निधिले राजीनामा दिनुको रहस्य दण्डित हुने डर

निधिले राजीनामा दिनुको रहस्य दण्डित हुने डर


Nidhi

उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले गत आइतबार (वैशाख १७ गते) राजीनामा दिएपछि त्यसको वास्तविक कारणबारे सर्वत्र जिज्ञाशा उत्पन्न भएको छ । केही समयअघि निधिले जुन कारण देखाएर राजीनामा दिने सार्वजनिक घोषणा गरेका थिए, त्यसबेला उनले राजीनामा दिएनन् । अब राजीनामा दिने छैनन् भन्ने ठानिएका बेला अचानक पदत्याग गर्ने घोषणा गरेपछि निधिको राजीनामाको रहस्य जान्ने इच्छा आममानिसमा जागृत भएको हो । निधिले मर्यादाक्रमलाई मुद्दा बनाएका थिए र प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफूलाई नराखिए तत्काल पदबाट राजीनामा दिने घोषणा उनको थियो । तर, मर्यादाक्रममा उनलाई कमल थापाभन्दा तल राखिएपछि पनि निधिले पद त्याग गरेनन्, बरु मन्त्रिमण्डलको बैठकमा सहभागी नभईकन मन्त्री रहिरहने निर्णय उनले गरे । निधिले सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने क्रममा आफूसँग परामर्श नगरिएको भन्ने विषयलाई राजीनामाको कारणका रूपमा प्रचार गराउन खोजेका छन् ।

तर, त्यही मात्र कारणले निधिको राजीनामा आएको विश्वास गरिँदैन । नवराज सिलवाललाई आईजीपी बनाउन नसक्नु, गृह मन्त्रालयका सचिवले असहयोग गर्नु र मर्यादाक्रममा कमल थापाभन्दा पछाडि राख्नुजस्ता कारणले निधिबाट पदत्याग भएको एकथरीले ठानेका छन् भने कतिपयले चाहिँ प्रकाश अर्याल आईजीपी नियुक्त भएपछि असहजता महसुस गरेर राजीनामा दिएको अनुमान पनि गरेका छन् । त्यस्तै, केहीले निर्वाचनसँग सम्बन्धित विषयमा उत्पन्न मतभेदका कारण उनले राजीनामा दिएको ठानेका छन् । निधि मधेसको वातावरण सामान्य बनाएर मात्र निर्वाचनमा जानुपर्छ भन्ने धारणा राख्दथे । संविधान संशोधन नगरीकन चुनावमा जाँदा तराईको वातावरण असहज बन्छ भन्ने भनाइ निधिको थियो । सचिव र आईजीपी बक्री भएको मन्त्रालयको मन्त्री भएर बस्दा भविष्यमा अबगालको भारी बोक्नुपर्ने त्रासका कारणले उनले राजीनामा दिएको ठान्नेहरू पनि छन् । तर, विमलेन्द्र निधिले अचानक राजीनामा दिनुको रहस्य बेग्लै भएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

सम्बद्ध सूत्रका अनुसार गृह मन्त्रालयका गोप्य कागजपत्र बाहिर पु¥याएको र प्रहरी अधिकृतहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम हेराफेरी गरी किर्तेसमेत निधिले गरेको आशङ्का सत्तारुढ दलका नेताहरू, गृह प्रशासन र प्रधानमन्त्रीसम्मले गरेका छन् । प्रकाश अर्याल र नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कन फाराम हेराफेरी गर्ने र नक्कली तथा अति गोप्य रहनुपर्ने सक्कली दस्तावेजहरू बाहिर पु¥याउने काममा विमलेन्द्र निधिको संलग्नता पाइए पनि यस सम्बन्धमा छानबिन गर्न गठित कमिटीले आफ्नो प्रतिवेदनमा सीधै गृहमन्त्रीलाई दोषी देखाउने हिम्मत गर्न सकेन, तर प्रतिवेदनमा उच्च तहबाट दस्तावेज चुहिएको स्पष्ट सङ्केत गरिएको छ र उच्चतहको संलग्नताबेगर कसैले किर्ते गर्न नसक्ने निष्कर्ष पनि प्रतिवेदनको छ । उक्त प्रतिवेदनका आधारमा दोषीहरूको पहिचान गरी कारबाही गर्ने हो भने किर्ते काण्डमा विमलेन्द्र निधिसमेत दण्डित हुनुपर्ने अवस्था रहेको बताइन्छ ।