मर्जको बहानामा एस डेभलपमेन्ट बैंकमा ठूलो चलखेल

मर्जको बहानामा एस डेभलपमेन्ट बैंकमा ठूलो चलखेल


ACE

एस डेभलपमेन्ट बैंकभित्र मर्जरको नाममा ठूलो धाँधली र चलखेल भएको खुलासा भएको छ । उक्त बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सो बैंकको १०० कित्ता बराबर आफ्नो ४१ कित्ता हुने गरी एस डेभलेपमेन्ट बैंकको अस्तित्व नै समाप्त हुने गरी बेच्न लागेको बुझिन्छ । यही ०७३ चैत २५ गते शुक्रबार हुने साधारणसभामार्फत् मिलेमतोमा यसरी असमान मर्जर गर्न लागिएको सो बैंकका एक साधारण सदस्यले बताए । यो कुरा जानकारी पाएपछि उक्त बैंकका अर्का एक साधारण सदस्य भरतराज कोइरालाले अधिवक्ता दिव्यराज घिमिरेको सहयोगमा उच्च अदालत पाटनसमक्ष अन्तरिम आदेश वा सो कज जारी गर्न चैत २४ गते बिहिबार निवेदन दर्ता गराएका छन् ।

उच्च अदालत पाटनमा गरिएको उक्त निवेदनको दर्ता नम्बर ७६३ रहेको छ, जसको सुनुवाई भोली चैत २५ गते हुने बुझिएको छ । विगत र यस वर्ष भएका मर्जहरूमा घटीमा ६५ प्रतिशतदेखि सय प्रतिशतसम्म स्वाप रेसियो गरिएका विभिन्न उदाहरण हुँदाहुँदै र विभिन्न विकास बैंकमध्ये सम्पन्न मानिएको एस डेभलेपमेन्ट बैंक, जसले वर्षेनी १५–२० प्रतिशत बोनस खुवाउँदै आएकोमा यस्तो सम्पन्न कोटीको बैंक मर्जर इतिहासमै सबैभन्दा कम ४१ प्रतिशत हुने गरी मर्ज गर्नु भनेको ठाडै मिलेमतोमा हुन लागेको प्रष्टै छ । भोली हुने साधारणसभामा यस मामलामा ठूलै विरोध हुने भएको बुझिएको छ ।