फेरिएन गाउँघर

फेरिएन गाउँघर


binod-nepal-4

– विनोद नेपाल

दशक नाघ्यो,
‘युगान्तकारी’ परिवर्तन भएको,
तर
कुनै भिन्नता महसुस भएको छैन,
उस्तै उदाउँछ सूर्य, उसैगरी अस्ताउँछ,
उस्तै छ जूनको उदाउने र अस्ताउने क्रम
उस्तै छन् हिउँद र वर्षा पनि,
फेरिएनन् यी कत्ति ।
परिवर्तनको नाममा,
ठडिए सहरमा, र भत्किए गाउँका घर,
मोटाए दलाल, बिचौलिया र अवसरवादी,
चिल्ला भए चाउरेहरू,
फेरियो नेताको स्वर,
उक्सियो आसेपासे र आफन्तको स्तर,
चुलियो चाकडीबाजहरूको चुरीफुरी ।
तर, कत्ति फेरिएनन् हुँदा खानेहरू,
दश नङ्ग्रा खियाएर पनि
दुई छाकको जोहो गर्न धौ–धौ पर्नेहरू ।
भए पनि युगको अन्त्य,
भएन सपना साकार
फेरियो सहर,
फेरिएन गाउँघर ।