लन्डन– नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी)लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा सेमिनार आयोजना गरेको छ । लन्डनको सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहलमा आयोजना गरिएको भेटघाट तथा अन्तर्क्रियामा एक सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले हस्पिटालिटी शिक्षाका विषयमा अन्तरक्रिया गरेका थिए ।
सेमिनारमा एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसी, प्यासिफिक एकेडेमीका अन्तर्राष्ट्रिय परामर्श प्रमुख प्रेम सापकोटाले आफ्नो प्रस्तुति राख्दै हस्पिटालिटी शिक्षाका सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का यूरोप संयोजक कुल आचार्यले नेपालमा हस्पिटालिटीलाई केन्द्रित गरेर कलेज सञ्चालन गरेकोमा बधाई दिनुभयो ।
नेपाल पर्यटन बोर्डका बेलायतस्थित पर्यटन दूत पशुपति भण्डारीले नेपालमा पर्यटनको सम्भावना व्यापक रहेको उल्लेख गर्दै कलेजले पर्यटन क्षेत्रलाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनआरएनए यूरोपका पूर्व संयोजक चिरञ्जीवी ढकाल, कांग्रेस नेता विश्वआदर्श पण्डित, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री आर.के. त्रिपाठी, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री लगायतले पनि धारणा राख्नुभयो ।
बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्केपछिका विकल्पकोरुपमा जानकारी दिन सेमिनार आयोजना गरिएको एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसीले जानकारी दिनुभयो ।
अष्ट्रेलियामा लामो समयसम्म कार्यरत नेपालीहरुको समूहले काठमाडौंको मैतीदवीमा एकेडेमी सञ्चालन गर्नुभएको हो । प्यासेफिक अष्ट्रेलिययन अन्तराष्ट्रिय कुलिनरी सर्भिसबाट मान्यता प्राप्त संस्था हो ।
‘ऐंसेलुमा’ को म्युजिक भिडियो सार्वजनिक
कार्यक्रममा बेलायतमा सुटिङ गरिएको ‘ऐंसेलुमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रामकाजी राईको शब्द र संगीत रहेको गीतमा सुजाता काफ्लेले आवाज दिएकी छन् ।
प्रतिक्रिया