राखीले प्याच्च बोलेपछि…

राखीले प्याच्च बोलेपछि…


Rakhi 2

बोल्न पाएँ भन्दैमा प्याच्च बोल्न हुँदैन भन्छन् अनुभवीहरू । तर, यो उपदेश भारतीय चर्चित मोडल तथा अभिनेत्री राखी सावन्तले कहिल्यै अनुशरण गर्न सकिनन् । फलतः बेलाबेला उनी आफ्नो अभिव्यक्तिकै कारण ठूलै समस्या झेल्न विवश हुन्छिन् । यसपटक कुनै सहकर्मी या कला क्षेत्रका पात्रलाई गाली गरेर नभई रामायणका लेखक ऐतिहासिक पात्र सन्त वाल्मीकिमाथि आपत्तिजनक टिप्पणी गर्दा विपद्मा फस्न पुगेकी हुन् । वाल्मीकिमाथि नियतवश गालीगलौज वर्षाएकी पनि होइनन् राखीले, एक साथीप्रति सहानुभूति जताउने क्रममा उनको मुखबाट वाल्मीकिको विगतबारे एउटा शब्द फुत्किएको थियो । भएको के थियो भने पछिल्लो चरणमा लोकप्रियता कमाइरहेका भारतीय गायक मिका सिंहमाथि एक मोडल युवतीमाथि छेडछाड गरेको आरोप लागेको थियो । उक्त आरोप अदालतसम्मै पुग्यो, तर मिकाले सफाइ पाए । यही खुसीमा राखीले मिका अब पहिलेको वाल्मीकिजस्तो नरहेको भन्दै उदाहरण दिएकी थिइन् । पहिले डाँकुको रूपमा कुख्यात रहेका वाल्मीकि पछि सन्त ऋषि बनेको सुनेकै आधारमा राखीले मिकालाई वाल्मीकिसँग दाँजेकी थिइन् । तर, वाल्मीकि समुदायका मानिस राखीको उक्त अभिव्यक्तिबाट आक्रोशित बने र उनीविरुद्ध अदालतकै ढोका ढकढक्याउन पुगे । लुधियाना (भारत)को अदालतले राखीलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश दिएको छ भने उनलाई अदालतमा उपस्थित गराउन लुधियाना प्रहरीको एक समूह मुम्बईमा राखीको खोजी गरिरहेको बताइन्छ ।
rakhi-and-mika-kiss