पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकले के हेर्ने ?

पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकले के हेर्ने ?


पाल्पा दरबार सङ्ग्रहालय 2

पाल्पा दरबार सङ्ग्रहालय छिर्ने पर्यटकहरूले सङ्ग्रहालयभित्र हेर्नका लागि ठिङ्गो भवनबाहेक केही छैन । एक वर्ष अवधिमा पाल्पा दरबार सङ्ग्रहालयको करिब ७ हजार व्यक्तिले अवलोकन गरेको पाइन्छ, तर, सबैले कुनै गाइडबिना (जानकारीबिना)को रित्तो दरबार हेरेर चित्त बुझाएका छन् ।

पाल्पा दरबार आफैँमा ऐतिहासिक, पुरातात्विक पर्यटकीय महत्वको भए पनि यस विषयमा जानकारी दिने सूचनापाटी, होर्डिङ बोर्ड या फ्लेक्स बोर्ड राखिएको छैन ।

सङ्ग्रहालय सञ्चालनका लागि एक वर्षदेखि कर्मचारी व्यवस्था गरे पनि तलब खाने मात्र काम भएको छ । दरबार सङ्ग्रहालयको प्रवेशद्वार नै अस्तव्यस्तताको सिकार बनेको छ । आगन्तुकले नदेख्ने गरी कुना राखिएको छ । नाम मात्र सङ्ग्रहालय नभई सरसमानसहितको सङ्ग्रहालय सञ्चालन गर्नुपर्नेमा पाल्पावासीले जोड दिएका छन् ।

तानसेनवासी महेन्द्र खाती तात्कालिक शासक जनरल प्रतापशमशेरले वि.सं. १९८३ मा निर्माण गरेको पाल्पा दरबारलाई जिल्लाकै गौरवको रूपमा लिन्छन् । बेलायती इन्जिनियरको डिजाइनमा बेलायती शैलीमै निर्माण भएको पाल्पा दरबार प्रतापशमशेरको मृत्यु भएपछि केही समय प्रयोगविहीन भएको थियो । पछि सो दरबारलाई राजा महेन्द्रले २०१५ सालमा प्रशासनिक कार्यालयको रूपमा सञ्चालन गराएका थिए । २०६२ माघ १८ गतेसम्म कार्यालय सञ्चालन भएको दरबार द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादी र सुरक्षा फौजबीच भएको भिडन्तमा पूर्ण रूपमा क्षति भएको बताउँछन् खाती ।

७ रोपनी १४ आना क्षेत्रफलमा रहेको पाल्पा दरबार सङ्ग्रहालयमा ५८ कोठा २ बुर्जा रहेको छ । क्षतिग्रस्त हुनुभन्दा अगाडि पाल्पा दरबारमा जिल्ला मालपोत, जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्ला अनुसन्धान, नेपाल स्काउट, ग्रामीण खानेपानी, प्रमुख जिल्ला अधिकारीको निवासको रूपमा प्रयोग हुँदै आएको थियो । सङ्ग्रहालय सञ्चालनका लागि अहिले एक कार्यालय नै स्थापना भएको छ भने यस वर्ष पूर्वाधार निर्माणको काम पनि हुँदै छ । दरबारमा ऐतिहासिक सामग्री केही नभएकोले शून्यबाट काम सुरु गर्नु परेकाले ढिला भएको दरबार सङ्ग्रहालय प्रमुख विष्णुप्रसाद खनाल बताउँछन् । पाल्पा दरबार आफैँमा सङ्ग्रहालय भए पनि यसलाई व्यवस्थित र नियमित सञ्चालनका लागि जिल्लाका राजनीतिक दल, स्थानीयवासी, बुद्धिजीवीले निरन्तर दबाब दिनु जरुरी देखिएको छ ।