
– विनोद नेपाल
गाउँमा चप्पल घिसार्नेहरू
राजधानी छिरेपछि
पजेरोमा हुइँकिने भए,
हेर्दाहेर्दै,
टाउको दुख्दा दिल्ली
र
पेट दुखे सिङ्गापुर जाने भइसके ।
छलछाम सिके,
महल ठड्याए ।
तर,
गाउँको अवस्था फेरिएन, उस्तै छ
व्यथा जहाँको त्यहीँ छ ।
भोकसँग सङ्घर्ष गर्नु,
बिरामीमा धामीझाँक्री खोज्नु
वा
काँधमा बोकिएर सदरमुकाम पुग्नुको विकल्प छैन ।
पञ्चायत गयो, विकास समिति आयो
भर्खरै ‘पालिका’मा परिणत भएको छ,
आशा छैन खोइ नामले मात्र केही गर्छ
किनकि, गाउँको व्यथा सधैँ यस्तै छ,
गाउँको कथा फेरिएको छैन, सधैँ उस्तै छ ।
प्रतिक्रिया