हर्न प्लिज…

हर्न प्लिज…


Babita Basnet 555

– बबिता बस्नेत

अब हामी ‘हर्न लाउ’बाट ‘हर्न नलाऊ’तर्फ जाँदैछौँ । यसरी हर्न प्लिजको संस्कारबाट नो हर्न प्लिज संस्कार रूपान्तरणको प्रक्रियालाई असभ्यताबाट सभ्यतातर्फको यात्राको रूपमा पनि लिन सकिन्छ ।

सवारीसाधनले जथाभावी हर्न बजाउन नपाउने नियमलाई लिएर अहिले विभिन्न टीका–टिप्पणी र व्यङ्ग्यहरू बजारमा व्याप्त छन् । ट्राफिक प्रहरीले ढिलो गरी ल्याएको यो नियमलाई लिएर अब लठ्ठी बोकेर गाडी चलाउनुपर्ने भो जस्ता व्यङ्ग्य र कार्टुनहरू पनि देखिएका छन् । खासमा हाम्रा सडकमा सवारीसाधनका हर्न सुन्दा यति ‘इरिटेसन’ हुन्थ्यो कि चालकलाई ठूलै स्वरले सोध्न मन लाग्थ्यो, ‘होइन, तिमीले किन हर्न बजाएको ? अगाडि गाडीको लाइन छ भन्ने थाहा पाउँदापाउँदै यसरी हर्न बजाउने ?’ यसो भन्नुको अर्थ त खासै थिएन, तर पनि पटकपटक यस्तो भन्नुपरेको छ । जाम सडकमा आफ्नो ठीक पछाडिका मोटर र मोटरसाइकलहरूले यसरी हर्न बजाउँथे कि मानौँ उनीहरूले हर्न नबजाएकै कारण जाम भएको हो । यात्रु र चालक दुवै हुनुको अनुभवले भन्छ– यो देशमा ध्वनि प्रदूषणका लागि हर्नमा उचित बन्देज गर्नु जरुरी थियो ।

सवारीसाधनले जथाभावी हर्न बजाउन नपाउने नियमको कार्यान्वयन सुरु भइसकेको छ । मापसेदेखि सिटबेल्ट र लेन मिच्ने एवं जथाभावी पार्किङलगायतका अहिलेसम्म बनाइएका ट्राफिक नियमको कार्यान्वयन राम्रै भएकाले यो पनि कार्यान्वयन हुन्छ भन्ने अपेक्षा गर्न सकन्छि । यो केही दिनलाई हेर्दा समस्या सवारीसाधन चालकमा मात्र नभएर पैदल यात्रुहरूमा पनि त्यत्तिकै देखिएको छ । साथी–साथी या परिवारका सदस्यहरू लाइन लागेर सडकमा हिँड्ने, उनीहरूका लागि आपतकालीन बत्ती बालेर नहुने, आवाजै दिनुपर्ने बाध्यता छ । पहिलाको तुलनामा सडकमा न्यून मात्र हर्न सुनिन्छ, अति कम ।
गाडीचालकको अनुभवले हेर्दा मोटरसाइकलहरूको जथाभावी उछिनपाछिनको रिस हर्नमा पोखिन्थ्यो, अब भइहाल्यो म जति रिसाए पनि उनीहरूलाई केही हुने होइन, आफँैलाई दुःख भन्ने निष्कर्षमा पुगिएको छ । सबै होइन, तर कतिपय मोटरसाइकलचालकको हँकाइ हेर्दा उनीहरूका आमाबाबुको आशीर्वाद र प्रार्थनाकै कारण यो संसार देख्न पाइरहेका छन् जस्तो महसुस हुन्छ । यता कतिपय माइक्रो र नेपाल यातायातलगातयका बसहरू त झन् सकड अरूको पनि हो भन्ने नै ठान्दैनन् । जिल्लाहरूमा त्यति समस्या छैन, तर राजधानी काठमाडांैमा सवारीसाधन चलाउनु भनेको समयभन्दा धेरै वर्षअघि कपाल फुलाउनु हो ।

खासमा गाडीको हर्न जथाभावी बजाउनु सभ्यतासँग जोडिएको कुरा हो । सभ्य संसारमा हामीकहाँ जस्तो बिनाकारण त्यत्तिकै हर्न बजाउँदै कसैले पनि गाडी चलाउँदैन । हामीकहाँ त रमाइलोका लागि पनि हर्न बजाउनेहरू भेटिन्छन् । आफ्नै सहयोगीलाई बोलाउन पनि बसपार्कहरूमा चालकले हर्न बजाउँछन् या चालकलाई बोलाउनुप¥यो भने सहयोगीले हर्न बजाइरहेको सुनिन्छ । बसपार्कको भीडमा आफूले त्यसरी हर्न बजाउँदा कतिलाई असर पर्छ भन्ने कुरासँग कुनै सरोकार छैन । लामो दूरीका गाडीमा यात्रीलाई बोलाउन पनि कानै फुट्लाझैँ गरी हर्नकै प्रयोग गरिन्छ । हामी हर्न प्लिज कल्चरका मानिस हाँं । हर्न प्लिजका नाममा जोकहरूसमेत छन् । प्रायः ट्रकहरूको पछाडि एकातिर हर्न प्लिज र अर्कोतिर फेरि भेटौँला लेखिएको हुन्छ । कुनै नेताजीले आफू मन्त्री भएको बेला विदेशी पाहुनालाई एयरपोर्टमा बिदाइ गर्न जाँदा ट्रकपछाडि लेखिएको कुरा सम्झिएर फेरि भेटौँला भन्ने अर्थमा हात मिलाउँदै हर्न प्लिज… हर्न प्लिज…भनेको भन्ने जोक यथार्थझैँ गरी अहिले पनि भन्ने गरिन्छ ।

राजमार्गमा हर्न प्लिज नलेखिएका ट्रकहरू कमै गुड्लान् । ट्रक मात्र होइन, प्रायः लामो दूरीका सवारीसाधनमा ‘हर्न प्लिज’ लेख्नैपर्ने अनिवार्य कुराझैँ गरी लेखेको देखिन्छ । अब हामी हर्न लाउबाट हर्न नलाऊतर्फ जाँदैछौँ । यसरी हर्न प्लिजको संस्कारबाट नो हर्न प्लिज संस्कार रूपान्तरणको प्रक्रियालाई असभ्यताबाट सभ्यतातर्फको यात्राको रूपमा पनि लिन सकिन्छ । हामीकहाँ हर्न निषेधको कुरा अनौठोझैँ मानिए पनि केही मुलुकलाई छोडेर विश्वका धेरै देशमा जथाभावी हर्न बजाउँदै हिँड्नुचाहिँ अनौठो हो । कसैले साइड दिँदा, ओभरटेक या यस्तैमा ठूलै गल्ती ग¥यो भने आफूलाई रिस उठेको जनाउ दिनका लागि चालकहरूले हर्नको प्रयोग गर्छन्, त्यो पनि घन्काएर लामो होइन, प्याँ जनाउ दिने गरी छोटो मात्र । ठूलै आपत आइलागे हर्न बजाउनु अलग कुरा भयो । हामीकहाँ गरिएको व्यङ्ग्यझैँ ती मुलुकमा कसैले लौरो बोकेर हिँडेको देखिएको छैन । तर, वास्तविकताचाहिँ के हो भने सडक–सभ्यता सवारीचालकमा मात्र भएर हुँदैन, यात्रुमा पनि त्यत्तिकै आवश्यक छ ।

विकिपिडियाका अनुसार अप्ठ्यारो अवस्थामा पछाडि अरू पनि साधन छन् है भन्ने जनाउ दिनका लागि सन् १९१० मा बेलायतमा पहिलोपल्ट विद्युतीय घन्टी अर्थात् हर्नको आविष्कार र प्रयोग गरिएको थियो । दुर्घटनाबाट बच्नका लागि प्रचलनमा ल्याइए पनि हर्नका कारण ध्वनि प्रदूषण विश्वमै चिन्ताको विषय बन्यो । मानिसमा मात्र होइन, जनावरमा समेत ध्वनि प्रदूषणको असर पर्न थालेपछि विभिन्न मुलुकले ध्वनि नियन्त्रणका नियमहरू बनाएको देखिन्छ । छिमेकी मुलुक भारतमा ध्वनि प्रदूषण अहिले पनि ठूलो समस्या हो । नयाँदिल्ली, कराँची, संघाई, म्याड्रिट, अर्जेन्टिना, न्युयोर्क, टोकियो, कायरोलगायतका सहरहरू सन् २०१४ सम्म विश्वै ध्वनि प्रदूषित सहरमा पर्थे । अहिले धेरैले हटाइसकेका छन् । कोलकाता, मुम्बई, कराँचीलगायतका भारतका सहरहरू अहिले पनि सवारीसाधनमा धेरै हर्न लगाइने सहर हुन् ।

ध्वनि प्रदूषणको कुरा गर्दा सवारीसाधनका हर्न मात्र जिम्मेवार छैनन् । हाम्रा तराईका सहर तथा गाउँमा बिहान चार बज्न नपाउँदै माइक लगाएर ठूलोठूलो स्वरमा गीतहरू बजाउने गरिन्छ । एकाबिहानै कसले ती गीत सुन्छ थाहा छैन, तर पूरै बस्ती या सहर बिहान–बिहानै आवाजमय बन्छ । कोही बिरामी होलान्, कसैको घरमा मरुमारु परेको होला, कसैलाई आवाजसँग चिडचिडाहट हुन सक्छ, तर यस्ता कुराको वास्ता गरेको पाइँदैन । तराईमा मात्र होइन, पहाडमा पनि यो रोग फैलिसकेको छ । बिहान चार नबज्दैदेखि मन्दिरमा माइक लाएर भजन गाउने या पुराण लगाएको घरमा माइक लाएर कथा घनघनाउने चलन पहाडतिर पनि सुरु भएको छ । धार्मिक आस्था र विश्वास मानिसको नितान्त व्यक्तिगत कुरा हो । सामूहिक रूपमा भजनकीर्तन गर्ने संस्कार पनि छ हाम्रो, तर सबैलाई किन सुनाउनुप¥यो ? सम्बन्धित व्यक्तिहरूले मात्रै सुने त भइहाल्यो । एकाबिहानै सबलाई डिस्टर्भ हुने गरेर माइक लाउने कार्य जसले जहाँ गरे पनि असभ्यता हो । कतिपय मुलुकमा ठूलो स्वरले बोल्ने या आवाजसँग सम्बन्धित कुरालाई लिएर उजुरी दिने व्यवस्था गरिएको छ । सोहीअनुरूप कारबाही पनि हुन्छ । हामीकहाँ कसैले ठूलो स्वरले बोल्दैमा उजुुरी दिने कानुन र चलन दुवै छैन । तर, यसको अर्थ एकाबिहानै माइकको आवाज या मोटरसाइकल, गाडीको हर्न सुन्दै उठ्नुपर्छ भन्ने पनि होइन । हरेक कुरामा कानून चाहिदैन, सभ्यताको सुरुवात आफैँबाट गरौँ ।