माधवलाई रोक्न प्रतियोगिता नै स्थगित !

माधवलाई रोक्न प्रतियोगिता नै स्थगित !


Madhav-Nepal

अर्घाखाँचीमा यही चैत २८–३० मा आयोजना हुने भनी प्रचार गरिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अकस्मात् जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको निर्देशनमा स्थगित गरिएको सन्दर्भलाई आयोजक जिल्ला खेलकुद विकास समितिले ‘षड्यन्त्र’ भन्दै आपत्ति जनाएको छ । गत माघ २५ मा बसेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले चैत २८ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको थियो । समितिका संयोजक स्थानीय विकास अधिकारी प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले गरेको उक्त निर्णयबमोजिम प्रतियोगिता सञ्चालनको तयारी पूरा भएको थियो भने नेकपा एमालेका नेता माधवकुमार नेपाललाई प्रमुख अतिथिका रूपमा निम्त्याउने कामसमेत गरिएको थियो ।

तर, स्थानीय तहको निर्वाचन घोषणा गरिएको परिवेशमा कुनै दलविशेषका नेता बोलाएर प्रतियोगिताको उद्घाटन गराउने कार्य निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत हुने कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले स्थगित गरिदिएको हो । तर, आफूहरूसँग सोधपुछ र सल्लाह नै नगरी प्रतियोगिता स्थगित गरिएको भन्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले आपत्ति प्रकट गरे । रनिङ सिल्ड प्रतियोगिता असफल पार्न जिल्लाका विद्यालयलाई निर्देशन दिनेदेखि खेल रोक्न प्रशासनसमक्ष दुहाई मागेर जिल्ला शिक्षा कार्यालयले सन्देहपूर्ण भूमिका निर्वाह गरेको भुसालको आरोप छ । अगामी वैशाख १२ देखि १५ गतेसम्म क्षेत्रीयस्तरको र वैशाख १६ देखि १७ सम्म राष्ट्रियस्तरको खेल तय भइसकेकाले यो प्रतियोगिता जिल्लाका खेलाडीका लागि महत्वपूर्ण रहेको तर्क गर्दै उचित कारणबिना नै प्रतियोगितामा रोक लगाएर जिल्ला शिक्षा र प्रशासन कार्यालयले आफूहरूलाई चुनौती दिएको अध्यक्ष भुसालको कथन छ ।

पछिल्लो समय एमालेको जिल्ला नेताका रूपमा चर्चामा आएका भुसाल पूर्वप्रधानमन्त्री नेपालपक्षधर मानिन्छन् । तथापि, अर्घाखाँचीमा ओलीपक्षकै वर्चश्व रहेको ठानिन्छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा खेल प्रतियोगिता उद्घाटनको बहानामा माधव नेपाललाई निम्त्याएर भुसालले आफ्नो राजनीति कसिलो बनाउने चाल चलेको विश्लेषण भुसालविरोधी एमालेजनले गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा करिब दुई सय युवा स्वयम्सेवक तयार गरेको दाबीका साथ कार्यक्रमको जोडतोडले प्रचार गर्न सुरु गरेको दुई दिनमै खेल स्थगित गरिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

– मुक्तिनाथ भुसाल