गृहमन्त्रीको चाहना चुनाव स्थगन

गृहमन्त्रीको चाहना चुनाव स्थगन



निधिले बैठकमा भने– ‘सकिँदैन’

bimalendra-nidhi

मधेसका केही जिल्लाबाहेक देशको अधिकांश भूभागमा चुनावी सरगर्मी बढेको भए पनि गृहमन्त्री विमलेन्द्र निधिले ‘चुनाव गराउन सकिने अवस्था नरहेको’ बताएका छन् । गत शनिबार (वैशाख २ गते) प्रस्तावित प्रदेश नम्बर दुईका काङ्ग्रेस नेताहरूसँगको छलफलका क्रममा निधिले उक्त अभिव्यक्ति दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको विशेष उपस्थिति रहेको उक्त छलफल कार्यक्रममा निधिको भनाइ थियो, ‘मधेसको स्थिति असामान्य छ, त्यहाँ निर्वाचन कर्मचारी र सुरक्षाकर्मीसमेत खटाउन सकिने स्थिति छैन । परिस्थिति मत्थर नतुल्याईकन निर्वाचनमा जानु प्रत्युत्पादक हुन सक्छ । सहभागी साथीहरूको भावनालाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिन आवश्यक छ ।’ छलफलमा प्रदेश नम्बर दुईको आठ जिल्लाका काङ्ग्रेस सभापतिहरू, सांसदहरू र पार्टी केन्द्रीय समितिका सदस्यहरूको सहभागिता थियो ।

सहभागीहरूले देशमा चुनाव गराउन सक्ने अवस्था नरहेको कुरामा समान धारणा प्रकट गरेका थिए । काङ्ग्रेस कोषाध्यक्षसमेत रहेकी मन्त्री सीतादेवी यादवले सभापति देउवातिर फर्केर ‘चुनावमा जान बाध्य पार्नुहुन्छ भने मधेसमा काङ्ग्रेस भएर राजनीति गर्ने हामी सबैलाई एउटा घरमा बोलाउनुस् र माथिबाट बम खसाइदिनुहोस्’ भनेपछि बैठककक्षमा एकैछिन सन्नाटा छाएको थियो । वक्ताहरूले मधेसको समस्या समाधान गरेर चुनावी वातावरण बनाएपछि मात्र देशमा चुनाव गराउनु उपयुक्त हुने सुझाव सभापति देउवालाई दिएका थिए । केन्द्रीय सदस्य अजय चौरसियालगायतले खुमबहादुर खड्कालाई लक्षित गरेर भएको षड्यन्त्रको विरोध गर्दै तत्काल त्यसलाई सच्याउन माग गरेका थिए । त्यस्तै विमलेन्द्र निधिलाई मर्यादाक्रममा कमल थापाभन्दा पछाडि राख्दा पार्टीकै प्रतिष्ठामा धक्का पुगेकोतर्फ पनि वक्ताहरूले सभापति देउवाको ध्यानाकर्षण गरेका थिए । पछि जवाफ दिने क्रममा सभापति देउवाले निर्वाचन ऐनमा ‘त्यसरी’ संशोधन भएको घटनाबारे आफूलाई थाहा नभएको स्पष्ट गर्दै सच्याउन पहल गर्ने बताएका थिए । त्यस्तै निधिप्रति कटाक्ष गर्दै देउवाले भनेका थिए– मर्यादाक्रममा कमल थापाभन्दा पछाडि परेको त निधिजीलाई फाइदा नै भएछ, मधेसका तपाईं सबै साथीहरूको सहानुभूति निधिजीप्रति बढेको छ ।’

कार्यक्रममा निकै गम्भीर र स्फूर्तिविहीन रूपमा प्रकट भएका विमलेन्द्र निधिले देउवाको भनाइप्रति कुनै प्रतिक्रिया दिएनन् । चुपचाप सुनिमात्र रहे । निधिको मुखाकृतिले उनको अप्रसन्नता भने झल्काइरहेको थियो ।

सबैको सुझाव सुनिसकेपछि सभापति शेरबहादुर देउवाले ‘साथीहरूसँग परामर्श गरी एक–दुई दिनभित्र’ ठोस निर्णय लिने जानकारी उक्त छलफल कार्यक्रमका सहभागीलाई गराएका थिए । तर, त्यसपछि देउवाले सञ्चारमाध्यमहरूसँग भने ‘कुनै हालतमा पनि निर्वाचन नरोकिने’ बताउँदै आएका छन् । जब कि निर्वाचन भए पनि प्रदेश नम्बर दुईका कुनै पनि काङ्ग्रेस नेताहरू निर्वाचनमा सहभागिता जनाउन क्षेत्रमा नजाने निश्चित छ । गृहमन्त्री विमलेन्द्र निधि आफैँ पनि प्रदेश नम्बर दुईमा चुनावी वातावरण बनाउन जान सक्ने अवस्थामा छैनन् । तथापि सार्वजनिक रूपमा भने निधि भन्दै छन्, ‘चुुनाव गराइन्छ, गराउनुपर्छ ।’