
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्रचार्य’
मन्त्री, सांसदको विशेष सुविधा–भत्ता बढ्यो दोब्बर
हेर्दा बाहिर देखियोस् जतिसुकै खान्छन् गरी तेब्बर
जिल्ला, क्षेत्र र गाउँ वा नगरका ठेक्का र पट्टा सबै
खान्छन् देश–विदेशबाट पनि ती बाँकी नराखी कतै ।।१।।
गर्छन् नाटकभैmँ विवाद, झगडा, कुस्ती परे खेल्दछन्
आफ्ना स्वार्थ निमित्त एकगठ भै आपस्तमा मिल्दछन्
भेटेसम्म निचोर्दछन् मुलुकको सत्ता तथा सम्पत्ति
चिन्ता, चिन्तन पाइँदैन तिनमा कौडी फुटेको जति ।।२।।
कैयौँ छन् घुसखोर, तस्कर तथा ‘पासपोर्ट’ बेच्ने कति
धेरै रासलीला गरेर ढुकुटी सिध्याउने छन् कति
गर्छन् गाउँ पसी सभासद् तिनै हिंसा तथा ज्यादती
खान्छन् तैपनि ती उपस्थित नभैई लाखौँ–कराडौँ जति ।।३।।
बोल्दैनन् जनजीविका विषयमा मर्कै परोस् तापनि
हेर्दैनन् कहिल्यै पछिल्तिर कुनै सड्दै मरोस् त्यो भनी
सारा राष्ट्र जलोस् बढेर महँगी, अन्याय होस् बेहद
आएको गणतन्त्रमा बहुजना पापी बने सांसद ।।४।।
भन्थे सांसद हो विधायक ठूलो सर्वोच्च अग्लो कद
गर्थे गर्व विशेष विश्वभरि नै सम्मानदायी पद
बन्दा कानुन, संविधान पहिले हुन्थे त्यहीँ पारित
त्यस्तो स्थान पवित्र छैन अहिले दुर्नाम भो दूषित ।।५।।
भन्छन् मानिस लोकतन्त्र विधिको निष्पक्ष हो शासन
बन्ने मालिक मानिसै अझ हुने निर्मुक्तिको जीवन
प्रायः निर्णय देशभक्तिसहितै गर्ने थलो पारित
उल्टो आज भयो चरित्र नहुँदा संस्कार संस्कारित ।।६।।
मन्त्री, सांसद देखिए मुलुकमा लोभी र पापीहरू
धर्मात्मा पनि छन् तथापि तिनको देखिन्न क्यै आबरू
राम्रा सांसद अल्पसङ्ख्यक हुँदा बिग्रेर बाँकी गए
मान्छे भन्न सुहाउँदैन यसरी बाटो बिराई रहे ।।७।।
मान्छेको बलिदानले यति ठूलो निर्माण भो संसद्
साह्रै क्षुद्र विचारको मति हुँदा गिर्दै झरे सांसद
पैसा मात्र कमाउने धुन भए व्यापार गर्नु निको
यस्तो नैतिकताविहीन पथमा हिँड्दै नहिँड्नु निको ।।८।।
मन्त्री, सांसद सुध्रिए पनि कतै मिल्थ्यो कि ता आदर
साँढेतुल्य बनी यसै हिँडिरहे थुक्छन् सबै आखिर
छोप्ने लाज धरोसमेत नभए धिक्कार हे सांसद
गर्ने छैन कतै नियन्त्रण भने बेकार भो संसद् ।।९।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया