दुवै ‘केपी’लाई सुपारी तस्करको चिन्ता

दुवै ‘केपी’लाई सुपारी तस्करको चिन्ता


गृह र वाणिज्यमन्त्रीमाथि चर्को दबाब

Kp-Sitaula

वाणिज्य मन्त्रालयले ‘उत्पत्तिको प्रमाणपत्र’मा कडाइ गरेपछि झापाका दुई नेताहरूमा छटपटी बढेको समाचार प्राप्त भएको छ । रोमी गौचन थकाली वाणिज्यमन्त्री भएपछि उनले भारततर्फ योजनाबद्ध रूपमा हुने सुपारी र अदुवा तस्करी रोक्न कडा निर्देशन दिएका थिए । छिमेकी मित्रराष्ट्र भारतले नेपालमा उत्पादित सुपारी र अदुवालगायतको वस्तुका लागि बजार खुला गरेकोले त्यसको अनुचित लाभ उठाउँदै कतिपय व्यापारीहरूले तेस्रो मुलुकबाट सुपारी र अदुवा आयात गरी नेपाली उत्पादनको रूपमा भारत निकासी गर्दै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र सीएनआईलाई वाणिज्य मन्त्रालयले ‘उत्पत्तिको प्रमाणपत्र’ दिने अधिकार प्रत्यायोजन गरेकोले ती निकायबाट व्यापारीहरूले सजिलै त्यस्तो प्रमाणपत्र प्राप्त गर्ने गरेको र तेस्रो मुलुकबाट आयातीत सुपारी र अदुवालाई नेपालकै उत्पादनको रूपमा भारतीय बजारमा पठाउने गरेका छन् । व्यापारीहरूले इन्डोनेसियाबाट भारतीय बजारलाई लक्षित गरी ठूलो परिमाणमा सुपारी आयात गर्ने गरेको र चीनबाट अदुवा आयात गरी नेपाली उत्पादनको रूपमा भारततर्फ निकासी गर्ने गरेका छन् ।

यसरी नेपाली उत्पादनबाहेकको अदुवा र सुपारीसमेत नेपालको उत्पादनका रूपमा भारततर्फ निकासी हुने गरेको सूचना पाएपछि भारतीय वाणिज्यमन्त्री निर्मला सीतारमणले नेपाली समकक्षी रोमी गौचन थकालीलाई सम्पर्क गरी तस्करी नियन्त्रण गर्न पटक–पटक आग्रह गरेकी थिइन् । भारतीय मन्त्रीको आग्रहपछि स्थिति बुझ्दा मन्त्री रोमी गौचनले केही व्यापारीहरूबाट तेस्रो मुलुकको उत्पादनलाई नेपालको उत्पादनका रूपमा भारतीय बजारमा पठाउने गरेको तथ्य फेला पारेपछि उनले उत्पत्तिको प्रमाणपत्र उपलब्ध गराउन कडाइ गरेका थिए । इन्डोनेसिया र चीनमा उत्पादिन वस्तुलाई नेपालको उत्पादन भनी उत्पत्तिको प्रमणपत्र दिँदा नेपाली किसानलाई समेत नकारात्मक असर परिरहेको र भारतले नेपाललाई मात्र दिएको सुविधा गुम्न सक्ने खतरा उत्पन्न भएकाले मन्त्री गौचनबाट व्यापारीहरूलाई उत्पत्तिको प्रमाणपत्र उपलब्ध गराउने कार्यमा नियन्त्रण हुँदै आएको हो ।

यसरी नेपालकै किसानको हितरक्षाका लागि मन्त्री गौचनले उत्पत्तिको प्रमाणपत्रमा कडाइ गरेपछि वास्तविक नेपाली उत्पादकहरूलाई पनि समस्या भने परेको छ । महिनौँदेखि आफ्नो उत्पादन भारतीय बजारमा पुग्न नसकेपछि किसान मर्कामा परेका छन् । माथिल्लो तहमा किसानको पहुँच नपुगेकोले उनीहरू आफ्नो उत्पादन थन्क्याएर राख्न वा फाल्न बाध्य भएका छन् । तर, तेस्रो मुलुकबाट सुपारी र अदुवा आयात गरेर भारत निकासी गर्ने व्यापारीले भने उच्च राजनीतिक तहमा पहिलेझैँ सजिलै प्रमाणपत्र पाउन दबाब दिँदै आएका छन् । व्यापारीहरूको तर्फबाट सरकारलाई चर्को दबाब दिनेमा एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको बताइन्छ । ओली र सिटौलाले गृहमन्त्री विमलेन्द्र निधिलाई बारम्बार दबाब दिएपछि निधिले पनि वाणिज्यमन्त्री रोमी गौचनमाथि उत्पत्तिको प्रमाणपत्र सहजै उपलब्ध गराउन दबाब दिएका थिए । निधिले वाणिज्यमन्त्री थकालीलाई भनेका छन्, ‘मलाई सिटौलाजी र ओलीजीले निकै दबाब दिए, तपाईंले उत्पत्तिको प्रमाणपत्र दिन रोकिदिनुभएन ।’

गृहमन्त्रीले यसरी ओली र सिटौलाको नामै लिएर आफूमाथि दबाब आएको बताए पनि वाणिज्यमन्त्री थकालीले सुनुवाइ गरेका छैनन् । मन्त्री थकालीलाई दबाब दिनेबाहेक व्यापारीहरूले प्रलोभन पनि दिने गरेको बताइन्छ । तर, थकाली अहिलेसम्म नेताको दबाब र व्यापारीहरूको प्रलोभनमा परेका भने छैनन् । स्मरणीय छ, केपी ओली र कृष्ण सिटौला दुई अलग–अलग पार्टीका नेता भए पनि सर्वाधिक सुपारी तस्करी हुने झापाका बासिन्दा हुन् र उल्लिखित दुवै नेताको नाम धेरै अघिदेखि नै सुपारी तथा रक्तचन्दन तस्करीसँग जोडिँदै आएको छ ।

पछिल्लो केही कालयता ओली र सिटौलाबीच कतिपय राजनीतिक एजेन्डामा पनि समान धारणा रहने गरेको देखिन्छ । झापा, मोरङ र सुनसरीलाई पहाडबाट अलग गर्न नहुने अडानमा रहेका ओली र सिटौला काङ्ग्रेस–एमालेबीचको सहमतिबाट राज्यसत्ता सञ्चालन हुनुपर्छ भन्नेमा पनि एकमत छन् । राजनीतिमा उच्च हैसियत राख्ने दुवै नेताहरू सुपारी तस्करहरूको दूत बनेर गृहमन्त्री र वाणिज्यमन्त्रीसम्मलाई दबाब दिनेस्तरमा ओर्लनुलाई उचित मानिएको छैन । ओली र सिटौलाको नाम प्रयोग गरेर गृहमन्त्री निधि आफैँले वाणिज्यमन्त्री रोमी गौचनमाथि दबाब दिएका होइनन् भने ओली र सिटौलाबाट यसप्रकारका अवाञ्छित व्यवहार प्रस्तुत नहुनु उपयुक्त हुने ठानिएको छ ।