उपलब्धि ?

उपलब्धि ?


बद्रीप्रसाद दाहाल

– बद्रीप्रसाद दाहाल

मिच्दै कानुन ऐन औ विधि सबै, छाडा चल्यो शासन ।
मात्रै फुट — अटूट घोर — झगडा, भाँडेर सद्भावना ।।
‘भ्रष्टाचार’ अचार–तास – भुटुवा, ब्रान्डी र ह्विस्की भए ।
सत्तारुढ बनेर देश लुछिने, खेला अनेकौँ चले ।। १ ।।

देशै मर्ज हुने त गर्जन गरी, कौवा कराए यहाँ ।
नाकाबन्द गराउँदै मुलुकको, अस्तित्व खाए जहाँ ।।
ठ्याक्कै गिद्ध–हुँडार–स्यालहरूका, चल्दै गयो उत्सव ।
फुट्पाथे मनुवा बसे महलमा, सिद्धान्त पारे शव ।। २।।

बढ्दै नश्ल र क्षेत्र–जात–थर वा, लिङ्गीय — दुर्भावना ।
घट्दै शान्ति — सहिष्णुता दिनदिनै, टुट्दै छ सद्भावना ।।
पाएका उपलब्धि द्वन्द्व — महँगी, सामन्त — दुःशासन ।
मात्रै ‘त्वम् — शरणम्’ पराई — बलमा खोकी लियौँ आसन ।। ३ ।।

लाखौँ — लाख युवा जमात अरूका, ढोके — सुसारे भए ।
कन्या वा युवती कैयौँ पर पुगी, दासी र भोग्या बने ।।
मेरुदण्ड छ अर्थतन्त्र गतिलो, उद्योग—विप्रेषण ।
उद्योगी — घर बेचिए मुलुकमा, चक्र्यो मगन्तेपन ।। ४।।

पञ्चैशील सुशील — नीति सकिँदै, संलग्न — धारा बह्यो ।
भत्की शिष्ट — तटस्थता दिनदिनै, अस्तित्व नै सक्कियो ।।
हाम्रा संस्कृति — धर्म — रीति रसमा, के घोलियो — घोलियो ?
सत्ता पाउन टिक्न जोक्कर भई के बोलियो — बोलियो ? ।। ५।।