राजसंस्था छैन र ?

राजसंस्था छैन र ?


babita basnet 15

■ बबिता बस्नेत

‘हाउ आर यु योर एक्सिलेन्सी ? थ्याङ्क्यु फर कमिङ !’ संवादबाट थाहा भयो उनी कुनै देशका राजदूत थिए । दुवै हातले हात समाउँदै उनले भने, ‘फाइन योर मेजेस्टी, प्लेजर मिटिङ यु, कङ्ग्राचुलेसन्स् !!’ जवाफमा पूर्व श्री ५ ज्ञानेन्द्रले मुस्कानसहित पार्टीमा सरिक हुन हात अघि बढाउनुभयो । राजालाई नमस्कार गर्दा अधिकांश सहभागीले ‘सरकार’ भनेकै सुनियो । विभिन्न देशका राजदूतहरूले ‘योर मेजेस्टी’ नै भने । पूर्वराजाको प्रश्न प्रायः सबैलाई एउटै थियो, ‘हाउ आर यु ?’ निम्तालुहरू प्रायः सबैले ‘बधाई छ सरकार’ भने । जवाफमा राजाले थ्याङ्क्यु र रानीमा मुस्कुराहट देखियो । दुई सय वर्षको इतिहास बोकेको राजसंस्था इतिहासमा सीमित बनेको आठ वर्षपछि यही ०७३ साल चैत २४ गते बिहीबार राजपरिवारले आयोजना गरेको पूर्वनवयुवराज हृदयेन्द्रको ब्रतबन्धको दिवाभोज समारोहको माहोल यो मुलुकमा राजसंस्था छैन र ? भनेर आफँैले आफैँलाई प्रश्न गर्नुपर्ने खालको थियो ।
दृश्यहरू रोचक थिए, कसैले पूर्वनवयुवराजलाई दाम राखे, कसैले फूलका गुच्छा दिए, कसैले खादा लगाइदिए, कसैले बधाई मात्रै भने । समारोहका मुख्य पात्र बटुक हृदयेन्द्र भए पनि आकर्षण पूर्वराजा–रानीतिरै थियो । राष्ट्रपतिलाई मात्र होइन हरेक निम्तालुलाई बडो श्रद्धापूर्वक स्वागत गरिएको थियो । समारोहमा पूर्वसभामुख सुवास नेम्वाङलाई राजाले सौहार्र्दपूर्ण स्वागत गरेको देखियो, नेम्वाङ जसले सभामुखको हैसियतले आठ वर्षअघि संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र फालिएको घोषणा गरेका थिए ।

सोल्टी होटेलको प्राङ्गणमा पाल लाएर बनाएको समारोहस्थल पुग्दा नारायणहिटी राजदरबारमा नवयुवराजका रूपमा हृदयेन्द्रको पास्नीको सम्झना भयो । ठाउँ फरक थियो, तर समारोह भने उस्तै थियो, व्यवस्थित । व्यवस्था र वासस्थान फेरिए पनि राजपरिवारको संस्कार फेरिएको थिएन । समारोहमा विभिन्न क्षेत्रका मानिसको भीडभाड थियो, तर आवाज सुनिएन, जबकि भोजमा मदिरा पनि थियो । त्यस्तो शान्त समारोह हामीकहाँ बिरलै हुने गर्छ । आखिर मानिसहरू बिस्तारै बोल्न पनि त सक्दारहेछन्, अरू ठाउँमा जाँदा किन चिच्याई–चिच्याई बोल्छन् भन्ने खुल्दुली पनि लाग्यो । पूर्वराजालाई नमस्कार गर्दा प्रायः नेतादेखि विभिन्न पेसा–व्यवसायमा रहेका व्यक्तिहरू अलिकति झुकेकै देखियो ।

राष्ट्रपति साढे बाह्र बजे आउने रे…! मानिसहरू कुरा गरिरहेका थिए । आएपछि राजा–रानीबाट राष्ट्रपतिलाई जे–जस्तो स्वागत–सत्कार भयो, त्यो हेर्दा संस्कार कति ठूलो कुरा हो भन्ने स्पष्ट हुन्थ्यो । राष्ट्रपतिले आफ्नी छोरीको विवाहमा पूर्वराजालाई बोलाए पनि त्यति उच्च सम्मान दिन सक्नुभएको थिएन । उहाँलाई बस्ने छुट्टै व्यवस्था थिएन, पूर्वराजा अन्य नेताहरूसरह साधारण टेबुलमा गएर बस्नुभएको थियो । सम्मान नगरुँ भनेर होइन, तौरतरिका नजानेर त्यस्तो भएको होला भन्न सकिन्छ । संस्कार पदसँग होइन पृष्ठभूमिसँग जोडिएर आउने कुरा हो । आफ्नी छोरीको विवाहमा पूर्वराजालाई निम्त्याउने राष्ट्रपतिको सोच आफैँमा प्रशंसनीय छ । राजपरिवारले राष्ट्रपतिलाई विशेष सम्मान ग¥यो । पूर्वराजा राजसिंहासनमा हुँदा नेताहरूले अनेक गाली गरे, गरिरहेकै छन् । यता राजाले आफू ‘पूर्व’ भइसकेपछि पदमा विराजमान राष्ट्रपतिलाई उच्च सम्मान गर्नुभयो । आफू सम्मानित हुनु छ भने अरूलाई आफूले खोज्ने गरेको सम्मान गर्न सिक भन्ने भनाइ यहाँ लागू भयो । पूर्व श्री ५ ले राष्ट्रपतिलाई दिएको सम्मानले सर्वत्र प्रशंसा पायो, पाइरहेको छ । सम्मानले सम्मान नै निम्त्याउँछ भन्ने उदाहरणका रूपमा यो घटनालाई लिन सकिन्छ ।

नेपालका राजाबाट विश्वले सिक्नुपर्ने केही कुराहरू छन्, जस्तो ‘लौ अब तिमी जाऊ हामीले हटाइदियौँ’ भनेर सीमित नेताहरूले राजनीतिक निर्णय गर्दैमा राजतन्त्र सहज रूपमा हटेको उदाहरण विश्वमा विरलै छ । परिवर्तनलाई सहज रूपमा स्वीकार्दै नागरिक जीवन बाँच्दा पनि केही नेताहरूले कहिले के कहिले के भन्दै ठुँग्न छोडेनन् । मन्दिर गएर भगवान्को दर्शन, पूजाआजा गर्दासमेत अनेक लाञ्छना लगाइयो । अन्ततः सबै राजनीतिक दलहरूप्रति समभाव राख्दै पारिवारिक समारोहमा सबैलाई निम्त्याएर पूर्वराजाले फराकिलो मनको अर्थ बुझाइदिनुभएको छ ।

सर्वसाधारणमा सधैँ चर्चाको विषय बन्नुहुने पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीप्रति स्वाभाविक रूपले मानिसहरूको चासो हुने नै भयो । एउटै घरमा नबसे पनि समारोहमा भने उहाँहरू साथमै उभिनुभएको थियो । सम्बन्ध यस्तो कुरा हो जसलाई सम्बन्धित व्यक्तिहरूबाहेक अरूले अनुमान नै लाउन सक्दैन । कहिले साथमै भएर पनि टाढाजस्तो हुन्छ, कहिले टाढा भएर पनि सँगैजस्तो । उहाँहरूको उभ्याइको दूरीसँगै सम्बन्धको दूरी अनुमान गर्नेहरू पनि भेटिए । पूर्वयुवराजको तस्बिर खिच्दा कसैले केही नगरेको, तर पूर्वयुवराज्ञीको तस्बिर लिन लाग्दा पहेँलो सारी लगाएकी एक महिलाले अपमानपूर्वक आफूलाई रोकेको भन्दै एक सहभागी खुब चित्त दुखाइरहेका थिए । पहेँलो सारीवालीको व्यवहारले उनलाई कति नरमाइलो लागेछ भने उनी भनिरहेका थिए– पूर्वयुवराजको फोटो खिच्दा कसैले केही नभन्ने, तिनै युवराजले विवाह गरेका कारणले युवराज्ञी बनेकी उहाँको फोटो खिच्दा स्टपको शैलीमा हात उठाएर ह्युमिलेट गर्ने ? त्यसमा सम्बन्धित मान्छेको दोष नभएकाले मतलब नगर्नका लागि सम्झाउँदा उनी भनिरहेका थिए–यस्तैहरूले हो राजसंस्था र राजपरिवारलाई बदनाम गर्ने । कसलाई, कहाँ, कसको व्यवहारले कसरी असर पु¥याइरहेको हुन्छ, भन्नै नसकिने ।

संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने उल्लेख गर्दै आएका मधेसी नेताहरूको समारोहमा राम्रै उपस्थिति देखियो । पूर्व मेचीदेखि सुदूरपश्चिम महाकालीसम्मका विभिन्न क्षेत्रका व्यक्तिहरूको जमघट देख्दा यो देशमा राष्ट्रिय एकताको आधारको खाँचो भइरहेको भान हुन्थ्यो । कुनै ठाउँ त होस् जहाँ सबै एकै ठाउँ जम्मा भएर निर्धक्क देशको कुरा गर्न सकुन् । नेपालका राजाबाट विश्वले सिक्नुपर्ने केही कुराहरू छन्, जस्तो लौ अब तिमी जाऊ हामीले हटाइदियौँ भनेर सीमित नेताहरूले राजनीतिक निर्णय गर्दैमा राजतन्त्र सहज रूपमा हटेको उदाहरण विश्वमा विरलै छ । नेपालको राजसंस्था मात्रै यस्तो राजसंस्था हो जसले बिनारक्तपात, बिनाजालझेल र षड्यन्त्र चुपचाप दरबार छाडेर अलग भयो । दरबारबाट बाहिरिएपछि पनि कतिपयले मरेको बाघको जुँगा उखेलिरहे । कतिले राजालाई अब देश छोड्छन् भनेर अनुमान गरे र सोहीअनुरूपका समाचार पनि लेखिए । तर, शान्त समुद्रको पानी चुपचाप बगिरह्यो, खहरेहरू गड्गडाइरहे । परिवर्तनलाई सहज रूपमा स्वीकार्दै नागरिक जीवन बाँच्दा पनि केही नेताहरूले कहिले के कहिले के भन्दै ठुँग्न छोडेनन् । मन्दिर गएर भगवान्को दर्शन, पूजाआजा गर्दासमेत अनेक लाञ्छना लगाइयो । अन्ततः सबै राजनीतिक दलहरूप्रति समभाव राख्दै पारिवारिक समारोहमा सबैलाई निम्त्याएर पूर्वराजाले फराकिलो मनको अर्थ बुझाइदिनुभएको छ । अरू त अरू आफ्नी छोरीलाई दिएको दाइजो सरकारलाई फिर्ताको फैसला गर्ने प्रधानन्यायाधीशलाई समेत समारोहमा बोलाएर आफ्नो कसैसँग कुनै वैरभाव छैन भन्ने सन्देश पूर्वराजाबाट दिइएको छ । यद्यपि पूर्वअधिराजकुमारी प्रेरणाको दाइजोमा पूर्वाग्रहयुक्त फैसला गर्ने प्रधानन्यायाधीश सुशीला कार्की समारोहमा पुग्नुभएन । तथापि, उहाँको पालामा भएको अन्यायपूर्ण उक्त फैसला नेपालको सर्वोच्च अदालतको इतिहासमा उदाहरणको रूपमा रहनेछ ।