राजदूतको उत्ताउलो व्यवहारले चिढ्यायो प्रधानमन्त्रीलाई

राजदूतको उत्ताउलो व्यवहारले चिढ्यायो प्रधानमन्त्रीलाई


Lila-Prachanda

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट एक साताअघि नै फर्किसक्नुभएको छ, तर चीनमा रहँदा आफैँले नियुक्त गरेका राजदूत लीलामणि पौड्यालको अस्वाभाविक व्यवहार भने उहाँले अझैसम्म भुल्न नसक्नुभएको बुझिएको छ । बोआओ सम्मेलनमा भाग लिन गत १० गते चीन प्रस्थान गर्नुभएका प्रचण्डले उक्त सम्मेलनमा सहभागिता जनाइसकेपछि चैत १२ गते बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रममा भाग लिनुभएको थियो । चैत १२ गते साँझ बेइजिङमा नेपाली राजदूतावासद्वारा आयोजित रात्रिभोजमा सरिक हुनुभएका प्रधानमन्त्री राजदूत पौड्यालको चञ्चलतापूर्ण व्यवहार देखेर स्तब्ध हुनुभएको थियो । दूतावासद्वारा चिनियाँ बुद्धिजीवी र व्यवसायीलाई भेला गरी आयोजना गरिएको समारोहमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको थियो । बेइजिङको दुई दिन बसाइमा त्यहाँ आयोजित विभिन्न समारोहलाई सम्बोधन गर्ने क्रममा राजदूत लीलामणि पौड्याल घरि न घरि चिट लेखेर प्रधानमन्त्रीसम्म पु¥याउँथे र समारोहका सहभागीहरूलाई ‘आफूले सिकाएबमोजिम प्रधानमन्त्री बोलिरहेको’ इम्पे्रसन दिने गर्दथे ।

एउटा मन्तव्यका क्रममा पटकपटक चिट दिने गरेपछि प्रधानमन्त्री प्रचण्ड पौडेलप्रति क्रूद्ध हुनुभएको र त्यसरी दिइएका चिटहरू पढ्दै नपढी पन्छाउने गर्नुभएको प्रत्यक्षदर्शीहरूले घटना र विचारलाई बताएका छन् । समारोहमा घरि न घरि उठिरहने, केही अचानक सम्झिएर लेखेजस्तो गर्ने, कुनै पनि कार्यक्रमको वास्तविक हिरो आफैँ भएझैँ गरी उत्ताउलो ढङ्गले प्रस्तुत हुने गरेपछि प्रधानमन्त्री प्रचण्डले ‘पौड्याल राजदूत पदका निमित अनुपयुक्त रहेछन्’ भनी निकटवर्तीहरू माझ टिप्पणी गर्नुभएको सम्बद्ध सूत्रले जनाएको छ । सूत्रका अनुसार प्रधानमन्त्रीले ‘यस्तो व्यक्तिलाई राजदूत बनाएर ठूलो गल्ती गरिएछ’ सम्म भन्नुभएको थियो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा कनिष्ट हुँदाहुँदै पनि भट्टराईकै विशेष जोडबलमा मुख्यसचिव बनाइएका लीलामणि पौड्याल गम्भीर प्रकृतिका काम गरेरभन्दा सस्तो प्रचार हुने क्रियाकलाप गरेर चर्चामा आइरहन चाहने व्यक्तिका रूपमा चिनिन्छन् । उनी मुख्यसचिव रहँदा आफ्नो पदीय जिम्मेवारी विशिष्ट ढङ्गले निर्वाह गरेर चर्चामा आउन नसकेपछि सार्वजनिक बसमा यात्रा गरेको र बागमती नदीमा नुहाएको तस्बिर खिचाएर चर्चा बटुलेका थिए । मुख्यसचिवका रूपमा गर्ने कामले भन्दा बागमतीवाला कामले ज्यादा चर्चा पाउने देखिएपछि पौड्याल बागमती सफाइ अभियानमा विशेष किसिमले संलग्न हुन थालेका थिए । कुनै बेला ल्हासास्थित महावाणिज्य दूतावासमा रहेर काम गरेको आधारमा पौड्याललाई कतिपयले चीननिकट व्यक्तिका रूपमा लिने गर्दछन् र प्रचण्ड सरकारले उनलाई चीनको राजदूत बनाउनुको कारण पनि ‘चिनियाँनिकटता’ नै भएको बताइन्छ । तर, मुख्यसचिव नियुक्त हुने क्रममा भने पौड्याल राति–राति भारतीय राजदूतावास धाउने गरेको प्रत्यक्षदर्शीहरू अहिले पनि स्मरण गर्ने गर्दछन् ।

प्रधानमन्त्री प्रचण्ड लीलामणि पौड्याल कसैको निकट भएको या नभएको कारणले भन्दा पनि उनको अस्थिर, उत्ताउलो र चञ्चलतापूर्ण व्यवहारका कारण असन्तुष्ट बन्नुभएको हो । पौड्यालका प्रति जतिसुकै असन्तुष्टि भए पनि उहाँ तत्काल राजदूत बदल्ने पक्षमा भने नरहनुभएको बताइन्छ ।