इटलीको रोम शहरमा मौलाकालिका

इटलीको रोम शहरमा मौलाकालिका


Rome

इटालीको रोममा अप्रिल २२ (९ वैशाख)बाट शुरु हुन लागेको अन्तर्राष्ट्रिय मेलामा पहिलोपटक नेपाली मन्दिर र झण्डै एक दर्जन विभिन्न जनजातिका पोशाकको प्रदर्शन हुन लागेको छ । सोही मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण विषयक अन्तरक्रिया कार्यक्रम पनि गरिने बताइएको छ । त्यसका लागि गैह्रआवासीय नेपाली संघका पूर्व केन्द्रियअध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा ब्यापारी जिवा लामिछाने, गैह्रआवासीय संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैह्रआवासीय संघका अन्य मुलुकका पदाधिकारी, कलाकार, लेखक, पत्रकार तथा युरोपमा नेपाली उत्पादनको ब्यापार गरिरहेका तीन दर्जनभन्दा बढि ब्यवशायीहरुका बीच अन्तर्क्रिया हुँदै छ । कार्यक्रममा ब्यापारी जिवा लामिछानेको पुस्तक सर्सर्ति संसारको विमोचनसमेत गरिने भएको छ ।

विश्वकै एक औध्योगिक देश इटालीका विभिन्न शहरमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय ब्यापारिक र सांस्कृतिक मेलाहरुमा लामो समयदेखि नेपालीहरुको सहभागिता रहने गरेको थियो । त्यसमा एशियाली क्षेत्रका अन्य मुलुकले आफ्नो सांस्कृतिक, भौगोलिक, कला कौशल र आफ्नो देश चिनाउने विभिन्न धरोहरहरु निर्माण गरी त्यस्ता मेलामा आफ्नो देशलाई पहिचान गराउने कार्य गर्दै आएका थिए । तर, नेपालीहरुको तर्फबाट त्यस्तो खासै हुन सकेको थिएन । अप्रील २२ बाट रोम शहरमा हुने अन्तर्राष्ट्रिय ओरियन्टल मेलामा नेपालको कला कौशलको पहिचान होस भनि एभरेस्ट क्राफ्ट प्रालीले नेपालबाट मौलाकालिका मन्दिर )नवलपरासी जिल्लाको कालिकास्थानमा रहेको कालिका मन्दिर) निर्माण गरी रोमबाट प्रदर्शन गर्न लागेको हो । त्यसका साथै विभिन्न जनजातिका भेषभुषाहरु पनि यो मेलामार्फत परिचित गराउन लागेको छ ।

नेपाली कला कौशल र सांस्कृतिक महत्व देखाउने उद्देश्यले इटाली ल्याइएको यो मन्दिरले सम्पूर्ण नेपाली ब्यापारीको ब्यापारिक हित गर्नुका साथै समग्रमा नेपाल र नेपालको सांस्कृतिक महत्वलाई इटालीमा प्रवर्धन गर्ने छ । रोमबाट शुरु हुन लागेको नेपाली मन्दिरको स्थापना र ति भेषभुषाहरु इटालीका अन्य शहरहरुमा पनि लगेर प्रदर्शन गरिने एभरेष्ट क्राफ्टले जनाएको छ ।

करिव चार मिटर उचाई, १४५० किलो तौल, तीन मिटर लम्बाई रहेको यो मन्दिरको उद्घाटन रोमका लागि विभिन्न नेपाली कन्सुलर, गैह्रआवासीय नेपाली संघका प्रमुख संरक्षक, लेखक तथा ब्यवसायी जिवा लामिछाने, गैह्रआवासीय नेपाली संघक केन्द्रिय उपाध्यक्ष कुमार पन्त, नेपाली सञ्चारकर्मी र अन्य विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा गरिने भएको छ ।

त्यसैगरि २१ अप्रिलका दिन वर्तमान विश्व अर्थतन्त्रमा नेपाली हस्तकला र यसको बजारीकरण विषयक अन्तरक्रिया कार्यक्रम हुन गैरहेको छ । यो अन्तर्क्रिया कार्यक्रममा एन आर एन केन्द्रका प्रमुख संरक्षक जिवा लामिछाने, केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत अन्य देशका गैह्रआवासीय संघका नेतृत्वकर्ताहरुको सहभागिता हुने छ । लामिछानेले सर्सर्ति संसार पुस्तकको विमोचन पश्चात उक्त आफ्नो पुस्तक र युरोपमा नेपाली नेपाली उत्पादनका सम्भावना र चुनौतिबारे अनुभव सुनाउनुहुने छ । सो अन्तर्क्रिया कार्यक्रममा अन्तराष्ट्रिय हस्तकला महासंघको अवधारणा पत्र प्रस्तुत गर्नुको साथै संस्थाको औपचारिक घोषणासमेत गरिने छ ।