थप ‘एक्स्पोज’ हुँदै कमल थापा

थप ‘एक्स्पोज’ हुँदै कमल थापा


Kamal Thapa

राजतन्त्रको पुनर्वहाली र हिन्दूराष्ट्रलाई मुख्य एजेण्डा बनाउने राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्कली अवतार फेरि एकपटक सार्वजनिक हुन पुगेको छ । सङ्घीय, गणतन्त्रात्मक, धर्मनिरपेक्ष संविधान जारी गराउन विशिष्ट भूमिका निर्वाह गर्ने कमल थापा, केपी ओली नेतृत्वको सरकारमा रहँदा जारी संविधानलाई विश्वकै उत्कृष्ट भन्दै संसार घुम्ने गरेका थिए । त्यसका बाबजुद पार्टी एकीकरणपछि गत फागुनमा पनि राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा बोक्ने निर्णय गरेको थियो । ‘राजा र हिन्दूराष्ट्र’लाई पार्टीको विधानमा उल्लेख गर्न नहुने भनी निर्वाचन आयोगले विधान सच्याउन निर्देश गरेपछि आन्दोलनमा समेत उत्रिएको राप्रपाका अध्यक्ष कमल थापा पूर्व श्री ५ तथा उहाँको सचिवालयले आफ्नो दल फुटाउन प्रयत्न गरेको भन्दै आक्रोशित भएका छन् ।

थापाको दाबी संविधान संशोधनको पक्षमा मतदान गर्ने भएपछि राजा र उनको सचिवालयले आफ्नो पार्टी फुटाउन लागेको भन्ने छ । जब कि कमल थापा नेतृत्वको राप्रपाका २५ सांसदमध्ये करिब डेढ दर्जन पहिलेदेखि नै संशोधनको विरुद्धमा रहेको बताइन्छ । संसद्मा संशोधन प्रस्ताव दर्ता हुनेबित्तिकै राप्रपाका सांसदहरू उक्त मुद्दामा विभाजित हुन पुगेका थिए । एकीकरणपश्चात् सांसद सङ्ख्या र पार्टीको आकार बढेकोले संशोधन पक्षधरहरूको बल बढ्ने र संशोधनमा असहमति जनाउनेहरूको मनोबल घट्ने विश्वास थापाले गरेका थिए ।

तर, उनको सोचविपरीत फेरि पनि डेढ दर्जन सांसद संशोधनका विरुद्ध उभिने देखिएपछि कमल थापाले त्यसको दोष निर्मलनिवासमा चुपचाप बसिरहेका पूर्व श्री ५ तथा उहाँको सचिवालयलाई दिएका छन् । एक सूत्रले जनाएअनुसार कमल थापाले पूर्व श्री ५ सँग मोटो रकम माग गरेको र सो माग अस्वीकार भएपछि उनी ‘निर्मलनिवास’विरुद्ध खनिएका हुन् । पार्टी जोगाउन भन्दै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ र थापा निर्मलनिवासविरुद्ध बोल्दै हिँड्न थालेका छन् । यस प्रकरणले कमल थापाको एजेण्डा नक्कली भएको र वास्तवमा ‘राजसंस्था र हिन्दूराष्ट्र’ पुनस्र्थापना गर्ने उनको उद्देश्य नरहेको स्पष्ट गरेको छ । हिन्दूराष्ट्र र राजसंस्थाको नाममा राजनीति गरेर आफ्नो हैसियत बढाउन सफल कमल थापालाई यस घटनाले राजनीतिक रूपमा ठूलो क्षति पु¥याउने विश्लेषण हुन थालेको छ ।