नजन्मिएको जन्मदिन

नजन्मिएको जन्मदिन


Rajendra


– सागर

मैले कहिल्यै जन्मदिन मनाइनँ,
किनकि म जन्मनुको कुनै अर्थै रहेन ।
मैले कहिल्यै कर्मदिन पनि मनाइनँ,
किनकि मेरो देश कर्मभूमि नै बन्न सकेन ।
मुलुकमा धेरै जन्मिए जन्मन त
कर्मका लागि अन्तैतिर खनिन बाध्य भएँ ।
मैले कहिल्यै मर्मदिन पनि मनाइनँ,
किनकि प्रकृति र पुरुषको मर्र्म नै बुझ्न सकिनँ ।
मैले कहिल्यै शर्मदिन पनि मनाइनँ,
किनकि मलाई संस्कार नै सिकाइएन ।
मैले कहिल्यै धर्मदिन मनाइनँ,
धेरै धर्मभिरूहरू झोलामा धर्म बेच्दथे
ती धर्महरू मैले खरिद गर्नै सकिनँ ।
मैले कहिल्यै कसैलाई नफरत गरिनँ,
त्यसैले त म पद र प्रतिष्ठामा दह्रिनँ ।
मैले कहिल्यै धनले गोजी भरिनँ,
त्यसैले त वैतरणी नदी पनि तरिनँ,
नदीवारि नै मेरो सानो छाप्रो छ,
नोटको पाप्रो पण्डालाई चाहिएको छ ।
किनकि नदी तार्ने गाईको व्यापारी उही छ ।
पुच्छर समात्न पनि पैसै चाहिन्छ
नत्र कहाँ पारि जान पाइन्छ ?
पार लागेपछि त के–के पाइन्छ–पाइन्छ !
अनि पो मेवा–मिष्ठान्न खाइन्छ ।
रकेट पुष्पक प्राडो चढाइन्छ,
यसरी जिन्दगीको कखरा पढाइन्छ ।
फूल होइन देवतालाई नोट चढाइन्छ ।
चुनावमा नेताले जनतालाई भोट पढाइन्छ ।
यसरी पो जिन्दगीको मोल बढाइन्छ ।
त्यसैले मैले कहिल्यै जन्मदिन मनाइनँ ।
देवतालाई नोट र नेतालाई भोट चढाइनँ ।
अनमोल शिर कसैका पाउमा चढाइनँ ।
लाखौँको वचन रद्दीको टोकरीमा सडाइनँ
त्यसैले मैले कहिल्यै जन्मदिन मनाइनँ ।