विदेशमा पनि झगडै गर्छन् नेपाली !

विदेशमा पनि झगडै गर्छन् नेपाली !


NRN

लसएन्जलस/ गैरआवासीय नेपाली सङ्घ, अमेरिकाको आसन्न निर्वाचनसँगै मातृभूमि नेपालको राजनीतिले यहाँ रहेको नेपाली समुदाय विभाजित र विवादित बन्दै गएको छ । नेपाली काङ्ग्रेसनिकट जनसम्पर्क समितिको संस्थापन शेरबहादुर देउवा पक्षले सङ्घको आसन्न निर्वाचनका लागि टेक्सासनिवासी गौरी जोशीलाई अध्यक्ष पदमा अघि सारेलगत्तै रामचन्द्र पौडेलनिकट विद्रोही विष्णु सुवेदी समूहले वर्तमान अध्यक्ष केशव पौडेललाई पुनः अर्को कार्यकालका लागि अघि सारेपछि विवाद सतहमा आएको हो । जनसम्पर्क समिति अमेरिकाआबद्ध विष्णु सुवेदी र झापाका प्रमोद सिटौलाले गत साता सङ्घको क्षेत्रीय संयोजक सोनाम लामासहित टेक्सास पुगेर अध्यक्षका प्रत्याशी गौरी जोशीलाई ‘छलफल गर्नु छ’ भन्दै बोलाएर अध्यक्ष उठ्न नपाउने चेतावनीका साथ उम्मेदवारी त्यागेर पौडेललाई सघाउन दबाब दिएका थिए । अध्यक्षका प्रत्याशी जोशीलाई धम्क्याएलगत्तै सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्सँगको आबद्धतालाई लिएर गत मंगलबार पत्र जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्का तर्फबाट महासचिव बद्री केसीले जारी गरेको पत्रमा अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाद्वारा सम्प्रेषित विज्ञप्तिले उत्पन्न भ्रमलाई चिर्दै गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्सँगको आबद्धता र मान्यता २१ जनवरी २००६ देखि विधिवत् भएको बताएसँगै गौरी जोशीको अध्यक्षमा उम्मेदवारी सुनिश्चित भएको हो । गत साता अमेरिका क्षेत्रीय संयोजक लामाले एक विज्ञप्ति जारी गरेर गैरआवासीय नेपाली सङ्घको विधानको आफूअनुकूल व्याख्या गर्दै पत्र लेखेका थिए । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रमुख दाबेदार गौरी जोशीको उम्मेदवारीलाई रोक्न लामाले सो विज्ञप्ति जारी गरेका थिए ।

यता गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष केशव पौडेलले सदस्यता छानबिन समितिमा मनोनयन गरेका सदस्यहरू झापाका प्रमोद सिटौला र काङ्ग्रेस कार्यकर्ता सीपी पौडेललाई सङ्घको न्यायिक समितिले विधानविपरीत भन्दै अस्वीकार गरिदिएको छ । न्युयोर्कनिवासी सङ्घका साधारण सदस्य रविन बज्राचार्यले झापाका प्रमोद सिटौला र सीपी पौडेल नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सदस्य र उपसभापति रहेको प्रमाणसहित सङ्घको विधानको धारा १४६ विपरीत राजनीतिक दलका सदस्यलाई मनोनयन गरिएकोमा सङ्घको न्यायिक समितिमा गत साता हालेको उजुरीउपरको सुनुवाइमा न्यायिक समितिले उनीहरूलाई सदस्यता छानबिन समितिबाट गलहत्याएलगत्तै ‘फ्रड भोट’ वैध बनाउने योजना तुहिएपछि क्षेत्रीय संयोजक सोनाम लामाको सल्लाहमा अध्यक्ष पौडेल निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा तदर्थ समितिले साधारणसभा बोलाउन नमिल्ने विधानलाई कुल्चेर जनसम्पर्क समितिको वार्षिक साधारणसभा आयोजना गरिएकै दिन आगामी अप्रिल २३ तारिख कोलोराडोमा विशेष साधारणसभा बोलाउने तयारीमा जुटेका छन् ।

यसअघि रामचन्द्र पौडेलनिकट विद्रोही विष्णु सुवेदी समूहले जनसम्पर्क समिति अमेरिकाको भर्जिनियामा आयोजना गर्न लागिएको वार्षिक साधारणसभाकै तिथिमितिमा न्युयोर्कमा डेलिगेट्स भेला राखेर जनसम्पर्क समिति अमेरिका फुटाउने तयारीमा जुटेका थिए । तर, नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पत्र लेखी भर्जिनियामा आयोजना गर्न लागिएको वार्षिक साधारणसभालाई मान्यता दिएपछि विष्णु सुवेदी समूह कुनै हालतमा एनआरएन अमेरिकामा पुनः केशव पौडेललाई विजयी गराउने उद्देश्यका साथ बनाइएको फ्रड भोटरलाई वैधता दिन र जुडिसरी कमिटी खारेजीका लागि आगामी अप्रिल २३ तारिख कोलोराडोमा विशेष साधारणसभा बोलाउने तयारीमा जुटेका हुन् ।

स्मरण रहोस्, सङ्घको अमेरिका अध्यक्ष केशव पौडेल सोनाम लामाको इच्छाअनुसार विद्रोही विष्णु सुवेदी समूहसहित गत वर्ष सङ्घको केन्द्रीय निर्वाचनमा जनसम्पर्क समितिनिकट उम्मेदवार खगेन्द्र जीसीलाई हराउन लागिपरेपछि जनसम्पर्क समितिको संस्थापन पक्ष आफूनिकटको अध्यक्षका प्रत्याशी गौरी जोशी समूहलाई निर्वाचन जिताउने अभियानमा जुटेको हो ।