यस्तो पनि गरेछन् लीलामणिले !

यस्तो पनि गरेछन् लीलामणिले !


Lilamani Paudel

चीनका लागि नेपालका माओवादी राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा गरेको अर्को बेइज्जतीपूर्ण घटनाको पनि हालै खुलासा भएको छ । बेइजिङस्थित दूतावास सूत्रका अनुसार चैत १२ गते बोआओबाट बेइजिङ पुगेका प्रचण्डलाई त्यहाँको दिया ओ यु ताई स्टेट गेष्टहाउसमा राखिएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्री र विदेश विभाग प्रमुख रहेका सोङताओसँग अलगअलग भेटवार्ता गरेका थिए । सोङ ताओसँगको करिब दुई घन्टा लामो वार्तालापका क्रममा दुवैतर्फबाट नेताहरूले आफूसँग कसैलाई पनि राखेका थिएनन् । सो एकल वार्तामा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे अहिलेसम्म कसैलाई पनि जानकारी हुन सकेको छैन ।

चैत १३ गते आइतबार प्रधानमन्त्री प्रचण्डको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासले एक रिसेप्सनको आयोजना गरेको थियो । प्रचण्डलाई दूतावासमा राजदूत पौड्यालले स्वागत गर्नुपर्ने थियो र दिनभरि उनी प्रधानमन्त्रीकै वरिपरि घुमिरहेका पनि देखिन्थे । तर जतिबेला प्रधानमन्त्री प्रचण्ड आफू बसेको अतिथि गृहबाट नेपाली राजदूतास पुगेका थिए त्यहाँ राजदूत पौड्याल थिएनन् । राजदूतावासले तय गरेको समयमा चिनियाँ अधिकारीहरूले प्रचण्डलाई नेपालको राजदूतावासभित्र पु¥याइदिएको भए पनि त्यहाँ उनी पुग्दा न नेपाली राष्ट्रिय धुन बज्यो न स्वागतमा राजदूत पौड्याल नै देखापरे । पौड्याल कतै अलमलिएछन्, त्यसैले उनको अनुपस्थितिमा कार्यक्रम अघि बढ्न सकेन ।

सयौँपटक आफ्नो नाडीको घडी हेरेर प्रचण्डले रिसेप्सन आयोजक राजदूत लीलामणि पौड्यालको प्रतीक्षा गरे । आमन्त्रित चिनियाँ अधिकारी र अन्यले त्यस्तो अवस्था देखेर निकै अप्ठ्यारो मानेका थिए । निर्धारित समयभन्दा एक घन्टा ढिलो गरेर हस्याङफस्याङ गर्दै लीलामणि पौड्याल आइपुगेपछि औपचारिक तवरमा कार्यक्रम सुरु भएको थियो । तर, राजदूत पौड्यालको लापरबाहीका कारण दुःखी बनेका प्रचण्डको मुहारमा त्यहाँ रहिन्जेल प्रसन्नताका कुनै सङ्केतहरू देखिएनन् । दिउँसो आयोजित कार्यक्रमहरूमा बोल्दै गर्दा बेला न कुबेला चिट लेखेर दिई हैरान बनाएका लीलामणिले बेलुका आफैँले दिएको रिसेप्सनमा एक घन्टा ढिलो पुगेपछि गलत र अक्षम व्यक्तिलाई राजदूत बनाइएको भनी प्रचण्डले पश्चात्ताप गरेको बुझिएको छ ।