छुवाछूतविरुद्धमा

छुवाछूतविरुद्धमा


Ratnanidhi Regmi

■ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

मान्छे हुन् सब एउटै, दुइवटा कस्ले बनायो थरी ?
लायो वर्णविभेद नीच–उँचको निर्माण आपैmँ गरी
हेर्दा बाहिर देखिने बहुरंगी होलान् बनेका तिनी
भित्री आत्मा छ एउटै तब भने के भिन्न होला पनि ? ।।१।।

उस्तै दुख्छ शरीरभित्र गहिरो पर्दा कुनै वेदना
त्यो आनन्द सुखानुभूति छ उही व्यक्तिन्छ उल्लासमा
उस्तै चक्र छ जन्म वा मरणको सङ्घर्ष गर्ने कला
चल्ने जीवन पद्धति प्रगतिको गन्तव्यको पाइला ।।२।।

होलान् मानिस वर्णमा यदि भए काला र गोराहरू
जन्मेलान् विकलाङ्ग, क्वै सबल भई छोरी र छोराहरू
या आकार, प्रकारमा विविधता अग्लो र होचो कद
पुग्लान् जीवन जिउने क्रमसँगै कोही उपल्लो पद ।।३।।

मान्छे जाति छ एउटै पुरुष वा नारी दुई लिङ्ग छ
उस्तै जन्म विधान हो प्रकृतिमा केचाहिँ पो भिन्न छ ?
रातै बग्छ शरीरमा रगत, त्यो जो जे भई जन्मियोस्
उस्तै छन् गुण–दोष, कर्म तिनका जो जे गरी हुर्कियोस् ।।४।।

मान्छे वैदिककालमा पनि थियो साँच्चि स्वतन्त्रै अरे !
गर्दा राज्य अनेक भेद पछि पो लाए बनाए अरे !
सत्ता मातृ हुँदा थिए पुरुष नै ज्यादाजसो शोषित
सत्ता पैतृक आउँदा पनि भए नारी स्वयम् पीडित ।।५।।

सत्ताबाट अनेक वादसहितै उत्पत्ति भो शोषण
त्यही अन्याय विभेदले मुलुकमा ल्यायो ठूलो सङ्कट
राजा, रङ्क बने विभाजित हुँदा तल्लो उपल्लो तह
पर्दै खाडलमा गयो विषमता गहिरो बनेभैmँ दह ।।६।।

भो आरम्भ नयाँ स्वतन्त्र युगको बाटो प्रजातन्त्रको
आएको अझ लोकतन्त्र बलियो आदर्श यो मन्त्र भो
आपैmँले उपभोग गर्न सकिने आफ्ना भएका हक
बोल्ने वा अभिव्यक्ति सङ्गठनको आयो भई मौलिक ।।७।।

छुवाछूतविरुद्ध जागरण भो मान्छेहरू बीचमा
गर्छन् भेद अमानवीय त भने हो एक दुर्भावना
हेरी कानुन, संविधान सबमा खोजौँ रहेका हक
भई निर्धक्क गरौँ प्रयोग तिनको मान्छे बनौँला तब ।।८।।

जाति द्वन्द्व हटाउने यदि भए एउटै बनाऔँ थर
भ्रष्टाचार समूल अन्त्य गरिए बन्नेछ राम्रो घर
यो अन्यायविरुद्ध लड्नु छ भने प्रारम्भ आफैं गरौँ
हिंसामुक्त समाज हेर्नु छ भने भीष्म प्रतिज्ञा गरौँ ।।९।।