
■ पुरुषोत्तम ढकाल
जगत् जित्ने सुनौलो सपना
कठै यो छोटो जिन्दगी
र जिउने अभिलाषा अर्को स्वर्णिम सपना
थाहा छैन मृत्युले जगाउनुअघि कतिपल्ट मर्ने हो मेरो सपना ।
हेक्कै रहेन कतिबेला ब्युँझिएँ म
वा, टुट्यो मेरो निद्रा र छुट्यो मेरो सपना
सामुन्ने मृत्यु उभिएको छ, जिन्दगीको अन्तिम सत्य र सपना ।
सपना टुट्नु यति भयानक
भ्रमित जिन्दगीको लालसाले टुटेको सपना
र मैले गरेँ भनेको कर्म छोडेर, अज्ञात दुनियाँमा जानुपर्ने,
सपना कहिल्यै नदेख्ने नियति ।
हामी ठान्छौँ सपनाको अन्त्य मोक्ष र मुक्ति
कल्पिन्छौँ, वश शून्य र समाधिको अमिट शान्ति
दूरक्षितिजको सपनाको स्वर्गमा
सम्बन्धको कर तिरेर बन्धनमा बाँधिनु पर्दैन ।
अमिट शान्तिको त्यो कल्पना
भयावह मृत्यु पार पाउने चिरशान्तिको हाम्रो कामना
जिन्दगीले खोजेको सत्य ठानेर, डराइडराई विश्वास गर्छौं,
मृत्युको साक्षात्कार अन्तिम पूर्णविराम ।
सबै–सबै सपना टुट्नुपछिको भागमा छोडेका हामी
आँखैअगाडिको स्वर्णिम इन्द्रधनुष नदेखेर,
प्रेमको सुनौलो बाटो नभेटेर
सायद मृत्युपछिको सत्य आजै ज्ञात गथ्र्यौँ भने,
बन्धनहरूले बाँडिएका हामी मान्छे
देश–देशान्तरमा स्वर्ग खोज्दै हिँडेका हामी मलामी,
जिन्दगी बाँचेर प्रेमिल, आजै मोक्ष र मुक्त हुन्थ्यौँ कि ?
– लसएन्जलस, क्यालिफोर्निया, यूएसए
प्रतिक्रिया