै निर्मल भन्छन्, ‘नेपालमा गजलकार धेरै छन् र खेलमा क्रिकेटप्रति भएजस्तै साहित्यमा गजलप्रतिको रुचि धेरै देखिन्छ ।’ नेपालमा आफूलाई सबैभन्दा बढी मनपर्ने गजलकार ज्ञानुवाकर पौडेल र गजलचाहिँ ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भन्ने बोलको भएको बताउने गजलकार निर्मल भोगीलाई आफूले सिर्जना गरेको गजलमध्ये कुनचाहिँ मनपर्छ भन्ने प्रश्न राख्दा उनले भने, ‘गजलसङ्ग्रहमा ‘म हार्छु बरु’ शीर्षकअन्तर्गतको मनपर्छ ।’ शब्दहरू छन्, ‘म हार्छु तिम्रो यहाँ जित हुन्छ भने, म शत्रु पराई तिम्रो मीत हुन्छ भने ।’

गजलका अन्य हरफरहरू छन्– ‘भो नामै लिन्न म मुटु जलाउनेको, जीवनमा अनायासै ताना चलाउनेको ।’

‘हाम्रो माया साउने भेलसरि भो
नाटक अनि रङ्गमञ्चको खेलसरि भो’
‘तिमीलाई माया गरी दिल दुःखाएँ व्यर्थ मैले
रुँदारुँदै आँसु सबै सुकाएँ व्यर्थ मैले’