भाजपाद्वारा साहस, कर्म र कृतिको कदर

भाजपाद्वारा साहस, कर्म र कृतिको कदर


Rajendra Pathak 'Sagar'

■ राजेन्द्रप्रसाद पाठक

इतिहास शक्तिका साधकले लेखेको शास्त्र हो भन्ने कुरा पङ्क्तिकारले कतै नसुनेको पनि होइन । लेखिएका सम्पूर्ण कुरा इतिहाससम्मत भन्दै पढ्ने र सुन्ने बानी नभएकाहरू संसारमा विरलै होलान् । यस्तै गौरवमय इतिहास सम्पन्न गरेका सुपात्रहरूलाई ओझेलमा पारेर नलेखिएको इतिहास भन्दै कपोलकल्पित धारण अघि सारेर गौरवान्वित हुनेहरूले नेपालमा मात्रै होइन भारतलगायत अन्य अल्पविकसित र अविकसित देशहरूमा समेत दबदबा कायम गरिरहेको आजको अवस्थामा साँच्चिकै साहस, कर्म र कृतिका आधारमा उच्च शिखर चुम्न सफल व्यक्तित्वहरूको कुनै निश्चित देश दोसाँध, भाषा र भूगोल हुँदैन । उनीहरूको सम्मान खातिर विश्व जागरुक हुनुपर्दछ तब न आगामी पुस्ता सुकर्मको बाटो अपनाउन उद्यत् हुन्छ भन्ने निक्र्योल निकालेर भारतीय जनता पार्टी र त्यसका अनुयायीहरू लागिपरेका दृष्टान्त धेरै छन् ।

छिमेकी मित्रराष्ट्र भारतमा समेत नियतवश ओझेलमा पारिएका महान् सहिद, योद्धा, इतिहासकार, कलाकार, मानवअधिकारकर्मी, धार्मिक व्यक्तित्व, महापुरुष, राजनीतिज्ञ, योजनाकार, योगी, साधु, माहात्मा आदि जसले मानवोत्थानका खातिर जीवनपर्यन्त, सत्कर्म गरिरहे तिनीहरूको विविध क्षेत्रको कमाइलाई कुम्ल्याउने फतुरहरूको यथाशीघ्र पहिचान गरेर पजनी गर्ने कार्यमा दत्तचित्त रहेको इतिहासको नैतिक साहस भएको पार्टी र त्यसमा संलग्न महान् नेतागणप्रति हामी समग्र स्वाभिमानी नेपालीको तर्फबाट सलाम । हामीले हाम्रो देश बनाउनेलाई चिन्न सकेका रहेनछौँ । अरू कसैले चिनाउने कोसिस गरिरहेको छ । त्यसैले त स्वदेशतर्फ ढालिँदै गरेको नेपाल नामक देशदाताको सालिक भारतको राजधानी नयाँदिल्लीमा बनाउने उद्घोष गर्ने भाजपाका माननीय सांसद श्री तरुण विजय लागिपरेका छन् । आज आफ्नै देशबाट देश फुटेको छ । अरूहरू देश जुटाउनेहरूलाई सम्मान प्रकट गर्दै छन् । हुन त कुलनाशक र देशद्रोहीहरूले देशदातालाई किन चिन्नुप¥यो र ! ढाल्न र मिल्काउनका लागि केको मिहिनेत चाहियो र ? शोषक र सामन्तको पगरी गुथाइदिए भइहाल्यो ।
Prithivinarayan_shah

जसले यो देशको जनतालाई गुन लगायो सोही सेवक र संयोजकलाई आज देश र नेतृत्वले चिन्न नसक्नु भनेको भिल्लको भूमिमा मणि मिल्कनुसरह हो । त्यसैले मणिको महत्व जौहरीलाई मात्र थाहा हुँदोरहेछ । आज सम्पूर्ण जौहरीहरू मिलेर भारतरत्नको जोहो जगेर्ना गर्दै छन् । तिनै जौहरीहरू नेपालरत्नको समेत खोजी र सम्मान गर्ने क्रममा जुटेको महसुुस भएको देखिन्छ । अब फेरि भनौँ महान् कर्म गर्नेहरूको भाषा, भूगोल, देश र दोसाँध नहुने रहेछ । अहिले निकृष्टता उछालिएको अवस्थामा भारत भूमिमा जन्मिएको धर्तीपुत्रले हाम्रो देशदाताप्रति देखाएको अदवलाई हामीले फेरि एकपल्ट सलाम गर्नैपर्छ । विगतमा नेपाल सगरमाथाको देश हो, बुद्ध, भृकुटीको र जानकीको जन्मभूमि हो भनेर चिनिन्थ्यो, हाल आएर बिदैबिदाको देश भनेर चिनिने अवस्थामा देशदाताको नाममा एक दिन बिदा दिँदा देश बर्बादै हुने हो कि भन्ने अर्थ लाग्न थाल्यो । भलै बिदा कटौती गर्ने र देश चलायमान गराउने सर्तमा लेखकको समेत विमति होइन ।

तर, इतिहासमा महान् योगदान गर्नेहरूको नाममा कर्मक्षेत्रमै भए पनि स्मरण गर्ने÷गराउने पद्धतिले आगामी पुस्तालाई अभै योगदान गर्न उद्यत् गराउँछ भन्ने हाम्रो विश्वास हो यतिहासको युद्धमा वीर बलभद्रलाई उनकै विपक्षी अङ्ग्रेज कमान्डरले दिएको सलामी आफैँमा साहसिक कर्मका खातिर दिइएको परम् सम्मान थियो । आज हाम्रो देश र समाजमा त्यसको यथार्थ बुझ्न ढिला भइसकेको छ । साहस कर्म र कृतिको सम्मान गर्ने परम्पराबाट विश्व सुसंस्कृत भइसकेको छ । हामी भने निकृष्ट भाव–भङ्गीमा रमाइरहेका छौँ । समयोचित् कर्म र कृतिलाई मूल्याङ्कन गर्ने÷गराउने संस्कार नेपालभूमिमा कहिलेदेखि फर्कने हो आगामी पुस्ता यस्तो महान् कर्म र सोचको पर्खाइमा छ । मौजुदा कमाई र वंशका लागि गरिने आर्जनभन्दा महान् कर्म कृति अमूल्य हुन्छ अर्थसँग कर्मलाई तुलना नगरियोस् ।