बसुन्धरा–मान पुरस्कारको घोषणा

बसुन्धरा–मान पुरस्कारको घोषणा


बसुन्धरा–मान पुरस्कार

यो वर्षको बसुन्धरा–मान पुरस्कार वरिष्ठ साहित्यकार तारानाथ शर्मा र खगेन्द्र नेपालीलाई प्रदान गर्ने निर्णय गरिएको छ । बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । तारानाथ शर्मालाई प्रदान गर्न लागिएको बसुन्धरा श्री पुरस्कारको राशि पचास हजार रुपैयाँ रहेको छ । यसैगरी खगेन्द्र नेपालीलाई प्रदान गर्न लागिएको मान श्री पुरस्कारको राशि पच्चीस हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीद्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको वैशाख ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । ०५७ मा स्थापना गरिएका यी पुरस्कार साहित्यको क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गर्ने गरिएको छ ।

निर्झर दिलचेत कीर्तिगौरव सम्मान घोषणा
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘निर्झर दिलचेत कीर्तिगौरव सम्मान’द्वारा सम्मानित गरिने भएको छ । लामो समयदेखि कानुन व्यवसायी पृष्ठभूमिमा रहेर राष्ट्र, समाज र नेपाली भाषाको साख बचाउने अभियानका क्रममा उहाँले पु¥याउनुभएको विशेष योगदानको उच्च कदर गर्दै वरिष्ठ अधिवक्ता भण्डारीलाई उक्त सम्मान अर्पण गर्ने निर्णय भएको निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले बताएको छ ।

यसैगरी नेपाली भाषाको गजल, गद्य कविता, मुक्तक, साहित्यिक पत्रकारिता र संस्थागत रूपमा नेपाली भाषामा साधनारत युवा स्रष्टाहरूलाई प्रेरणा, प्रोत्साहन र हौसला बढाउने कार्य गरेबापत साहित्यकार वियोगी बुढाथोकीलाई ‘निर्झर दिलचेत काव्य सम्मान’ प्रदान गरिने निर्णय प्रतिष्ठानले गरेको छ । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानको हालै बसेको ४८औँ बैठकले उक्त घोषणा गरेको हो । बैठक प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।